गोरक्ष समाचारदाता
तुलसीपुर, २७ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले अब केही दिनमै कांग्रेस सरकारमा जाने बताएका छन् । उनले पछिल्लो समयमा राजनीतिले फेरि कोल्टे फेरेको भन्दै नेपाली कांग्रेका नेताहरूको दूरदृष्टि र धीरताले उपलब्धिपूर्ण नजिता अहिले हासिल गर्न सफल भएको बताए । नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ (ख) को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै गिरीले यस्तो बताएका हुन् ।
‘लोकतन्त्र, अखण्डता राष्ट्रियता र गणतान्त्रिक संविधानको रक्षा अब हुनेछ, नेपालका तेस्रो राष्ट्रपति रामचन्द्र पौडेल विभिन्न चेलखेल भए पनि निर्वाचित हुन सफल हुनुभएको छ’, उनले भने, ‘राजनीतिमा निष्ठा त्याग हुनुपर्ने भन्दै गिरीले राजनीतिमा तीता–मीठा कुरा हुने बताए । उनले हिजोका तीता–मीठा कुरालाई भुलेर कांग्रेसको संगठनलाई कसरी बजबुत गराउन सकिन्छ, त्यसतर्फ लाग्नुपर्ने बताए । ‘कांग्रेस जिम्मेवारी पाटीहो अब कांग्रेसले नै देशको विकास र निकास दिन्छ’, उनले भने ।
केन्द्रीय सदस्य गिरीले वडा, गाउँदेखि केन्द्रसम्म सबै जिम्मेवार भएर अग्रजको सम्मान युवा र सबै वर्गलाई समेटेर अगाडि बढ्नुपर्ने बताए । उनले पछिल्लो समयमा वैकल्पिक राजनीतिक दलहरूले पनि धेरै भोट आएको भन्दै त्यसमा सजक हुनुपर्ने बताए । नेपाली कांग्रेस दाङ क्षेत्र नं ३ (ख) सभापति खिमबहादुर वलीको सभापतित्व एवं केन्द्रीय सदस्य गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले समग्र दाङको विकासका लागि आफूले भूमिका खेल्ने बताए । ‘अब कांग्रेस सरकारमा जाँदैछ, म मन्त्री हुँदा नहुँदा भए पनि न भए पनि यो दाङको विकासका लािग म लाग्ने छु, गठबन्धनको सरकार छ’, उनले भने ।
कार्यक्रममा संविधानसभा सदस्य बुद्धिराम भण्डारी, लुम्बिनी प्रदेशका निवर्तमान सांसद शंकर गिरी, नेता महादेव शाह, नेता केशव आचार्यलगायतले कांग्रेसलाई संगठित गरेर अगाडि बढ्नुपर्ने बताए । त्यस्तै नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगी, क्षेत्र नं ३ का सभापति जगतबहादुर खड्का, दलित संघ लुम्बिनी प्रदेश सभापति जोगेन्द्र विश्वकर्मा, महाधिवेशन प्रतिनिधि देविका नेपाली, सुशीला आचार्य, तरुण दल दाङका अध्यक्ष टीका घर्ती, महाधिवेशन प्रतिनिधि शुष्मा गिरी, टोपबहादुर केसी, नेपाली कांग्रेस दाङका सचिव बालिका लम्साल, क्षेत्र नं ३ क का सभापति देबेन्द्र रिजाल, नेपाली कांग्रेस दाङका पूर्व सहसचिव सुरेन्द्र खड्का, सदस्य गेहेन्द्र वली, पद्मा चौधरी, दङ्गीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, बबई गाउँपालिका अध्यक्ष कूलबहादुर खत्रीलगायतले लोकतान्त्रिक पार्टीको विधि र विधानअनुसार पार्टीलाई चलायमान बनाउनुपर्ने बताएका थिए । उनीहरूले पार्टी भित्रका आन्तरिक समस्यालाई समाधान गर्न ऐक्यबद्ध भएर जानुपर्ने भन्दै संगठन निर्माणको अभियानमा जुट्नुपर्ने बताएका थिए ।
कार्यक्रममा शान्तिनगर गाउँपालिकाका प्रमोद बस्नेतले नेपाली कांग्रेसभित्र आक्रमण बढेको भन्दै व्यक्तिभन्दा संगठनलाई बचाउनपुर्ने बताए । शान्तिनगर गाउँपालिका सभापति झलक केसीले पार्टीलाई सुदृढ गराउन पार्टीलाई चलायमान बनाउन यस्ता सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । नेपाली कांग्रेस बबईका सभापति प्रकाश बस्नेत, क्षेत्रीय प्रतिनिधि सितारा नेपाली, पूर्व जनप्रतिनिधि जनादर्न शर्मा, तरुण दल दाङका सदस्य पारस डाँगीलगायतले बोलेका थिए । सांगठनिक प्रतिवेदन सचिव लेवाराम आचार्य, आर्थिक प्रतिबेदन कोषाध्यक्ष टोपेन्द्रा खड्काले प्रस्तुत गरेका थिए भने पूर्व जनप्रतिनिधि, विभिन्न नेतागणहरूलाई सम्मान गरिएको थियो । उपसभापति फर्साराम डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव भद्रबहादुर खड्काले गरेका थिए ।