स्वदेशी उत्पादनलाई प्राथमिकता दिऔ : व्यवसायी चापागाई [अन्तर्वार्ता}
पछिल्लो समयमा स्वदेशमा उत्पादन गर्ने उद्योगहरूको सङ्ख्या वढदै गएको छ । विभिन्न समस्याहरू भोग्दै स्वदेशी उद्योगहरू सञ्चालनमा भइरहेका छन् तर राज्यको तर्फहरूबाट स्वदेशी उद्योगहरूलाई प्रोत्साहन गरेको पाइएको छैन । यस प्रकारको प्रवृत्ति परिवर्तन हुन आवश्यक छ ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ रावतगाउँमा मेलीना मल्टिपल्स प्रालिले स्मृति साबुन उत्पादन गर्दै आएको छ । उद्योगहरू उत्पादन गर्दै आएको साबुन जिल्लाका सबै बजार तथा छिमेकी जिल्लाहरूमा समेत जाने गरेको छ । उद्योगले उत्पादन गरेको साबुनको माग समेत बढ्दै गएको छ । साबुन उद्योग सञ्चालनमा के–कस्ता सम्भावना तथा चुनौतीहरू छन् भन्ने विषयमा गोरक्षकर्मी अमरराज आचार्यले उद्योगका सञ्चालक तुल्सीराम चापागाईसँग गरेको कुराकानीको सार संक्षेप ।
यहाँलाई गोरक्षको साता वार्तामा स्वागत छ ?
उद्योग र व्यवसायका बारेमा विचार राख्ने अवसर दिनुभएकोमा यहाँ र पत्रिका परिवारलाई धन्यवाद ।
उद्योगको अवस्था कस्तो रहेको छ ?
हरेक क्षेत्रमा समस्याहरू रहेका छन् । उद्योग क्षेत्र पनि त्यसबाट अछूतो रहेको छैन । विभिन्न समस्या रहँदा–रहँदै पनि उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । जसले गर्दा उद्योगहरूको विकास हुन समेत सकेको छैन । हामीले उत्पादन गरेको साबुन विक्रीमा भने कुनै समस्या रहेको छैन । उत्पादन भएको साबुन जिल्ला तथा छिमेकी जिल्लाहरूमा पुग्ने गरेको छ । हामीले नाफाभन्दा पनि वस्तुको गुणस्तरमा ध्यान दिएका छौँ ।
यसैले यसको प्रयोग गरेकाले खोजी गर्नुहुन्छ । यसैको कारणले पनि होला विक्री नहुने समस्या हामीले उत्पादन गरेका साबुनको छैन । अहिले उद्योगबाट दैनिक ५ हजार पिस उत्पादन भइरहेको छ । १० हजार पिस उत्पादन गर्ने क्षमता भए तापनि पूरा क्षमतामा सञ्चालन गरिएको छैन । अहिले २० रूपैयाँ र ४० रूपैयाँ मूल्यको साबुन उत्पादन भइरहेको छ भने अउँदा दिनमा ३० र ५० रूपैयाँको साबुन पनि उत्पादन गर्ने योजना रहेको छ । आउँदा दिनमा नुहाउने साबुन तथा सर्फ समेत उत्पादन गर्ने योजना छ ।
उद्योग सञ्चालन गर्दा के–कस्ता समस्या भोग्नुपरेको छ ?
उद्योग सञ्चालनका लागि विद्युतको समस्या मुख्य नै रहेको छ । विद्युतको अनियमितता, लो भोल्टेजले गर्दा धेरै समस्या हुने गरेको छ । बत्ती आउने–जाने गर्दा मेसिन बिग्रिने गरेका छन् । जसले धेरै घाटा लाग्ने गरेको छ । विद्युत नहुँदा जेनेरेटरको प्रयोग गर्नुपर्ने बाध्यता छ । जेनेरेटर प्रयोग गरेर उत्पादन गर्दा लागत मूल्य वृद्धि हुन्छ ।
जसले गर्दा बाहिरबाट आउने वस्तुसँग प्रतिस्पर्धा गर्न सकिँदैन । उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ समेत बाहिरबाट ल्याउनु पर्दा समस्या हुने गरेको छ । उद्योगको मेसिनमा प्रयोग हुने सामग्री समेत जिल्लामा पाइँदैन । बाहिर गएर ल्याउनु पर्दछ । जसले सानो सामग्रीका लागि समेत धेरै रकम र समय खर्च गर्नुपर्ने बाध्यता रहेको छ । उद्योगका लागि आवश्यक पर्ने जग्गा समेत सहज रूपमा प्राप्त गर्न सक्ने अवस्था रहेको छैन । जसले गर्दा उद्योगहरू स्थापना हुन समेत सकेका छैनन् ।
उद्योगका लागि आवश्यक पर्ने जनशक्तिको अवस्था कस्तो छ ?
उद्योगका लागि जनशक्तिको पनि समस्याको रूपमा नै रहेको छ । उद्योगमा दक्ष जनशक्तिको अभाव रहेको छ । अदक्ष कामदारबाट काम गराउनुपर्ने बाध्यता रहेको छ । यसरी काम गर्न आउनेहरू पनि लामो समयसम्म नटिक्ने समस्या छ । आउने–जाने चलिरहन्छ । कहिले धेरै हुन्छन्, कहिले थोरै हुन्छन् । हामीले भनेअनुसार कामदार समेत पाउन सकेका छैनौँ ।
राज्यको नेपाली उद्योगलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?
