उपराष्ट्रपतिमा ४ उम्मेदवार

गोरक्ष समाचारदाता
काठमाडौं, २७ फागुन । मुलकको तेस्रो उपराष्ट्रपति चुन्नको लागि दलहरूले सनिवार उम्मेदवारी दर्ता गराएका छन् । उपराष्ट्रपतिको चुनाव चैत ३ मा तय गरिएको छ ।

१० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ भने एमालेबाट एक जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवको उम्मेदवारी दर्ता भएको हो ।

प्रमिलाकुमारी यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहनुभएको छ भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन छन् । त्यस्तै रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी हुनुहुन्छ भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी छन् ।

त्यस्तै १० दलीय गठबन्धनबाट नै जनमत पार्टीकी नेता ममता झाले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन् । गठबन्धनबाट उनले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी हुन् । उनको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा, रूपाकुमारी यादव रहेकी छिन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी छन् ।

नेकपा एमालेबाट भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छिन् । उनको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ छन् भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल छन् । निर्वाचन आयोगले शनिबारका लागि उपराष्ट्रपतिको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको छ । आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।