नाराणप्रसाद श्रेष्ठ
प्राकृतिक सत्यको आधारमा निरन्तर घुमिरहने समयचक्रअनुसार जन्म, मरणको इतिहासमा बाँचेको मानव जीवन के हो ? यसको सार्थकता र सफलताको आधार के हुनसक्छ ? मानिस जन्मेपछि मर्नुपर्छ किन ? यसको सार्थकता र निराकरण कसरी सम्भव हुनसक्छ ? यस विषयमा विभिन्न विद्वान्का विभिन्नथरिका विचारहरु आएका छन् ।
प्रकृतिको नियममा उत्पत्ति हुने, नष्ट हुने र पुनः उत्पत्ति हुने नियम भएकोले कुनै पनि जीवको सुरु र अन्त्य हुने हुँदा मानव जीवन पनि जन्मने, मर्ने नियममा आबद्ध भएको हो भन्ने तर्क सुनिन्छ । शास्त्रीय मान्यताअनुसार यसलाई स्वीकार पनि गरेको देखिन्छ । अर्को कुरा जीवनलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा फरक–फरक विचार पनि संप्रेषण भइरहेका छन् । कसैले जीवनलाई कर्कलोको पातमा अडिएको पानीको थोपासँग दाँजेका छन् भने कसैले शृष्टिको रचनाकारको रुपमा प्रस्तुत गरेका छन् ।
कसैले जीवनलाई जन्म, मरणको साक्षीको रुपमा हेरेका छन् भने कतिपयले जीवनलाई सुख, दुःख, आरोह, अवरोहको सारथी मानेका छन् । वंशको इतिहास रच्न आएको तर्क कसैले गरेका छन् भने कसैले एकअर्काको सहयोग र सारथी मानेको पाइन्छ । महिला र पुरुषबीचको विषयवासनाबीच पनि संकेत गरेको पाइन्छ । विभिन्न सोच र चिन्तन बढाइ जीवनलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा फरक–फरक रुपले परिभाषित गरेको देखिन्छ । जीवनलाई आफूअनुकूल व्याख्या र विश्लेषण पनि गरेको देखिन्छ ।
हिजोदेखि वर्तमान समयसम्म जीवनलाई गुण र दोषको माध्यमबाट व्याख्या भइरहेको अवस्था पनि छ । यसरी गुण र दोषलाई आधार मानी जीवनबारे मूल्यांकन गरे पनि मानवीय मूल्य र मान्यतालाई व्यक्ति विशेषको स्वार्थले परिभाषित गरेको पनि पाइन्छ । आफूअनुकूल हुने गरी यसको महत्व र आदर्शलाई परिचित गराइँदैछ । यसरी विभिन्न पुरातात्विक खोज र अनुसन्धानबाट प्रमाणित भएको धारणामा समेत विविधता देखिन्छ । उनीहरुको विचारमा शरीर र आत्मा अलग हो भनी भनेको पाइन्छ भने कसैले जीवनलाई श्वासप्रश्वासतर्फ केन्द्रित गरी पहिचान गर्दै गरेको देखिन्छ ।
यसरी विविधतामा एकता कायम गर्ने हिसाबमा जीवनलाई प्राणवायुसँग जोड्दै हाडमासुको शरीरसँग दाँजेको पनि देखिन्छ । सबैले आ–आफ्नो तर्कअनुसार विचारहरु राखेको पाइन्छ । यति हुँदाहुँदै पनि एउटा सत्य सबैले स्वीकारेको अवस्था छ । जीवन छोटो छ र यो कुनै पनि बेला बिलाउनसक्छ । यो कुरामा सबै एकमत भएको देखिन्छ । मनलाई एकाग्र गराइ चिन्तन गर्ने हो भने हामीले करोडौँ रुपैयाँ खर्चेर बनाएको घर हाम्रो हो वा होइन ? हामी बस्ने घर हाम्रो डेरा हो वा के हो ? हामी दुईचार दिनको पाहुना त होइनौँ ? गम्भीर प्रश्न उठ्नसक्छ ।
जन्मँदा जति खुसी हुन्छन्, मृत्युवरण गर्दा तत्कालै घरबाट बाहिर निकाल्नुपर्ने कारण किन ? कतै हाम्रो जीवनको इतिहास पनि यसरी नै छुट्टिने किसिमले परिभाषित भएको त होइन ? सामाजिक, आर्थिक र राजनीतिक दृष्टिकोणले आफूलाई सम्पन्न ठानी सुविधासम्पन्न घर भाडामा लिइ बसेको व्यक्तिले जसरी एक दिन त्यो घर डेरा छोडेर पुनः उसले अन्यत्र बसोबास गर्ने व्यवस्था मिलाउँछ, त्यसरी नै जीवनले पनि आफ्नो रुप र कर्मलाई प्रकृतिको नियमानुसार परिवर्तन गर्दै शृष्टिचक्रको इतिहास लेखिँदै गरेको त होइन ?
नाङ्गै जन्मनु, नाङ्गै मर्नु यो प्रकृतिको नियम हो भने हामीले भौतिक संसारको चकाचौधमा तेरो र मेरो गरी धन, सम्पत्ति, वैभव, अहंकार, घमण्ड राख्नु किन ? तसर्थ, डेरा छोडेर अन्यत्र सरेझैँ व्यक्तिले पनि धन, सम्पत्ति, गरगहना केही नलगी संसार छोडेर जानुपर्ने सत्यलाई आत्मसात गर्नुपर्ने होइन र ? तर हामी भौतिक संसारका विषयवासनामा रुमलिएर आफूलाई सर्वेसर्वा ठान्छौँ किन ? मजस्तो ठूलो कोही छैन, मैले जे पनि गर्न सक्छु भन्ने अहंकार प्रदर्शन किन ?
डर, धम्की, त्रास देखाइ प्रकृतिको नियम र शास्त्रीय नियमलाई बदल्छु भनी घमण्ड किन ? तसर्थ, जीवनको यथार्थ सत्य बुझेर अघि बढ्नुपर्ने सत्य कहिल्यै भुल्नु हुँदैन । यति कुरा गरिरहँदा मर्नु सत्य हो भने केही पनि नगर्ने त ? ऋषिमुनिझैँ वनमा गएर तपस्या गर्नु, जङ्गली भएर बस्नु जीवन हो त ? भन्ने पनि प्रश्न उठ्नसक्छ तर सोचौँ जीवन छ भनेर जे मन लाग्यो त्यो गर्नु हुन्छ र ? कर्म नगर्ने भनेको होइन, गर्ने हो तर जीवनको आवश्यकता र समाजले पचाउन सक्ने सर्वमान्य कुरा गर्नुपर्छ ।
भौतिक विलाषी र विषयवासनाले परिपोषित भइ आफू र समाजलाई असर पु¥याउने कुनै पनि कार्य गर्नु मनासिव हुँदैन । जीवन छ त सबै छ । यो जीवन नै रहेन भने बाँकी के रह्यो र ? तसर्थ, जीवन के हो ? किन यो युगमा आएको हो ? जीवनले कुन पुरुषार्थ गरेर इतिहास रच्नसक्छ ? यो कुरालाई एकपटक सबैले सोच्नैपर्छ । त्यसको लागि आफूले आफैलाई विश्वास र भरोसायोग्य बनाउनुपर्छ ।
जीवनमा गर्न हुने र नहुने कर्मको भिन्नतालाई पहिचान गरी आफूलाई प्रस्तुत गर्नुपर्छ । अरुको लहलहैमा लागेर आफ्नो जीवनको उद्देश्य भुल्नु भनेको आफैलाई पतन गराउनु हो । मानवीय जीवन सामाजिक संस्कारअनुसार जन्मँदा र हुर्कँदा जुन आदर्श बोकेको हुन्छ, त्यही आचरण समाजमा स्थापित गलत संस्कृति र संस्कारले स्वार्थी र विलाषीतिर धकेल्न सक्छ । सत्य प्रवृत्तिभन्दा कुप्रवृत्तितिर आशक्ति जगाउन सक्छ । त्यसैले यो कुरा बुझ्न जरुरी छ ।
मानिसको चाहना सधैँभरि प्राप्तितिर दौडिरहन्छ । यस्तो संस्कृति र संस्कारलाई अँगाल्नु मानिसको जन्म भएको होइन । यो त केवल भौतिक विलाषीपनले मानिसको विचारलाई आकृष्ट गरेको मात्र हो । यस्तो प्रवृत्तिले मानिसको मन, बुद्धि र विवेकलाई शून्यमा झार्न सक्छ । जीवनलाई क्षणिकतातर्फ केन्द्रित गर्न सक्छ । त्यसैले कुप्रवृत्तिको कारणले हुने क्षतिको मूल्यांकन गरी मानवीय चिन्तनलाई सधैँ सत्प्रवृत्तितर्फ आकृष्ट गरिरहनुपर्छ ।
जीवन अमूल्य छ । यसको महत्व र विशेषतालाई जानेर वास्तविक धरातलमा रहेर नयाँ विचारको सिर्जना गर्न सक्नुपर्छ । जीवको सर्वोत्कृष्ट रचनामा रहेको मानिस बुद्धिजीवी र चिन्तनशील पनि हो । ऊ विचारवान् छ, सुख, दुःख, राम्रो, नराम्रो, लाभ, हानी सबै जान्दछ तर पनि सही गोरेटोको अभावमा दुष्कर्मतर्फ आफूलाई प्रविष्ट गराइरहन्छ । भौतिक सुखसुविधातिर लागी सधैँ आफूलाई उतारचढावको स्थितिमा दौडाइरहन्छ । त्यसैले यसतर्फ गम्भीर चिन्तन हुन जरुरी छ ।
जीवनमा समस्या धेरैपटक आउनसक्छ र जीवनले समस्या आफै सल्टाउँदै गएको पनि हुन्छ । तसर्थ, यस कुरालाई बुझी चिन्ता होइन चिन्तन गरौँ । जीवन तासको महल होइन, जो सामान्य हुरीले ढल्नसक्छ । जीवन त शतिसालको वृक्ष हो, जो सर्वगुण सम्पन्न भएर पृथ्वीमा आएको हुन्छ । फरक यसलाई बुझ्ने धारणा र व्यवहारमा भर परेको हुन्छ । यो कुरा स्वयम् मानिसले बुझ्नुपर्छ । जीवन प्रेरणा र उत्साहको स्रोत हो । यो जन्म, मरणको चक्रमा रहेर पनि अन्तरहृदयभित्र रहेको गुणलाई सामाजिक आदर्श र प्रतिष्ठासँग जोडेर अगाडि बढ्नसक्छ ।
असहायको सहाय भएर प्रस्तुत हुनसक्छ । त्यसैले जीवनको गतिशीलता र यसको उद्देश्य पहिचान गरी हिरातुल्य जीवनको महत्व बुझेर प्रत्येकले आफूलाई परिचालन गर्नु गराउनुपर्छ । अविश्वास, धोका, स्वार्थ र गलत आचरण दिगो र टिकाउ हुँदैन । यसले उसको चारित्रिक जीवनलाई नर्कतुल्य बनाउनसक्छ । त्यसैले यो कुरालाई बुझेर समयको गतिशीलतासँगै जीवनलाई उत्साह, उमंग र सधैँ सकारात्मक चिन्तनशील बनाइ अगाडि बढ्नु पर्छ । यो समयको माग हो ।