गोरक्ष समाचारदाता
दाङ, २७ फागुन । लुम्बिनी प्रदेश सरकारले करिब तीन वर्ष अघि प्रदेशकै नमुना रङ्गशाला बनाउने गरी दाङमा नेत्रलाल अभागी खेलकुद रङ्गशाला निर्माणको प्रक्रिया रोकिएको छ । स्थानीय सरकारले निर्माण गरेको गुरुयोजनामा काम सुरु भएको थियो तर पछिल्लो समय लुम्बिनी प्रदेश सरकारले गुरुयोजना अध्ययन गर्ने भनेपछि काम नै अघि बढ्न नसकेको हो ।
आर्थिक वर्ष २०७६÷७७ बाट निर्माण सुरु भएको रङ्गशालाको भौतिक प्रगति भने निराशाजनक छ । घोराही उपमहानगरपालिका वडा नं. १६ को करौतीडाँडामा नेत्रलाल अभागी खेलकुद रङ्गशाला निर्माण गर्ने गरी पहिलो वर्ष ५० लाख र दोस्रो वर्ष करिब एक करोड रूपैयाँ बजेट छुट्याएको थियो । उक्त रकमबाट रङ्गशाला निर्माणस्थलमा माटो कटान र फिलिङ गर्ने कामसँगै खोला तिरको भागमा वाल लगाउने काम भएको तर त्यसपश्चात बजेट नै आउन नसकेको नेत्रलाल अभागी खेलकुद रङ्गशाला निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष देउमन दमाईले बताएका छन् ।
‘सरकार फेरबदलसँगै रङ्गशाला निर्माणको काम रोकियो । अहिले रङ्गशाला निर्माणको काम अलपत्र छ’, रङ्गशाला निर्माण समितिका अध्यक्ष दमाईले भने, ‘सुरु भइसकेको काम रोकिँदा अहिले बन्छ कि बन्दैन भन्ने स्थानीयलाई आशंका उत्पन्न भएको छ ।’ नेत्रलाल अभागी रंगशालालाई प्रदेश सरकारले पञ्चवर्षीय योजनाका साथ सम्पन्न गर्ने गरी योजना बनाएको थियो तर सरकार फेरबदलसँगै रङ्गशाला निर्माणले प्राथमिकता पाउन नसक्दा अलपत्र परेको नेत्रलाल अभागी खेलकुद रंगशाला निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष दमाई बताउँछन् ।
रंगशाला निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७८ मा १ करोड रूपैयाँ विनियोजन गरे पनि प्रदेश सकारले बजेट रकमान्तरण हुँदा काम नै हुन सकेन । करिब २७ बिगाह क्षेत्रफलमा सुविधा–सम्पन्न प्रदेशकै नमुना रङ्गशाला बनाउने गरी गुरुयोजना समेत तयार पारिएको थियो । जसमा स्विमिङ पुल, फुटबल मैदान, भलिबल मैदानलगायत इनडोर खेलहरू समावेश गरिएको छ । प्रदेश सरकारले अघि सारेको योजनालाई पछिल्लो समय बेवास्ता गरिँदा रङ्गशाला निर्माणकै काम अलपत्र परेको स्थानीयको भनाइ छ ।
प्रदेश पूर्वाधार प्राधिकरणले भने रङ्गशाला निर्माणका लागि गुरुयोजनाको अध्ययन गर्ने काम सकिएकाले अब निर्माणको काम अघि बढ्ने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक छवि पोख्रेलकाअनुसार रङ्गशाला निर्माणका लागि अहिलेसम्म माटो फिलिङ गर्ने र रङ्गशालाको पश्चिमतिर वाल निर्माणको काम मात्रै भएको छ ।
‘रङ्गशाला निर्माणका लागि यस अघि स्थानीय सरकारले तयार गरेको गुरुयोजनाको थप अध्ययन गर्ने काम भइरहेको थियो । अब सकेर निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ’, कार्यकारी निर्देशक पोख्रेलले भने, ‘जसले गर्दा गुरुयोजना निर्माणको काममा केही ढिलाई हुनपुगेको थियो । अब निर्माणको काम अघि बढ्नेछ ।’ रंगशाला निर्माणका लागि प्राधिकरणले दुई करोड ४ हजार रूपैयाँमा टेण्डरको प्रक्रियालाई अघि बढाएको जनाएको छ ।
रङ्गशाला निर्माणका लागि करोडौँ रूपैयाँ विनियोजन हुने गरे पनि काम हुन नसक्दा रङ्गशाला निर्माणको भौतिक प्रगति भने हुन नसकेको स्थानीयबासी बताउँछन् । पाँच वर्षभित्र निर्माण सक्ने गरी सुरु भए पनि काम नहुँदा निर्माणमा ढिलाइ हुने भएको छ ।