Goraksha

National Daily

नयाँ बर्षमा ‘कोरोना-फाइटर’हरुका लागि ताली बजाएर सम्मान गर्न आह्वान

दाङ, ३० चैत । नागरिक संस्थाहरुले भोली बैशाख १ गते बिहान ६ बजे सबैले आआफ्नो स्थानवाट ताली बजाएर स्वास्थ्यकर्मीलगायत सबैप्रती सम्मान गर्न सबैमा आह्वान गरेका छन् । कोरोनाका बिरुद्धको लडाईंमा अग्रपंक्तिमा रहेका फाइटरहरुको आत्मबल बढाउँन र सम्मान प्रकट गर्न नेपाल पत्रकार महासंघ, गैह्रसरकारी संस्था महासंघलगायतका नागरिक संस्थाहरुले संयुक्त रुपमा यस्तो आह्वान गरेका हुन् ।

‘नयाँ वर्षको शुभारम्भसँगै २०७७ बैशाख १ गते बिहान ६ बजे कोरोना संक्रमण विरुद्ध अग्रमोर्चामा लडिरहनु भएका स्वास्थ्यकर्मी सहितका योद्धाहरु, सुरक्षाकर्मीहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु, पत्रकारहरु, समुदाय स्तरमा खटिनु भएका स्वयंसेवकहरु र लक डाउनको पालना गरिरहनुभएका आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्नका लागि हामीले यस्तो आह्वान गरेका छौं, आशा छ, सबैले साथ दिनुहुने छ’,-पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले भने ।

आआफ्नो स्थानबाट १ मिनेट ताली बजाउन आह्वान गरेका ती संस्थाहरुले त्यस लगत्तै आआफ्ना सञ्जाल मार्फत ‘कोरोना बिरुद्धका फाइटर’हरु प्रती सम्मान जनाउँदै शुभकामना साटासाट गर्न पनि आग्रह गरेका छन् । यसो गर्दा दूरी कायम राख्दै बैठक बस्न र छलफल गर्ने तर्फ सबैलाई अभ्यस्त बनाउने बिश्वास गैसस महासंघका अध्यक्ष जितराम लामाले व्यक्त गरे ।