स्ववियु निर्वाचनले क्याम्पसहरूमा बढाएको चहलपहल

गोरक्ष समाचारदाता
दाङ, २२ फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनले क्याम्पसहरूमा विद्यार्थीको चहलपहल बढेको छ । स्ववियु निर्वाचन आउन दुई साता मात्रै बाँकी रहँदा सरकारी तथा सामुदायिक क्याम्पसहरूमा विद्यार्थी संगठनले आन्तरिक तयारीदेखि प्रचारप्रसारको कार्यलाई तीव्रता दिएका छन् । आगामी चैत ५ गतेलाई तोकिएको स्ववियु निर्वाचनलाई लक्षित गरी विभिन्न पार्टीका भ्रातृ विद्यार्थी संघसंगठन तथा समूहहरू स्ववियु निर्वाचनमा होमिएका हुन् ।

स्ववियु निर्वाचनका लागि घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसमा ११ वटा विद्यार्थी संगठन तथा विद्यार्थी समूहहरू दर्तासँगै प्रचारप्रसारको कार्यलाई अघि बढाएका छन् । स्ववियु निर्वाचन कार्यतालिकाअनुसार आइतवार मतदाता नामावली प्रकाशन गरिएको छ । जसअनुसार घोराहीको महेन्द्र बहुमुखी क्याम्पसबाट स्ववियु निर्वाचनमा ५ हजार सात सय ४८ जना विद्यार्थीले मतदान गर्नेछन् ।

स्ववियु निर्वाचनका लागि महेन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल विद्यार्थी संघ (क्रान्तिकारी)लगायतका ११ विद्यार्थी संगठन तथा समूहहरू दर्ता भएका छन् । दर्ता भएका अन्य संघसंगठनहरूमा अनेरास्ववियु (छैठौँ), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, स्वतन्त्र विद्यार्थी समूह, अनेरास्ववियु (क्रान्तिकारी) बैद्य, अखिल (क्रान्तिकारी) ‘विप्लव’, अनेरास्ववियु छैठौँ (क्रान्तिकारी) संयुक्त, स्वतन्त्र प्रगतिशील विद्यार्थी समूह र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (नेकपा एस) रहेका छन् ।

स्ववियु निर्वाचन हुने क्याम्पहरूमा विद्यार्थी संगठन तथा समूहरूले ंसंघ दर्तादेखि सम्पर्क कार्यालय स्थापना गरेर प्रचारप्रसारका कार्यदेखि निर्वाचनका लागि उम्मेदवार चयनमा जुटेका छन् । दाङमा त्रिभुवन विश्वविद्यालयको आंगीक महेन्द्र बहुमुखी क्याम्पस, सम्बन्धन प्राप्त राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुर, देउखुरी बहुमुखी क्याम्पस लमही र ऐरावती आदर्श बहुमुखी क्याम्पस भालुवाङलगायतका अन्य क्याम्पससँगै नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय विद्यापीठ बिजौरी, जनता विद्यापीठ क्याम्पस बिजौरी र केन्द्रीय आयुर्वेद क्याम्पस बेलझुण्डीलगायतका क्यापसहरूमा विगत १४ वर्षपछि स्ववियु निर्वाचन हुन लागेको छ ।

करिब डेढदशकपछि हुन लागेको स्ववियु निर्वाचनको तयारीमा नेपाल विद्यार्थी जुटेको नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कूलराज पोख्रेलले बताए । स्ववियु निर्वाचन हुने क्याम्पसहरूमा सम्पर्क कार्यालय स्थापनासँगै नेविसंघको पक्षमा माहोल सिर्जना गर्न विद्यार्थीहरू प्रचारप्रसारसँगै उम्मेदर छनोटको काम भइरहेको अध्यक्ष पोख्रेलले बताए ।

‘स्ववियु निर्वाचनको मिति नजिकिएसँगै क्याम्पसहरूमा प्रचारप्रसारदेखि उम्मेदवार छनोटको काम भइरहेको छ’, नेविंसघ दाङका अध्यक्ष पोख्रेलले भने, ‘अहिले संगठन दर्ता गरेर प्रचारप्रसारमा छौँ, छिट्टै उम्मेदवारको टुङ्गो लगाउँछौ ।’ जिल्ला अध्यक्ष पोख्रेलले स्ववियु निर्वाचनलाई लक्षित गरेर क्याम्पसहरूमा विद्यार्थी भेलाको आयोजना गरेर स्ववियु निर्वाचन लक्षित प्रशिक्षणको कार्यक्रम समेत गरिएको बताए । उनले अब २७ गते उम्मेदवारी दर्ताका लागि सबै क्याम्पसहरूमा उम्मेदवारको टुङ्गो लगाउने तयारीमा नेविसंघ भएको समेत बताए ।

लामो समयपछि हुन लागेको स्ववियु निर्वाचनको तयारीलाई लिएर अनेरास्ववियु दाङले पनि तयारी तीव्र बनाएको छ । त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्विद्यालयअन्तर्गतका स्ववियु निर्वाचन हुने सबै संगठनहरूमा संगठन दर्ता गरेर प्रचारप्रसार, निर्वाचन लक्षित प्रशिक्षणदेखि उम्मेदवार चयनको तयारीमा जुटेको अनेरास्वियु दाङका अध्यक्ष गोविन्द बस्नेतले जानकारी दिएका छन् । ‘स्ववियु निर्वाचनलाई लक्षित गरेर प्रचारप्रसार, जिल्ला स्तरीय विद्यार्थी प्रशिक्षण कार्यक्रमसँगै उम्मेदवार छनोटको तयारीमा लागेका छौँ’, अध्यक्ष बस्नेतले भने, ‘त्यसका लागि संगठनमा आन्तरिक छलफलसँगै क्याम्पसमा पनि तयारी भइरहेको छ ।’ उनकाअनुसार अनेरास्ववियु दाङले जिल्लाका २५ वटा क्याम्पसहरूमा संगठन दर्ता गरेको छ ।

स्ववियु निर्वाचनको मिति नजिकिँदै गर्दा क्याम्पसहरूमा स्ववियु निर्वाचनको तयारीलाई अघि बढाइएको अनेरास्ववियु (क्रान्तिकारी) दाङका जिल्ला संयोजक गिरबहादुर महराले बताएका छन् । त्रिविको आंगीक र सम्बन्धन प्राप्त क्याम्पसहरूसँगै नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेका क्याम्पसहरूमा संगठन दर्ता गरेर स्ववियु निर्वाचनको तयारीमा जुटेको बताए । ‘महेन्द्र बहुमुखी क्याम्पससहित जिल्लाका २४ वटा क्याम्पसहरूमा स्ववियु निर्वाचनका लागि संगठन दर्ता गरेर तयारीमा जुटेका छौँ’, जिल्ला संयोजक महराले भने, ‘केही सरकारी तथा केही सामुदायिक क्याम्पसहरू रहेका छन् । ती क्याम्पसमा प्रचारप्रसारको कामदेखि संगठनका पक्षमा माहोल सिर्जना गर्ने काम भइरहेको छ ।’

जिल्ला संयोजक महराकाअनुसार महेन्द्र क्याम्पसमा सम्भवत सोमवार उम्मेदवारी घोषणा गर्ने तयारीमा छ । यसैगरी अन्य विद्यार्थी संघसंगठनदेखि स्वतन्त्र विद्यार्थी समूहहरूले समेत स्ववियु निर्वाचन हुने क्याम्पसमा निर्वाचनको तयारीलाई तीव्र पारेका छन् । अधिकांश क्याम्पसहरूमा ६ देखि ११ वटा विद्यार्थी संघसंगठन तथा विद्यार्थी समूह दर्ता भए पनि मुख्य प्रतिस्पर्धा प्रमुख दलका भ्रातृ विद्यार्थी संगठनबीच हुने अनुमान गरिएको छ ।