गोरक्ष समाचारदाता
तुलसीपुर, २१ फागुन । तुलसीपुर क्षेत्रमा समाजसेवा, राजनीति र विकासका अनुयायी जयपृथ्वीबहादुर शाहको शुक्रवार उपचारका क्रममा निधन भएको छ । उनको शनिवार तुलसीपुर उपमहानगरपालिका शीतलपुरको बबई घाटमा अन्त्यष्टि गरियो । सयौँको सहभागितामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, क्षेत्रीय सभापति, नगर समितिका पदाधिकारी तथा अन्य राजनीतिक दलका नेता तथा सयौँ सामाजिक अभियन्ताहरू उनको अन्तिम श्रद्धाञ्जलीका लागि बबई घाट पुगेका थिए ।
उनका समकक्षी टीकाराम न्यौपानेकाअनुसार शाह जाजरकोटे राजाका सन्तान हुन् । तुलसीपुर बसाई सराईसँगै उनको तात्कालीन अञ्चलाधीशसँग सँगै बसेर काम गरेको अनुभव उनका समकक्षी टीकाराम न्यौपानेसँग छ । शाह अञ्चलाधीश कार्यालयमा रहँदा न्यौपाने राप्ती अञ्चल अदालतमा जागिरे थिए । विसं २०१९ सालदेखि सामिप्यता भएका न्यौपानेले शाहलाइ सामाजिक अभियन्ता, विकासप्रेमी अगुवा तथा धार्मिक आचरणका अनुयायीका रूपमा पनि स्मरण गर्दछन् । ‘हामीबीच विसं २०१८ सालदेखिको सामिप्यता थियो, धेरै वर्ष हामीले सहकार्य ग¥यौँ’, समकक्षी न्यौपानेले भने, ‘उहाँको प्रेरणाले हामीले तुलसीपुरमा एउटा सामाजिक सद्भाव कायम गर्न सक्यौं ।’
न्यौपानेकाअनुसार तात्कालीन अञ्चलाधीशका विश्वास पात्र समेत रहेका शाह खरिदारसम्मको पदमा रहेर अञ्चलाधीश कार्यालयमा काम गरे । पछि निवृत्त हुँदा उनी अधिकृतसम्मको तहमा पुगेका थिए । पदमा रहँदा र नरहँदा पनि शाहको योगदानमा उत्तिकै सन्तुलन रहेको पनि न्यौपानेको स्मरण छ । शाह निवृत्त भएपछि विभिन्न संघसंस्था र टोल विकास संस्थाको अगुवाई पनि गरे । सनातन हिन्दू संस्कृतिको जगेर्नासँगै अद्वैत संस्थामा पनि शाहले कम्तिमा एकदशक निरन्तर नेतृत्व लिएर योगदान पनि गरे । ‘उहाँको निधनले मैले असल अनुयायी गुमाएको छु, उहाँको प्रेरणालाई सधैँ आत्मसात गर्ने छु’, न्यौपानेले भने ।
यसैगरी नेपाली कांग्रेसका पूर्व सभापति कीर्तिबहादुर खड्का पनि शाहका निकटका अनुयायी हुन् । पछिल्लो राजनीतिक परिवर्तन पछि शाह नेपाली कांग्रेसको निकट भएर आफूहरूलाई सामाजिक उत्प्रेरणा दिएको पनि निवर्तमान कांग्रेस सभापति खड्काले बताए । खड्का पनि शाहलाई अन्तिम श्रद्धाञ्जली दिन बबई घाट पुगेका थिए ।
बबई घाटमा अन्त्यष्टि हुँदा नेपाली कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी, जिल्ला सभापति शंकरप्रसाद डाँगी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, नेपाली कांग्रेस नेता केशव आचार्य, शंकर गिरी, प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, प्रदेश सभापतिहरू खिमबहादुर वली, देवेन्द्र रिजाल, महाधिवेशन प्रतिनिधिहरू बिमल रिजाल, टीका घर्तीलगायत उद्योगी व्यवसायी, अन्य राजनीतिक दलका नेतालगायत धेरै नेता कार्यकर्ताको सहभागिता थियो ।
यसैबीच एउटा सामाजिक अभियन्ता एवम् पछिल्लो समयमा नेपाली कांग्रेसका अभिभावकका रूपमा रहेका श्रद्धेय अभिभावक जयपृथ्वीबहादुर शाहको निधनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाइ मन्त्री दीपक गिरीले गहिरो शोक व्यक्त गरेका छन् । उनले शोक विज्ञप्ति जारी गर्दै अभिभावक गुमाएको पीडाले आफू मर्माहत भएको उल्लेख गरेका छन् । साथै उनले शोकसन्तप्त परिवारप्रति गहिरो सम्वेदना व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै उनको सबै क्षेत्रको योगदानको उच्च सम्मान व्यक्त गरेका छन् ।
यसैबीच नेपाली कांग्रेस नगर समिति, नेपाली कांग्रेस क्षेत्रीय समितिलगायतका विभिन्न संघसंस्थाले पनि शोक विज्ञप्ति जारी गरी शाहको निधनले समाजमा अपूरणीय क्षति पुगेको विज्ञप्तिमार्फत जनाएका छन् । शाहका चार छोरी र दुइ छोरा छन् । छोरा वीरेन्द्र शाह तुलसीपुर उपमहानगरपालिका–५ का वडाध्यक्ष हुन् भने छोरा ललित शाह तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष हुन् ।