रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

काठमाडौँ,६ चैत । सरकारले सर्वत्र विरोध भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ ।

सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो ।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी थिइन ।

 सरकारले फागुन २६ गते रासायनिक मलमा किसानलाई दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार सरकारले रासायनिक मलमा यसअघि ७०.८२ प्रतिशत अनुदान दिदैआएकोमा कटौटी गरेर ५९.०४ प्रतिशत कायम गरेको थियो ।

अनुदान कटौतीपछि युरिया प्रतिकेजी २५ रुपैयाँ, डिएपी ५० रुपैयाँ, पोटास ४० रुपैयाँ मूल्य कायम गरिएको थियो । अव यसअघि युरिया प्रतिकेजी १४, डीएपी ४३, पोटास ३१ रुपैयाँमा उपलब्ध हुने छ ।