राज्यले स्वदेशी उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने हो तर त्यस प्रकारकोे अवस्था रहेको छैन । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न राज्यले नीति ल्याउनु पर्दछ तर त्यो आएको जस्तो लाग्दैन । नेताहरूले भाषण त गर्छन् र व्यवहारमा भने त्यो अझै देखिएको छैन । जसले गर्दा स्वदेशी उद्योगहरूको विकासमा समस्या देखिएको छ । अहिले पनि धेरै नागरिकले स्वदेशी वस्तु प्रयोग गरेको पाइँदैन । स्वदेशमा गुणस्तरीय वस्तु उत्पादन भए पनि विश्वास नगर्दा प्रयोग हुन नसकेको हो । यसलाई परिवर्तन गर्न जरुरी रहेको छ । सरकारले नागरिकलाई विश्वास गर्ने वातावरण सिर्जना गर्नु पर्दछ ।
स्वदेशी उद्योगको विकासका लागि राज्यले के गर्न आवश्यक छ ?
राज्यले स्वदेशी उद्योगको विकासका लागि स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति ल्याउनु पर्दछ । उद्योग स्थापनाका लागि छुट्टै औद्योगिक क्षेत्र बनाउनु पर्दछ । अहिलेसम्म जिल्लामा औद्योगिक क्षेत्र निर्माण हुनसकेको छैन । जुन बस्तीस्तर भन्दा टाढा रहोस् । औद्योगिक क्षेत्रमा सडक सुविधा, नियमित विद्युतको व्यवस्था, पानीको सुविधा पु¥याउनु पर्दछ । औद्योगिक क्षेत्र स्थापना भएमा उद्योगहरू स्थापनाका लागि सहज हुन्छ । उनीहरूले आफैले जग्गा किन्नु पर्दैन ।
उद्योग स्थापना गर्नका लागि आफैले जग्गा किन्नु पर्दा उद्योगमा लगाउने रकम नै सकिने गर्दछ । उद्योगी बन्न चाहनेहरूलाई सरकारले सहज र सहुलियतका रूपमा दिने व्यवस्था गरिनु पर्दछ । अहिले लगानी गर्नका लागि सहज रूपमा ऋण पाउने अवस्था समेत रहेको छैन । यसले गर्दा धेरै उद्योगी तथा व्यवसायीलाई समस्या भोग्नु परेको छ । यसतर्फ सरकारले ध्यान दिनु पर्दछ । अहिले स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले समेत उद्योगी तथा व्यवसायीलाई सहयोग गरेको पाइँदैन ।
अन्त्यमा केही छ कि ?
हामीले सञ्चालन गरेको उद्योगको बारेमा कुरा राख्न दिनुभएकोमा तपाईँ र पत्रिका परिवारलाई धन्यावाद दिन चाहन्छु । हामी परनिर्भर होइन आत्मनिर्भर हुन आवश्यक छ । नेपालमा धेरै सम्भावनाहरू रहेका छन् । ती सम्भावनाहरूको सदुपयोग गरेर अगाडि बढ्न आवश्यक छ । देशलाई आत्मनिर्भर बनाउन सबै मिलेर अगाडि बढ्नु पर्दछ । अब गाली गरेर अर्काले काम गरेन भनेर बस्यौँ भने मुलुक बन्दैन ।
दैनिक रूपमा सयौँ नेपाली विदेश जान बाध्य छन् । त्यसकारण सबै मिलेर मुलुक बनाउने हो । त्यसको लागि रोजगार सिर्जना गर्न आवश्यक छ । राज्यले रोजगार सिर्जना गर्ने वातावरण निर्माण गर्नुपर्छ । नागरिकले पनि आप्mनो क्षेत्रबाट काम गर्न आवश्यक छ । त्यसका लागि आफैले केही गर्नु पर्दछ भनेर अगाडि बढन सक्नु पर्दछ । अनुशासित हुन जरुरी पनि छ । काम गर्न चाहेमा धेरै अवसर समेत यही मुलुकभित्र छन् । त्यो दिशामा लाग्न जरुरी छ । विदेशमा गएर जस्तो काम गर्न पनि तयार हुन्छौँ तर नेपालमा काम गर्न लाज मान्ने गर्दछौँ । यस प्रकारको प्रवृत्ति हटाउनु पर्दछ ।
राज्यले उद्यमशीलतामा जोडिनका लागि प्रोत्साहन गर्नु पर्दछ । जसले गर्दा स्वदेशी उद्योगलाई अगाडि बढाउन सहयोग मिल्दछ । उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, बजार व्यवस्थापनमा सहयोग गरिदिनु पर्दछ । विदेशमा उद्योगबाट उत्पादन भएका वस्तुसँग प्रतिष्पर्धा गर्न नेपाली उद्योगलाई समस्या रहेको छ । यसैगरेर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नु पर्दछ । अहिले पनि स्वदेशी वस्तुलाई विश्वास गर्ने वातावरणको सिर्जना हुनसकेको छैन । यसतर्फ राज्यले ध्यान दिनु पर्दछ । यस क्षेत्रमा आउन चाहनेहरूलाई आप्mनो क्षेत्रबाट सहयोग रहन्छ ।