विश्व क्षयरोग दिवस :
गोरक्ष समाचारदाता
दाङ, ११ चैत । दाङ जिल्लामा बर्सेनी क्षयरोगका बिरामी बढ्दै गएका छन् । जिल्ला स्वास्थ्य कार्यालय दाङकाअनुसार पछिल्लो समय जिल्लामा क्षयरोगका बिरामीको संख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले विश्व क्षयरोग दिवसका अवसरमा शुक्रवार घोराहीमा कार्यक्रमको आयोजना गरेर जिल्लामा क्षयरोगको अवस्थाबारे पत्रकारहरूसँग आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा यस्तो जानकारी गराएको हो ।
क्षयरोगको चेकजाँचसँगै उपचार गर्ने क्रम बढे पनि जिल्लामा क्षयरोगका बिरामीमा कमी आउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर कुँवरले जानकारी दिएका छन् । उनकाअनुसार जिल्लामा आर्थिक वर्ष ०७४÷०७५ मा जिल्लामा ९ सय ४४ जना नयाँ बिरामी फेला परेका थिए । त्यसपछि आर्थिक वर्ष ०७५÷०७६ मा केही घटेका थिए । उक्त वर्ष जिल्लामा ८ सय २८ जना नयाँ बिरामी भेटिए । आर्थिक वर्ष ०७६÷०७७ मा बढेर नयाँ संक्रमित ९ सय १५ पुगे ।
त्यस्तै ०७७÷०७८ मा ९ सय दुई, ०७८÷०७९ मा ह्वात्तै बढेर एक हजार ४ सय ५३ जना नयाँ क्षयरोगका बिरामी फेला परेको उनले बताए । उनका अनुसार जिल्लामा नयाँ बिरामी फेला परेसँगै पुरानैलाई दोहोरिने पनि समस्या रहेको छ । गत आर्थिक वर्षमा मात्रै दाङमा ७३ जनामा पुनः क्षयरोग देखिएको थियो । नयाँ संक्रमणको हिसाबले लुम्बिनीमै दाङ दोस्रो धेरै क्षयरोगका बिरामी भएको जिल्लाका रूपमा रहेको छ ।
‘क्षयरोगका बिरामी धेरै हुने दाङ प्रदेशमै दोस्रो नम्बरमा रहेको छ’, निमित्त कार्यालय प्रमुख कुँवरले भने, ‘धेरै बिरामी भएकाले हामीले रोगबाट बच्नका लागि सचेतनामूलक कार्यक्रम गरिरहेका छौँ तर कतिपय बिरामीले लापरबाही गर्नुहुन्छ ।’
चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको रेकर्ड हेर्दा जिल्लामा पाँच सय ९९ जना नयाँ क्षयरोगका बिरामी फेला परिसकेका छन् । जसमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा दुई सय १६, तुलसीपुर उपमहानगरपालिकामा एक सय ६७, बंगलाचुली गाउँपालिकामा २३, शान्तिनगर र बबई गाउँपालिकामा २४÷२४, दंगीशरणमा २५, लमही नगरपालिकामा ३८, राप्ती गाउँपालिकामा ३७, गढवामा ३५ र राजपुरमा १० जना रहेका छन् ।
निमित्त कार्यालय प्रमुख कुँवरकाअनुसार जिल्लामा क्षयरोग निको हुने दर ९३ प्रतिशत छ भने रोगका कारण मृत्यु हुने जिल्लामा तीन प्रतिशत छ । चालु आर्थिक वर्षको ६ महिनामा मात्रै दाङमा क्षयरोगबाट २१ जनाको मृत्यु भएको छ । दाङ जिल्लामा ५० वटा औषधी सेवन गराउने डट्स केन्द्र, ३२ माइक्रोस्कोपी केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमही अस्पतालमा जीन एक्सपर्ट केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान डिआर केन्द्र, लमही अस्पताल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डिआर सव केन्द्र रहेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमही अस्पतालमा मात्रै जीन एक्सपर्ट केन्द्र रहेकोमा प्रादेशिक अस्पताल तुलसीपुरमा समेत जीन एक्सपर्ट केन्द्र स्थापनाको तयारी भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डा विजयराज गौतमले रोगबाट बच्नका लागि स्वास्थ्य सावधानी अपनाउन आवश्यक रहेको बताए । लामो समयसम्म खोकी लाग्दा पनि चेक नगराउने तथा बिरामी भइसक्दा समेत नियमित रूपमा औषधी सेवन नगर्ने समस्या रहेको भन्दै उनले रोगबाट बच्नका लागि पौष्टिक आहारसँगै स्वास्थ्य चेकजाँच र बिरामी भइसकेको अवस्थामा चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण प्रशासन अधिकृत बामदेव खनालले गरेका थिए ।