गोरक्ष समाचारदाता
तुलसीपुर, २७ फागुन । सल्यानको कालिमाटी निवासी ७९ वर्षीय माण्डवी रानाको आँखा केही समयदेखि धमिलो बन्दै गएको थियो । एउटा आँखा शल्यक्रिया गरेकी उनको अर्को आँखाले कम देख्न थालेपछि समस्या भएको थियो तर उनले घरआँगनमै आँखाको मोतियाविन्दुको शल्यक्रिया निःशुल्क गर्न पाउँदा खुसी व्यक्त गरिन् ।
उनीजस्तै अर्का व्यक्ति सविन गौतमले पनि खुसी व्यक्त गरे । उनले घरआँगनमै निःशुल्क आँखाको शल्यक्रिया सेवा पाउँदा खुसी भएको प्रतिक्रिया दिए । ‘यो भन्दा पहिले अस्पतालमा आँखाको शल्यक्रिया गरेको थिएँ तर यो पटक यहीँ पाए, त्यो सेवा’, उनले भने ।
गौतमले आफूहरूले गाउँमै शल्यक्रिया सहितको आँखा उपचार सेवा पाएको भन्दै खुसी व्यक्त गरे । उनीजस्तै शिविरमा ९४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरिएको छ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको आयोजना तथा एनएबिपी आई–केयर नर्वेको आर्थिक सहयोगमा निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविर सम्पन भएको हो ।
सल्यानको कालिमाटीमा भएको शिविरमा ७ सय १८ जनाको आँखा चेक तथा ९४ जनाको मोतियाविन्दुका बिरामीहरूको शल्यक्रिया गरिएको दृष्टि विशेषज्ञ ओमप्रकाश यादवले जानकारी दिए । नेत्र विशेषज्ञ डा सुरेश रसाइली सहितका स्वाथ्यकर्मीले सेवा दिएको थियो । शिविरमा ४ सय २९ जानलाई चस्मा वितरण गरिएको थियो ।
त्यस्तै लमही आँखा अस्पतालको आयोजना तथा एनएबिपी आइ–केयर नर्वेको आर्थिक सहयोग तथा गढवा गाउँपालिका वडा नं. ८ को स्थानीय व्यवस्थापनमा कोइलाबास आँखा उपचार केन्द्रमा निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरमा २ सय ९१ जनाको आँखा जाँच गरिको छ भने १ सय ३० जना मोतियाविन्दुका बिरामीहरूको शल्यक्रिया भएको आपूर्ति व्यवस्थापन अधिकृत मिना थापाले जानकारी दिएकी छन् । नेत्रविशेषज्ञ डा. इप्सा भण्डारीको नेतृत्वमा गएको टोलीले सेवा दिएको थियो । सेवा दिने छिमेकी जिल्ला भारतबाट समेत बिरामी आएका थिए ।
शिविरमा एनएबिपी नर्वेका अन्तर्राष्ट्रिय डाइरेक्टर टार्जे बि इभर्शन, कार्यक्रम डाइरेक्टर मिस लिक्की तथा मिस इदा, मिस क्रिन्टिन, एनएबिपी, नेपालका प्रोजेक्ट म्यानेज सुरेखा गुरूङ, नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरी, उपसभापति रेशमबहादुर खड्का, सचिव सुरेन्द्रबहादुर खड्का, सहसचिव चिञ्जीवी रिजाल, प्रमुख प्रशासक शम्शेर थापा, राप्ती आँखा अस्पतालका प्रशासक किरण पौडेललगायतको सहभागिता थियो । सो अवसरमा दातृ निकायका, संघका पदाधिकारी सहित गाउँघरमै आफूहरूले विशेषज्ञ डाक्टरबाट निःशुल्क शल्यक्रिया शिविरका साथै आँखा जाँच गराउन पाएकोमा सेवाग्राहीहरूले खुसी व्यक्त गरेका थिए ।