बर्सेनी सडक दुर्घटना बढ्दो

तुलसीपुर, ९ चैत । सडक दुर्घटनाकै कारण नेपालमा धेरैले ज्यान गुमाउनुपर्ने बताइएको छ । त्यस्तै सडक दुर्घटनामा ज्यान गुमाउनुका साथै अङ्गभङ्ग भइ अपाङ्गता भएर बस्नुपर्ने बाध्यता पनि धेरै रहेको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा टेकु काठमाडौं शाखा प्रमुख डा. प्रशन्न नापितले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमेलोजी तथा रोग नियन्त्रण महाशाखा कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा टेकु काठमाडौंको आयोजना तथा विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा तुलसीपुरमा भएको स्थानीय तह स्तरमा सडक सुरक्षा कार्यक्रममा उनले नेपालमा एक वर्षमा लिएको तथाङ्कमा २४ हजार ५ सय ३७ दुर्घटना भएको र त्यसमा २ हजार ८ सय ४३ जनाले ज्यान गुमाउनुका साथै त्यसमा ९४ हजार ६ सय ६५ जनालाई चोटपटक लागेको बताए ।

विभिन्न कारणले नेपालमा बर्सेनी सडक दुर्घटना बढ्दै गएको भन्दै यसलाई रोक्न अब स्थानीय तह तथा स्थानीय सरकार लाग्नुपर्ने बताए । नेपाल त्यसमा पनि दाङको तुलसीपुर दुर्घटना बढी हुने क्षेत्रमा समेत पर्ने गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को सवारी दुर्घटना विवरणअनुसार तुलसीपुरमा दुर्घटना ३ सय २३ रहेको छ । जसमा ९ जनाले ज्यान गुमाएका छन् भने ५ सय ५१ जना घाइते भएको उनले बताए ।

आर्थिक वर्षको ८ महिनामा साउनदेखि फागुनसम्म सबैभन्दा बढी मोटरसाइकल २ सय दुर्घटना भएका छन् । डा. प्रशन्न नापितले सन् २०३० सम्म नेपालमा हुने सडक दुर्घटनामध्ये ५० प्रतिशत काम गर्ने दिगो विकास लक्ष्यमा रहेको समेत बताए । दिगो विकास लक्ष्यको उद्देश्यअनुसार नेपालले सन् २०३० भित्र देशमा सडक दुर्घटनाबाट गम्भीर घाइते र मृतकको संख्यालाई आधा पार्ने विश्वव्यापी लक्ष्य पनि लिएको छ ।

त्यस्तै सडक सुरक्षाविद् भगवती सेढार्इँले विगत ३० वर्षमा देशमा धेरै क्षेत्रमा धेरै परिवर्तन भइसकेको तर सडक दुर्घटनामा परेर मानिसको मृत्युको ग्राफ निरन्तर उकालो लागिरहेको बताइन् । प्रहरीको तथ्याङ्कअनुसार आ.व. २०५८÷०५९ मा देशभरि जम्मा ३ हजार ९ सय दुर्घटनामा मात्र ८ सय ८० जनाको मृत्यु भएको अभिलेख छ । यो भनेको देशभर दैनिक औषत ११ दुर्घटना हो भने दैनिक मृतकको संख्या औषत ३ जनाभन्दा पनि कम थियो । त्यसको २० वर्षपछि अर्थात् आव २०७८÷०७९ मा प्रहरीकै तथ्याङ्कअनुसार पनि दुर्घटनाको संख्यामा ४ गुणाले वृद्धि भएको छ भने मृतकको संख्या करिब ३ हजार पुगेको उनले बताइन् ।

