‘सटर नै बन्द गर्ने अवस्था भयो’

तुलसीपुर चेम्बर अफ कमर्शको साधारणसभा
बालाराम खड्का
तुलसीपुर, ५ चैत । ‘सटरहरू बन्द हुँदै गएका छन्, कोही जापान–कोही अमेरिका, यस्तै हो भने अब ६ महिनापछि व्यवसायी आधा बन्द हुन्छन्’, यो साझा पीडा तुलसीपुर चेम्बर अफ कमर्शको दोस्रो साधारणसभामा बोल्ने सहभागी व्यवसायीको हो ।

व्यवसायीले बैंकको व्याज तिर्न नसक्दा व्यवसाय बन्द गरेर बस्नुपर्ने बाध्यता भएको व्यवसायी गोकर्णप्रसाद गिरीले बताए । ‘बैंकले ८ बाट व्याज बढाएर १६ पु¥याउँछ, घटाउँदा १ प्रतिशत घटाउँछ, भएका उद्योग कारखाना बन्द छन्, कसरी चल्छ व्यापार ?’, उनले भने । त्यस्तै अर्को व्यवसायी श्रीधर महराले कोठामा सामान भए पनि व्यापार नहुने समस्या भएको बताए । ‘भुसबाट कनिका निकालेर हामीले व्यायार चलाउनुपर्ने अवस्था छ’, उनले भने ।

तुलसीपुर चेम्बर अफ कमर्शको साधारणसभा उद्घाटन गदै केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले बैंकको उच्च व्याजले व्यवसायी मारमा परेको बताए । उनले दाङ जिल्ला पर्यटकीय दृष्टिकोणले भरिपूर्ण जिल्ला भएको भन्दै यहाँ विभिन्न पर्यटकीय क्षेत्रहरू रहेको बताए । ‘दाङ जिल्ला पर्यटकीय तथा धार्मिक दृष्टिकोणले भरिपूर्ण छ, यहाँ विश्वकै अग्लो त्रिशुल र अन्य धार्मिक तथा पर्यटकीय स्थलहरू छन्’, उनले भने । मल्लले यस क्षेत्रको विकासका लागि तुलसीपुर एयरपोर्ट महत्वपूर्ण भएको भन्दै एयरपोर्टको विकासका लागि सबै लाग्नुपर्ने बताए ।

‘तुलसीपुरमा रहको एयरपोर्टको विस्तार हुन जरुरी छ, यसले नै सबै क्षेत्रलाई जोड्नसक्छ’, उनले भने, ‘यही एयरपोर्टलाई विकास गर्न सकिन्छ वा अन्य क्षेत्रमा जग्गा व्यवस्थापन गर्न सकिन्छ भन्नेमा सबैको बहस हुन आवश्यक छ ।’ एयरपोर्टको विकास भयो भने लुम्बिनी प्रदेशको उन्नति हुने बताए । त्यस्तै उनले स्थानीय स्रोत र साधनमा आधारित उद्योगहरू सञ्चालन गरी स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताए । ‘यहाँको स्रोत साधनलाई प्रयोग गरी स्थानीय सरकारसँगको साझेदारीमा स–साना उद्योगहरू सञ्चालन गर्नुहोस्, त्यसको बजारीकरणका लागि हामी लाग्ने छौं’, मल्ले भने ।

उनले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा आफूहरूले बजारीकरणका लागि पहल गर्ने तर्क गरे । पछिल्लो समयमा अर्थतन्त्रमा केही समस्या आएको भन्दै यसलाई सफल र अर्थतन्त्रलाई माथि उठाउन सबै लाग्नुपपर्ने बताए । उनले बैंकहरूले पनि व्याज बढाएको भन्दै यसलाई घटाउन पहल भइरहेको बताए । ‘राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग तथा केही संस्थाहरूको समन्वय नहुँदा केही समस्या भएको उनले बताए ।

तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील बैद्य निजी क्षेत्रको सहकार्यबाट देशमा आर्थिक समृद्धि हुने भन्दै राज्य र निजी क्षेत्रले एकताले देशको विकास हुने बताए ।

त्यस्तै उनले व्यवसायीहरू पनि आफ्नो नीति नियममा रहेर अगाडि बढ्नुपर्ने भन्दै राज्यले व्यावसायिक सुरक्षा दिने बताए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले कोरोनाका कारण मुलुकको अर्थतन्त्र बलियो हुन नसकेको भन्दै व्यापार व्यवसाय खस्किएको बताए । ‘आर्थिक उत्पादन नहुँदा कारोबार हुनसकेको छैन, यस वर्ष पनि आर्थिक वृद्धि हुन कठिन छ’, प्रमुख खड्काले भने ।

त्यस्तै चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका उपाध्यक्ष श्रीधर महराले व्यवसायमा आर्थिक चलायमान भएको भन्दै देशको आर्थिक अवस्था निकै कमजोर भएको भन्दै उद्योगी व्यवसायीहरूले आर्थिक चपेटामा परेको बताए । उनले बैंकको व्याज तिर्न नसकेर पलायन हुने अवस्था भएको भन्दै विभिन्न कारणले आत्महत्यादेखि विदेश पलायन हुनेसम्म भएको बताए । ‘आम व्यवसायीको पीडा हो, राज्यले तोकेको नियमानुसार कर कार्यालयहरूले राजस्व तिरेकै छन्’, उनले भने । उनले बैंकले व्याज बढाउँदा धेरै र घटाउँदा थोरै घटाउने गरेको बताए ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुरका निमित्त प्रमुख राजेन्द्र भण्डारी यस क्षेत्रको आर्थिक सामाजिक विकासका लागि संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले नीति नियमानुसार आफूहरूले व्यवसायीलाई कर अशुलीका लागि पत्राचार खबर गरेको भन्दै अन्य कुराहरू नभएको बताए । तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रूपबहादुर खत्रीले तुलसीपुरमा रहेको एयरपोर्ट सञ्चालन भए पनि यसको विकास र विस्तार हुन नसकेको बताए । उनले आम व्यापार व्यवसाय धरासयी बन्दै गएको अवस्थामा सम्पूर्ण व्यवसायीहरू एकताबद्ध भएर जानुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग व्यापार संगठनका अध्यक्ष घनश्याम डाँगी, नेपाल उद्योग वाणिज्य व्यवसाय महासंघ तुलसीपुरका अध्यक्ष होताराम आचार्य, योग प्रशिक्षक डा अनुपकुमार श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष वीरेन्द्रकुमार शाह, नेकपा माओवादीका प्रेम वली, तुलसीपुर खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका अध्यक्ष यमकान्त भण्डारी, प्रजातान्त्रिक उद्योग व्यवसायी संघका अध्यक्ष जनकप्रसाद खराल, व्यवसायी गोकर्ण गिरी, तुलसीपुर नगर जेसीजका अध्यक्ष शालिकराम वली, गोरखा मावि तुलसीपुरका प्राचार्य विजय जिएम, राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर बुढाथोकी, पतञ्जली योग समिति तुलसीपुरका बामदेव धिताललगायतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण तुलसीपुर चेम्बर अफ कमर्शका महासचिव प्रेमप्रकाश गिरीले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा नागरिक केयर हस्पिटल तुलसीपुरले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो ।