विमल योगी
दोलखा,२१ फागुन । दाङबाट सहकारी अवलोकनमा लागि पूर्वि नेपालका विभिन्न जिल्लामा पुगेको कलश बचत तथा ऋण सहकारी संस्थाले आज जिल्ला सहकारी संघ दोलखासंग अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
देशका विभिन्न जिल्लामा रहेका ठुला र राम्रा सहकारी संस्थाले गरेका कामको अवलोकन गरि सिकाई आर्जन गर्ने उदेश्यले आयोजित भ्रमणका क्रममा उक्त सहकारी संघसंग कार्यक्रम गरिएको हो । सो अवसरमा संघका अध्यक्ष हेमन्त चौलागाईले दोलखामा हाल करिव चार सय ५० वटा सहकारी संस्था रहेकोमा जिल्ला सहकारी संघमा चार सय आठ वटा आवद्ध रहेको जानकारी दिनुभयो । ती संस्थामा ७७ करोडको सेयर पुँजि र ६ अर्व बढिको बचत रहेको छ । भने ती संस्थाले १५ अर्व बढिको आर्थिक कारोवार गरिरहेका छन् ।
दुई लाख ७५ हजार सेयर सदस्य रहेका ती संस्थामा आठ सय जनाले प्रत्यक्ष रोजगारी पाएको उहाले बताउनुभयो । दोलखाका अधिकांश नागरिक सहकारीमा आवद्ध रहेको अध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।
सो अवसरमा संस्थाका व्यवस्थापक राज कुमार दाहालले जिल्ला सहकारी संघले जिल्लाको सहकारी सम्वन्धि सूचना एकीकृत गर्न सूचना डायरी प्रकाशन,स्थानिय वस्तुको प्रवद्धनका लागि त्यहा पाईने यार्सागुम्बा,किवि र सुन्तलाको कोशेली घर स्थापनाको तयारी गरिरहेको बताउनुभयो ।
कार्यक्रममा कलशका अध्यक्ष बालचन्द्र शर्माले कलश साकोस दाङले गरिरहेको कार्य र दाङ जिल्लाको भौगोलिक तथा पर्यटकिय क्षेत्रका वारेमा जानकारी दिदै सहकारीमा देखिएका आर्थिक तथा कानुनी समस्या र समाधानका लागि संस्थाले खेल्न सकिने भूमिकाका वारेमा धारणा राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघका महासचिव कृष्णप्रसाद दाहालले पनि बोल्नुभएको थियो । भ्रमण टोलिले दोलखाकै सवै भन्दा ठुलो सहकारी संस्था जनसचेतन साकोश चरिकोट सेवा केन्द्रको समेत अवलोकन गरेको थियो ।