विज्ञ सेढाईले नेपालमा दिनानु दिन बढ्दै गइरहेको दुर्घटनाजन्य चोटपटकबाट ठूलो संख्यामा मानिसहरू घाइते, अपाङ्ग, मानसिक समस्या र मृत्यु समेत हुने र त्यसबाट आर्थिक सक्रिय जनशक्ति अत्यधिकले ठूलो नोक्सान भएर देशको आर्थिक उन्नतिमा अवरोध आइरहेको बताइन् । ‘यस्ता समस्याहरू सबैतिर एकनासले वितरण नहुने भएकाले स्थानीय तह र वडा स्तरमा व्यावहारिक किसिमले रोकथामको व्यवस्था गर्न जरूरी छ’, उनले भनिन् । कार्यक्रममा उनले अन्य रोग र स्वास्थ्यका समस्या जस्तै सडक दुर्घटनालाई पनि रोक्न वा कम गर्न सकिने बताइन् । यसका लागि सबै सडक प्रयोगकर्ताहरूले दुर्घटना गराउनसक्ने कारणहरूलाई समयमै थाहा पाएर तिनको समाधान गर्नुपर्ने उनको भनाइ छ ।

मानिसहरूले बाटो काट्न सुरक्षित हुने स्थानमा जेब्राक्रसिङ चिह्न वा ट्राफिक बत्ती राख्ने र मानिसहरूलाई त्यसको प्रयोग प्रोत्साहित गर्न व्यवस्था गर्ने, पैदल यात्रुले गाडी चल्न बनेको सडकमा हिंड्नु नपरोस् भनेर सुरक्षित फुटपाथ बनाउने, फुटपाथमा अवरोध गर्न नदिने र पैदलयात्रीलाई त्यसको प्रयोग गर्न प्रोत्साहित गर्न सकिने उनले बताइन् । कुनै पनि सवारी साधन चलाउँदा मादक पदार्थ वा रक्सी सेवन गरिएको छ÷छैन भन्ने परीक्षण र अनुगमन गर्ने व्यवस्था गर्न सकिने, विद्यालय वरपर धेरै बालबालिकाहरू हिंड्ने भएकोले विद्यालय नजिक गाडीको गतिलाई ३० किमि प्रतिघण्टामा सीमित गरेर त्यस क्षेत्रमा जोखिम कम गर्न सकिन्छ ।

नगरपालिकाका बासिन्दाहरू, त्यहाँ अध्ययनरत युवावर्गले चलाउने मोटरसाइकल यात्रु र पछाडि बस्नेलाई सुरक्षित पार्न सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ गरिएअनुसार अनिवार्य हेल्मेट लगाउने नियमलाई क्रमशः कार्यान्वयन गर्दै दुर्घटना भएको खण्डमा टाउकामा चोट लागेर मृत्यु हुने सम्भावनालाई घटाउन सक्ने, सडकमा गाडी चलाउने र पैदलयात्रुहरूले सडक र ट्राफिक नियमको पूर्ण पालना गर्नु बताइन् ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलको अध्यक्षाता तथा नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै खड्काले दाङको तुलसीपुरमा यो सडक सुरक्षा पाइलट प्रोजक्ट पहिलो पटक आएको भन्दै साझेदारीमा काम गर्ने बताए । उनले स्थानीय पाठ्यक्रममा समेत सडक सुरक्षालाई जोडेको बताए । ‘दुर्घटनाको केन्द्रविन्दु दाङ त्यसमा पनि तुलसीपुर देखिएको छ, त्यसलाई घटाउन पनि यो स्थानीय तह स्तरमा सडक सुरक्षा कार्यक्रम उपलब्धिमूलक हुने बताए ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख किरणप्रकाश मल्लले दाङमा विभिन्न कारणले सवारी दुर्घटना हुने गरको भन्दै त्यसलाई न्यूनीकरण गर्न सबैका साथ सहयोग आवश्यक रहेको बताए । त्यस्तै ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तीर्थ भुसालले रोड सुरक्षाका लागि प्राप्त डिजिटल प्रविधि नभएको बताए । उनले सीमित साधन स्रोत र जनशक्तिले हाल काम गरेको भन्दै नयाँ प्रविधिको प्रयोग आवश्यक भएको बताए । उनले तुलसीपुरमा आफूहरू ट्राफिक व्यवस्थापनमा दैनिक लागे पनि समस्या समाधान हुन नकसेको बताए । उनले रोड सुरक्षा चेकिङलगायतका विभिन्न गतिविधि गरेको बताए ।

स्वास्थ्य महाशाखा प्रमुख ओम न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा डा. अजय रेग्मी, राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदम न्यौपानेलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा टेकु काठमाडौंका महेन्द्र गिरीले गरेका थिए ।