खगराज न्यौपाने
श्रीयुत भाइ रमेश
शुभाशीष
उमेर गत हिसाबले बिसन्चो हुुने गर्छ । तै पनि सामान्यतया म आजका मितिसम्म ठिकै छु, सन्चै छु । त्यहाँ अमेरिकामा पनि तिम्रो स्वास्थ्य राम्रै होस् भनी शुभकामना व्यक्त गर्दछु । आफ्नो अध्ययन पूरा गरेपछि, त्यहाँ सिकेको ज्ञान, सीप नेपालमा प्रयोगमा ल्याउनु पर्छ र आफ्नो देशलाई उन्नत बनाउने प्रयासमा लाग्नुपर्छ ।
यस पटक तिमीले पठाएको पत्र अलि ढिला प्राप्त भयो । तिमीले देश र देशबासीका लागि के–कस्ता कामहरू भइरहेका छन् । राजनीतिप्रति जनास्था कत्तिको बढेको छ ? भनी जिज्ञासा राखेका रहेछौँ । यो थाहा पाएर खुसी लाग्यो । यसका लागि तिमीलाई धन्यवाद ।
भाइ रमेश ! सबै कुरा समय परिस्थितिअनुसार, विधि, विज्ञानवमोजिम भयो कि भएन हेनुपर्छ । हाम्रो देशमा विज्ञहरूले राजनीति सकियो भन्दैछन् । उनीहरूको तर्क छ । सबै पार्टीका विधान छन्, नीति नियमहरू छन् । सोही वमोजिम पार्टीले घोषणा–पत्र तयार पार्छ र जनता समक्ष भोट माग्न जान्छन् । यसले हाम्रो देशमा पार्टीहरूले गठबन्धन गरेका छन् । पार्टीका विधि विधान, नियम सबै हराएका छन् । कांग्रेसी नेताले माओवादीमा भोट हाल भन्छन्, नहाले कारबाही गछौँ भन्छन् ।
माओवादीहरूले कांग्रेसलाई भोट हाल नहालेमा कारबाही गछौँ भन्छन् । सिद्धान्त विपरीत भोट हाल भन्नेलाई के भन्ने ? यही भएर होला नेपालमा अब प्रजातन्त्र छैन भन्नेहरूको पनि एउटा जमात खाडा भइसकेको छ । २००७ सालदेखि संघर्ष ल्याएको प्रजातन्त्र हुकुमीतन्त्रमा परिणत भएको छ । आज नेपालमा हजारौँ राजाहरूले देश लुटिरहेका छन् । शोषण गरिरहेका छन्, जनताको सेवा गर्ने होइन । कुर्सीमा बसेर आफू र आफ्नालाई अकुट धनसम्पत्ति आर्जन गरिरहेका छन् । यिनका भाषण र नारा राम्रा छन् तर यिनको व्यवहार घिनलाग्दो छ ।
भाइ रमेश ! हामी नागरिकले ज–जसलाई नेता बनाएका छौँ, त्यसमध्ये अधिकांश नेताका खुट्टा आफ्ना छैनन् । मस्तिष्क पनि आफ्नो छैन । यिनीहरूले बेचिसकेका छन् । त्यसैले विदेशीले जे भन्यो त्यही गर्छन् । उचित अनुचितको यिनलाई मतलव नै छैन । इमानदारहरू अल्पसंख्यकमा छन् । त्यसैले पछि परेका छन् । विधि विधान मिच्नेको बाहुल्यता छ । गठबन्धन पनि हाम्रो देशमा क्षण–क्षणमा बिग्रने भत्कने गर्छ ।
नेताहरूमा बोलीको ठेगान छैन, विदेशीको इसारामा गठबन्धन बिग्रने भत्कने गर्छन् भन्नेहरू धेरै छन् । केही दिन पहिलेको कुरा हो, रासायनिक मलमा दिँदै आएको अनुदान सरकारले कम गरेको घोषणा ग¥यो । कृषकहरूलाई ठूलो मार प¥यो । यसको चारै तिरबाट विरोध भयो । सरकार अत्ताल्लिएर अनुदान दिने भनेर निर्णय सच्याउने काम ग¥यो । यस्तो छ, हाम्रो देशको अवस्था विदेशीले स्थापना गरिदिएका उद्योगहरू सरकारले बेचेर सकेको कुरा बारबार सञ्चारमा आइरहेको छ ।
भाइ रमेश ! उद्योग रकम नभएको देशमा विकास भएर नागरिक आत्मनिर्भर हुने कुरा पत्याउनै सकिँदैन । देशका विभिन्न भागका सडकहरू ठाउँ–ठाउँमा अलपत्र छ । ठेक्का लिएका ठेकेदारले बनाउँदैनन् । उनीहरू माथि कारबाही पनि नेताहरूको संरक्षणले गरी हुँदैन । देशका विभिन्न दुर्गम ठाउँका विद्यालयमा २०७९ साल चैत्रसम्म पाठ्य पुस्तक सरकारले पु¥याउन नसकेको कुरा सञ्चारमा आएको छ । देशको यस्तो अवस्था छ भनी तिमीले जानकारी गराए । बाकी भेटमा ।
तिम्रो माया गर्ने दाजु
खगराज न्यौपाने