सामाजिक दायित्व बहन गर्दा…

बिहानदेखि बेलुकासम्म उनी काममै लिप्त हुन्छन् । उनी सधैँ खुसी र मुस्कान सहित सेवामा तल्लिन भएको देख्दा सबैले उनीबाट प्रेरणा लिनुपर्ने सहपाठीहरू बताउँछन् । विगत दुईदशकदेखि यातायायात क्षेत्रमा क्रियाशील प्रकाश भट्ट साच्चिकै उनको मुहारमा पनि सधै प्रकाश छरिएको हुन्छ ।

सल्यान साहुटोला सेजुवाल टाकुरामा वि.सं २०३२ सालमा आमा सूर्यकुमारी उपाध्याय र बुबा बुद्धिराज उपाध्यायका कान्छा सन्तान प्रकाश भट्ट सबैका मन–मनमा बस्न सफल एक सफल व्यवसायी हुन् । उनलाई मैले खुसीका पलहरू सोध्न खोज्दा भट्टले आफ्नो जीवनमा बिहान उठेदेखि साँझ नहुँदासम्म आफूखुसीका साथ कर्म गर्ने गरेको सुनाए । ‘जीवनमा उकालीओरालीहरूमा सुख–दुःख धेरै छन् म दुःखलाई पनि खुसीमा साट्ने मान्छे हो’, उनले मुस्कुराउँदै भने, ‘म बेखुसी भएको अनुहार बिगारेका कहिल्यै देख्नुभएको छ र ?

तर उनले आफ्नो पहिलो खुसी यात्रुहरू सहज सेवा र दीनदुःखीहरूलाई सहयोग र समाजमा सत्कर्म गर्न पाउँदा भएको सुनाए । ‘समाजमा समझदारी, सामाजिक काममा साझेदारी, काँधमा जिम्मेवारीका साथ म काम गर्छु, म यसैमा खुसी छु’, भट्टले भने, ‘सामाजिक दायित्व बहन गर्न पाएको छु, यही मेरो पहिलो खुसी हो यही लेखिदिनुभए हुन्छ ।’

विसं २०५४ सालदेखि यातायात पेसामा लागेको भट्टले आफूले पहिलो पटक नेपालगञ्ज–दाङ यातायात सञ्चालन गरेको सम्झिए । ‘त्यतिबेला म गाडीमा कन्टेक्टर भएर यातायात क्षेत्रमा आफ्नो कर्म सुरु गरेको हुँ, त्यसपछि एउटा कुशल चालक भए र करिब ४÷५ वर्षसम्म मैले त्यसमा कर्म गरेँ, म त्यसमा पनि निकै खुसी छ’ु, भट्टले भने । त्यससँगै तत्कालीन राप्ती समितिमा करिब १४ वर्ष डायल इञ्चार्ज भएर काम गरेका र त्यसमा पनि गाडीहरूको व्यवस्थापन कुशलतापूर्वक गर्न पाउँदा खुसीलागेको उने सुनाए ।

हाल त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिकाको सञ्चालक समितिका सदस्य हुँदै कल्याणकारी संयोजकको जिम्मेवारी पाएका भट्टले अर्को खुसी कर्मचारी युनियनको जिल्ला कोषाध्यक्ष हुँदै अध्यक्ष हुँदा लागेको सुनाए । ‘म समितिको कर्मचारीको नेतृत्व गर्न पाउँदा पनि खुसी भएको थिएँ, त्यसमा पनि मैले युनियनमा रहेर धेरै काम गरे उनी भन्छन् । भट्टले आफू कर्मचारी युनियनको अध्यक्ष भएपछि कर्मचारीहरू निवृत्त हुँदा वा सेवा सकिएपछि १ लाख रूपैयाँ दिने व्यवस्था गरेको भन्दै त्यस कार्यले पनि आफूलाई खुसी तुल्याएको अभिव्यक्ति दिए ।

‘तत्कालीन राप्ती समितिका कर्मचारी युनियनको नेतृत्व लिएपछि मैले कर्मचारीको हकहितका लागि धेरै कुराहरू गरेँ, म त्यसमा पनि खुसी छु’, उनले भने । भट्टले अर्को खुसी कर्मचारी युनियनको नेतृत्व गरेपछि फेरि व्यवसायीहरूले आफूलाई माया गरी समितिको सचिवमा काम गर्ने जिम्मेवारी दिएकोमा खुसी व्यक्त गरे । निर्वाचनमा अत्यधिक मतले सचिवमा निर्वाचित हुँदा अर्को खुसी प्राप्त भएको सुनाए । उनी पटक–पटक सचिवमा निर्वाचित व्यवसायीहरूले गराउँदा तथा आफूलाई समितिमा जिम्मेवारी दिएर खुसी लाग्ने गरेको सुनाए ।

