चौतारी दाङको साधरणसभा तथा वनभोज

गोरक्ष समाचारदाता
दाङ, ५ चैत । प्रेस चौतारी नेपाल दाङ शाखाले साधरणसभा बैशाख १८ गते घोराहीमा गर्ने भएको छ । चौतारी दाङको शनिवार तुलसीपुरमा बसेको बैठकले साधरणसभासँगै वनभोज कार्यक्रम गर्ने निर्णय गरेको चौतारी दाङका सचिव किरण गौतमले बताए ।

उनकाअनुसार साधरणसभामा चौतारीका ज्येष्ठ सदस्य तथा अगुवालाई सम्मानसँगै पुरस्कार समेत वितरण गरिने भएको छ । साधरणसभामा वितरण गरिने पुरस्कार छनोट गर्न चौतारी दाङका उपाध्यक्ष प्रेमबहादुर राम्जा, सुधा सुमन ढकाल र जेएन सागरलाई जिम्मा दिइएको छ । बैठकले चौतारीको सदस्यता नविकरण, नयाँ सदस्यता आवेदन आह्वन गर्ने निर्णय गरेको छ ।

बैठकले घोराही र लमहीमा चैत ७ भित्र चौतारीको भेला र प्रशिक्षण गर्ने निर्णय गरेको छ । चौतारीले यसअघि जिल्लाका ८ पालिकामा भेला तथा प्रशिक्षण गरिसकेको छ । बैठकले साधरणसभामा प्रस्तुत गरिने सांगठिनक प्रतिवेदन र आर्थिक प्रतिवेदन तयार पार्न सचिव गौतम र कोषाध्यक्ष गोकर्ण पौडेललाई जिम्मा दिएको छ । बैठकमा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले चौतारीले गरेका कार्यलाई प्रभावकारी बनाउन निर्देशन गरे । ‘पार्टीका कामलाई सञ्चारसँग जोड्ने मुख्य काम पत्रकारको हो, यसमा यहाँहरूले रचानात्मक भूमिका निभाउँदै आउनुभएको छ । त्यसलाई थप प्रभावकारी बनाउने काम गर्नुस्’, उनले भने ।

बैठकमा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले संगठनको कामलाई व्यवस्थित बनाउन सुझाव दिए । सचिव बुढाथोकीले पार्टीले सञ्चालन गरेको ग्रास रुट अभियान जिल्लाका केही वडाबाहेक अधिकांश वडामा भइसकेको बताए । ‘वडासम्ममा अभियान भइसकेको छ । यसले पार्टीलाई थप उर्जा दिएको छ’, सचिव बुढाथोकीले भने, ‘अभियानमा भएका गतिविधिहरू सञ्चारसँग जोड्ने भूमिका तपाईँहरूको हो ।’ चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा भएको कार्यक्रममा चौतारी दाङका इञ्चार्ज गणेश आचार्य, चौतारी सल्लाहकार जेएन सागर र अन्य सहभागीले सुझाव सहितिको विचार राखेका थिए । चौतारी दाङका उपाध्यक्ष राम्जाको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सहजीकरण सचिव गौतमले गरेका थिए ।