नेपाल र भारत दुबै देशमा लकडाउन तत्काल नहट्ने संकेत
दाङ चैत २९ । खुला सिमाले बिभाजित नेपाल र भारत दुबै देशले कोरोनाका बिरुद्धको लडाईंका लागि लकडाउनको अबधी बढाउने तयारी गरिरहेका छन् । दुबै देशका प्रधानमन्त्रीले लकडाउन लम्बिने संकेत गरिरहेका छन् । यस्तो संकेतले नागरिकहरु लकडाउनका लागि मानसिक रुपमा तयार होउन् भन्ने दुबै देशका सरकारहरुको चाहना खेखिएको छ ।
खासगरी भारतमा संक्रमीको संख्या बढ्दै गएको देखिएपछि खुला सिमानाका कारण नेपालले सतर्कता अपनाउन लकडाउनलाई निरन्तरता दिन बाध्य हुनु पर्ने अबस्था छ । बिश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार यो समाचार तयार गरुन्जेलसम्म भारतमा कोरोनाका कारण २ सय ४९ जनाको मृत्यु भैसकेको छ भने संक्रमीको संख्या ७ हजार ६ सय रहेको छ । नेपालमा भने ९ जनामा संक्रमण देखिएको र त्यसमध्य एक जना उपचारपछि निको भएर फर्किसकेको अबस्था छ ।
नेपालमा कोराना देखिएका मध्य ८ जना बिदेशवाट आएकाहरु हुन् भने एकजना बिदेशबाट आएकाको परिवारका सदस्य हुन् । यस्ले पनि लकडाउन नेपालका लागि अनिवार्य झैं हुनपुगेको छ ।
आज शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीहरुसंग भिडियो संवाद गरेर केही दिन लकडाउन लम्बिन सक्ने भन्दै त्यसै अनुसार तयारी गर्न भनेका छन् ।
कुराकानीका क्रममा उनले लकडाउन तत्काल अन्त्य नहुने बताएका छन् । संक्रमण फैलिन नदिन सबै सचेत हुनु पर्ने भन्दै उनले नरम बनेर लापरबाही नगर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन् । उनले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै लकडाउन खुला गर्ने निर्णय हुन नसक्ने बताए । मुख्यमन्त्रीहरुलाई उनले सिमानामा कडाई गर्न पनि भनेका छन् ।
उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि त्यहाँका मुख्यमन्त्रीहरुसंग संवाद गरेर लकडाउन लम्वाउने निर्णय गर्दै गरेको जानकारी दिएको समाचार आएको छ । दबै देशमा बैशाख ३ सम्मका लागि लकडाउन घोषणा गरिसकिएको छ र दुबै त्यस पुःन लकडाउनको समयाबधी बढाउने गृहकार्यमा छन् ।