त्यस्तै भट्टले कोरानाको कहरको बेला २३ दिनसम्म यात्रुहरूलाई गन्तव्यमा पु¥याउनुका साथै समिति, नगरपालिकाको समन्वयमा खानादेखि उनीहरूलाई गन्तव्यमा पु¥याउने काम गर्दा खुसी लागेको सुनाए । ‘जे–जस्तोमा पनि चल्दोरहेछ कोरोनाको दोस्रो कहर, घर–घरमा त्रासले मानिस बाहिर निस्कने आवस्थामा थिएँ, मृत्युसँग पनि नडराएर हामीले सेवा गर्न पाएकोमा म खुसी छु’, भट्टले भने ।

त्यस्तै भट्टले दुःखी, गरिब र समस्यामा परेकाहरूलाई सहयोग गर्न पाउँदा निकै खुसी मिल्ने बताए । ‘हामीले दृष्टिविहीनका परिवारलाई प्रत्यक वर्ष तिहारको बेला सहयोग गर्दै आएका छौँ, यस्तै सयौँलाई मैले व्यक्तिगत तथा संस्थागत सहयोग गरेँ, म त्यसमा पनि खुसी छु’, भट्टले भने । त्यस्तै उनले विसं २०७२ सालको भूकम्पको बेला काठमाडौंबाट दाङ तथा अन्य जिल्लामा यात्रुहरूलाई ओसारपसारदेखि भारतको उत्तराखण्डमा भएको विपद्का बेला पनि धेरैलाई उद्धार गरी सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेँ ।

त्यस्तै तुलसीपुरको बाहिने पछाडि रहेको मनकामना टोलको अध्यक्ष समेत रहेका भट्टले टोल विकास संस्थामा रहेर विभिन्न सामाजिक काम गर्न पाउँदा खुसी मिलेको सुनाए । उनले विसं २०७३ सालदेखि आफू टोलको अध्यक्ष रहेको आप्mनो पालामा सो टोलमा बाटो कालोपत्रे गर्न पाउँदा पनि खुसी लाग्ने गरेको सुनाए । ‘त्यो टोलमा घोडा हिड्ने बाटो थियो तर अहिले त्यसलाई तुलसीपुर उपमहानगरपालिकासँग साझेदारी गरी अहिले राजमार्गजस्तो ठूलो रोड गराएका छौँ, म त्यसमा पनि खुसी छु’, उनले भने ।

त्यस्तै उनले घरपरिवारमा पनि श्रीमती, आमा र छोराहरूले पनि साथ दिएको भन्दै खुसी व्यक्त गरे । ८५ वर्षीय आमासँग बस्न पाउँदा तथा छोराहरूले पनि राम्रो प्रगति गर्दा खुसी मिलेको उनी बताउँछन् । एउटा छोरा इन्जिनियर र अर्को छोरा व्याचलर पढ्दै गरेको भन्दै छोराले इन्जिनियरमा नाम निकाल्दा पनि खुसी भएको सुनाए । त्यस्तै घरमा श्रीमतीले सफल गृहणी भएर आफ्नो सफलतामा साथ र सहयोग गर्दा अर्को खुसी मिलेको अनुभूति र महसुस गरेको सुनाए ।

प्रकाश भट्टले साथीभाइ, अग्रज तथा विभिन्न क्षेत्रका व्यक्तिहरू, शुवेच्छुकको साथ र सहयोग र मायाले गर्दा आफू आज यहाँसम्म आएको भन्दै सेवा नै आफ्नो पहिलो सन्तुष्टि र खुसी भएको सुनाए । मानव अधिकार तथा शान्ति समाजको आजीवन सदस्य, राप्ती बबई क्याम्पसको आजीवन सदस्य, भाग्य लक्ष्मी इन्भेष्टमेन्टको सञ्चालक समितिको सदस्य समेत रहेका भट्टले जीवनसाथी शीला शर्माको सहयोग, आमाबुवाको नैतिक शिक्षा, गुरू तथा मेरा साथीहरूको सहयोगले मेरो जीवनमा धेरै खुसीका क्षण ल्याएको बताए ।

उनले आफूलाई धेरै कुरा सिकाउने गुरूको रूपमा सुरेश हमाललाई सम्झिए । यातायात क्षेत्र, सामाजिक सेवा र राजनीतिमा समेत लागेका भट्टले आफूले सत्कर्म गर्न पाउँदा तथा अरुको भलो र बिहानदेखि साँझसम्म सबैको मन जितेर सेवामा लाग्न पाउँदा आफूलाई गौरव र आनन्दको अनुभूति हुने गरेको सुनाए । सल्यानमा जन्मिएर हाल तुलसीपुरलाई कर्मथलो बनाएका मिनकुमार भट्ट (प्रकाश) हाल त्रिशिद्धेश्वरी राप्ती यातायाता प्रालिका कल्याणकारी संयोजक तथा मनकामना टोल विकास संस्थाका अध्यक्षलगायत अन्य सामाजिक संघसंस्थामा आवद्ध छन् ।