शिवराज खनाल
लमही, २१ फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू इमानदार र त्यागी बन्न सक्नुपर्ने बताएका छन् । लमहीमा नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले शनिवार गरेको प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सहमहामन्त्री राठौरले नेपाली कांग्रेस लामो इतिहास बोकेको पार्टी भएको भन्दै उनले पार्टीको इतिहासलाई कायम राख्दै प्रमुख पार्टी बनाउनका लागि पार्टीका नेता तथा कार्यकर्ताहरू इमानदार र त्यागी बन्नुपर्ने बताए ।
‘लामो इतिहास बोकेको पार्टी कांग्रेस भए पनि पछिल्लो समय पार्टी कमजोर बनेको छ’, उनले भने, ‘कांग्रेसलाई बलियो र प्रमुख पार्टी बनाउनका लागि नेतादेखि कार्यकर्ताहरू सच्चिन आवश्यक छ ।’ दाङ नेपाली कांग्रेसको स्व नेता खुमबहादुर खड्काको क्षेत्रसँगै उर्वर भूमि भएको भन्दै कांग्रेसको उर्वर भूमिलाई बचाइराख्न सबै लाग्नुपर्ने बताए । उनले नेताहरू जनताका कुरा सुन्ने र समाधानका लागि लाग्नुपर्ने समेत बताए । ‘नेताका पछि लागेर पार्टी बन्दैन, पार्टी बनाउन नेताहरू जनताको घरघरमा जानुपर्छ । पार्टीको तल्लो कार्यसमिति लाग्नुपर्छ’, उनले भने, ‘त्यसका लागि पार्टीमा पद बोकेका हरेक नेता लाग्नुपर्छ । पदमा बसेर भलाद्मी बन्नु हुँदैन ।’ उनले कांग्रेस भलाद्मी नेताबाट नबन्ने समेत बताए । उनले पार्टीमा पुस्तान्तरणको आवश्यकता रहेको समेत बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले नेतृत्व लिनखोज्नेले संगठन निर्माणमा ध्यान दिनुपर्ने बताए । उनले राजनीतिक संसद् र मन्त्री बन्नका लागि मात्रै नभएर देश र जनताको मुहार फेर्न पनि गर्नुपर्ने बताए । ‘राजनीति सामाजिक सेवाका लागि हो । सेवाको भावनाबाट राजनीति गर्नुपर्छ’, उनले भने, ‘पदमा पुग्नका लागि मात्रै हो भने गर्नु हुँदैन ।’ कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले संगठन निर्माणमा गम्भीर बन्नुपर्ने बताए । उनले निर्वाचनका क्रममा तातिने तर निर्वाचन पछि सुस्ताउने नेता तथा कार्यकर्ताबाट पार्टी नबन्ने बताए ।
यसैगरेर केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पार्टी निर्माणका लागि सबै नेता तथा कार्यकर्ता इमानदार रूपमा लाग्नुपर्ने बताए । नेतादेखि कार्यकर्ताहरू इमानदार नबन्दा पार्टी कमजोर स्थितिमा पुगेको भन्दै उनले पार्टीलाई संगठित बनाउन विगतका तीता–मीठा कुरा भुलेर लाग्नुपर्ने बताए । उनले संविधान र उपलब्धिप्रतिको खतरा अहिले पनि रहेको भन्दै उपलब्धिको रक्षा गर्दै बचाउनका लागि सबै लाग्नुपर्ने बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताले देशको परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको नेपाली कांग्रेस पार्टी पछिल्लो समय आन्तरिक घात–प्रतिघातका कारण कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
जनताप्रति भरोसा भए पनि नेताहरूको आन्तरिक द्वन्द्वका कारण स्थानीय तह निर्वाचनमा धेरै ठाउँमा पार्टी पराजित हुनुपरेको बताएका थिए । नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगी, पूर्व जिल्ला सभापति मोहनलाल वली, पूर्व सांसद सुशीला चौधरी, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक जन्मजय तिमिल्सिना, पूर्व क्षेत्रीय सभापति बासुदेव जंगली, नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का, महाधिवेशन प्रतिनिधि जानकीलाल बस्नेत नेपाली कांग्रेस गढवा गाउँपालिका–६ का वडा सभापति हुकुमराज यादव, भूमि अधिकार मञ्चका केन्द्रीय कार्यवाहक अध्यक्ष मेघबहादुर बिसी, मुस्लिम संघका केन्द्रीय सदस्य नवाफ अली, जिल्ला समन्वय समिति दाङका सदस्य कूलबहादुर बुढा, लुम्बिनी प्रदेशका प्रदेश सदस्य श्यामु सुनारलगायतका नेताहरूले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको विषयवस्तुमाथि नेपाली कांग्रेस दाङ क्षेत्र नंं १ का सभापति भेषराज पाण्डेले प्रकाश पारेका थिए । १४औँ महाधिवेशनपछि पार्टीले गरेका कामकारबाहीका बारेमा वार्षिक प्रतिवेदन क्षेत्रीय सचिव खेमराज चौधरीले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव हरिहर शर्मा घिमिरेले गरेका थिए ।