घोराही, २ चैत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनले देशभरका क्याम्पसहरुमा चहलपहल बढाएको छ । यहि चैत ५ गते हुने स्ववियुको निर्वाचनमा परिणामलाई आफ्नो पक्षमा ल्याउनका लागि विद्यार्थी संघसंगठन तथा समुहरु लागि परेका छन् ।
स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा आफ्नो पक्षमा मत तान्नका लागि विद्यार्थीहरु संघसंगठनहरु प्रचारप्रसारदेखि विभिन्न कार्यक्रमहरु गरेर भोट माग्ने काम गरिरहेका छन् । जिल्लाको प्रमुख महेन्द्र बहुमुखी क्याम्पसलगायतका ठुला क्याम्पसहरुमा निर्वाचनका लागि समूह बनाएर विद्यार्थीहरुले प्रतिस्पर्धामा उत्रिएका बेला निजी क्याम्पसहरुमा भने सर्वसहमतिमा स्ववियु पदाधिकारी चयन गर्ने काम भैरहेका छन् ।
यसैसन्दर्भमा दाङको बबई गाउँपालिकामा रहेको पुरन्धारा बहुमुखी क्याम्पस हंसपुरमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघकी नेता गोमा वली निर्बिरोध निर्वाचित भएकी छिन । विद्यार्थी ससंघसंगठनकाबिच भएको सहमति अनुसार पुरन्धारा बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघको भागमा परेको थियो ।
सहमति अनुसार स्ववियु उपसभापतिमा अनेरास्ववियुकी गोमा केसी, कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी भिमाकुमारी खड्का, सचिवमा अनेरास्ववियुकी कविता वली र सहसचिवमा अनेरास्वबियुकै अन्जु केसी निर्बिरोध निर्वाचित भएकी छिन् । स्ववियु सदस्यमा अनेरास्वबियुबाट हिरा वली, सन्जु केसी,लक्ष्मी वली, नेविसंघबाट टीका वली,पुजा डाँगी र स्वस्तिका घर्ती, निर्वाचित भएका छन् ।
स्ववियुको सभापतिदेखि सदस्यहरु मात्रै भएको जिल्लाको एक मात्रै क्याम्पस पुरन्धारा बहुमुखी क्याम्पस भएको छ । जिल्लामा २६ वटा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन थालेको छ । जस मध्य १९ जना क्याम्पसहरुमा सर्वसहमतिमै स्वतन्त्र विद्यार्थी युनियनको पदाधिकारी चयन गरिएको छ भने ७ वटा क्याम्पसहरुमा विद्यार्थी संगठनहरुविच प्रतिस्पर्धा हुन थालेको छ ।