मुलुकले स्थायित्व खोजेको छ : महासचिव पोख्रेल

गोरक्ष समाचारदाता

दाङ, ९ चैत । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले मुलुकले स्थायित्वको खोजेको भन्दै त्यसको लागि बलियो शक्ति चाहिने बताएका छन् । ‘राज्यको समृद्धि र विकासको लागि बलियो शक्ति चाहिन्छ’, युवा संघ दाङको १०औँ जिल्ला अधिवेशनको बुधवार घोराहीमा उद्घाटन गर्दै महासचिव पोख्रेलले भने, ‘तर मुलुकमा अझै त्यो शक्ति निर्माण भएको छैन ।’ महासचिव पोख्रेलले राज्य कमजोर र जनता बलियो भएको मुलुकको कल्पना गर्न नसकिने समेत बताए । ‘मुलक जति बलियो हुन्छ त्यति जनताले अधिकार प्राप्त गर्छन र मुलुक समृद्धिको दिशामा जान्छ’, उनले भने, ‘त्यो दिशामा सबै गम्भीर बन्न जरुरी छ ।’

महासचिव पोख्रेलले विकास र समृद्धि मुलुकको मुख्य विषय भएको बताए । ‘विकास र समृद्धि मुलुकको मुख्य विषय हो । यसमा युवाले कतिको चिन्ता र चासो गर्छन् ?’, उनले भने, ‘त्यसैमा विकास र समृद्धि भर पर्छ ।’ उनले मुलुकमा राजनीतिक स्थायित्व नभएकोले पटक–पटक समस्या भोग्नुपरेको बताए । ‘राजनीतिक स्थायित्वको अभावमा छोटो समयमा धेरै प्रधानमन्त्री भएका छन् । उनीहरूले योजना, कार्यक्रम तर्जुमा गर्न नपाउँदै नेतृत्वबाट बाहिरिने गरेका छन्’, उनले भने, ‘त्यसको असर विकास परेको छ ।’ राज्यको निर्माता दलहरू नै भएको महासचिव पोख्रेलले बताए । ‘राज्यका निर्माता दलहरू नै हुन’, उनले भने, ‘नयाँ र स्वतन्त्रको नाममा विचनल हुँदा राजनीतिक दलहरूले बहुमत प्राप्त गर्न सक्दैन । देशले सही दिशा पनि पाउँदैन । यसमा सवै जिम्मेवार बन्नुपर्छ ।’
कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा दाङ इञ्चार्ज नरुलाल चौधरीले समाज बदल्ने मुख्य दायित्व युवाहरूको भएको वताए । ‘समाज परिवर्तन गर्ने मुख्य दायित्व युवाहरूको विदेश जाने युवाहरूको मोह र बाध्यताले समाज विखण्डन भएका छन्’, उनले भने, ‘नेता बन्नलाई मात्र नभएर युवालाई स्वदेशमा रोक्ने योजना समाजले खोजेको छ ।’ उनले युवाहरूको समस्या समधानको लागि आफूहरू सधैँ तयार भएको समेत बताए । कार्यक्रममा युवा संघका केन्द्रीय उपाध्यक्ष सुमन पुरीले युवाहरूमा सीपको विकास र रोजगारको सिर्जना गर्न आवश्यक भएको बताए । ‘रोजगारको अभावमा धेरै युवाहरू विदेश पलान भएका छन् । यो सबैको चिन्ताको विषय बनेको छ । यो प्रवृति रोक्न सरकार गम्भीर बन्नुपर्छ । स्वदेशमा रोजगार उपलब्ध गराउने योजना सरकारले ल्याउनुपर्छ’, उनले भने ।

युवा संघ दाङका अध्यक्ष देवु बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, उपाध्यक्ष राममणि पाण्डे, अनेमसंघ दाङका अध्यक्ष हुमा डिसी र युवा संघ दाङका इञ्चार्ज माधव वलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । संघका वरिष्ठ उपाध्यक्ष बालाराम पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा युवा संघका पूर्व अध्यक्षहरू शम्भु गौतम, हुकुम बस्नेत, मनोहर बुढाथोकी, मौसम आचार्यलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण युवा संघ दाङका सचिव सुवास शर्माले गरेका थिए ।