calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

नेपालले पिएनजीलाई दियो २९८ रनको कीर्तिमानी लक्ष्य

काठमाडौं,२५ फागुन । एक दिवसीय क्रिकेट इतिहासमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई २९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पिएनजीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ५ बल खेल्न बाँकी छदा २९७ रनमा अलआउट भयो।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो। यसअघि नेपालको उच्च स्कोर २८७ रन थियो। नेपालले फागुन पहिलो साता त्रिवि मैदानमै नामिबियाविरुद्ध २८७ रन जोडेको थियो। २ विकेटको जित हात पारेको नेपालले लक्ष्य पछ्याउने क्रममा सो रन बनाएको थियो।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आशिफ शेखले शतक प्रहार गरे। उनले ११० रन बनाउने क्रममा १२ चौका र २ छक्का प्रहार गरे। उनको यो पहिलो एकदिवसीय शतक हो।

खेलमा नेपालले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ११० को साझेदारी गर्‍यो। नेपालले ओपनर कुशल भुर्तेललाई १८।४ ओभरमा गुमायो। ४५ रनमा आउट भएका कुशलले ५६ बल खेलेर ६ चौका हिर्काए।

नेपालले बाँकी ३० रन बनाउदा थप दुई विकेट गुमायो। कुशल मल्ल २१ ओभरको अन्तिम बलमा २ रनमै आउट हुँदा ज्ञानेन्द्र मल्ल २५ ओभरको अन्तिम बलमा ११ रन बनाएर आउट भए।

कप्तान रोहित पौडेलले ३० रन जोड्दा दिपेन्द्रसिंह ऐरीले ७ रनको योगदान दिए। आरिफ शेख १३ बलमा १५ रन बनाएर आउट भए। करण केसी ६ बलमा ८ रन जोडेर आउट भए भने सन्दीप लामिछानेले ७ रन बनाए।

भीम सार्की ३८ बलमा ४४ रन बनाए भने सोमपाल कामी ४ रनमा नटआउट रहे। बलिङमा पिएनजीका सेमो कामियाले ५ विकेट लिए। उनले ९।१ ओभरमा ३८ रन खर्चिए।

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग(२ को अन्तित सिरिज हो। यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण सावित हुनेछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका चार मध्ये दुई खेल जिते नेपालको लिग २ बाटै एकदिवसीय मान्यता जोगिनेछ। चारै खेलमा हात पारे नेपालले लिग(२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।

सिरिजमा नेपालले अब फागुन २८ मा युएई, फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ। लिग २ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग(२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्। तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ।

पाँचौ स्थानको नेपालले ३२ खेलबाट ३२ अंक जोडेको छ। युएई ३२ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ। पुछारको ‍पिएनजीको ३२ खेलबाट ९ अंक छ।