नेतृत्वकर्ता दलहरू सबै एउटै प्रवृत्तिका

सुभाष न्यौपाने
जोडिनु नै थियो भने किन हिजो टुटायौ त ?
पुस दशको सहमति फागुन दशमै छुटायौ त ?
जस्तो आँफू उस्तै च्यापू भन्ने उखान छ नि !!
त्यस्तै रैछन् ठूला दल भन्ने अभिभान छ नि !!

आज नै फेरि कांग्रेस माओवादीको समीकरण व्यूँताएर नयाँ थप दलहरुको साथ समर्थनमा अगाडि बढ्नुपर्ने थियो भने किन पुस १० मा भएको सहमति भत्कायौँ ? दुई महिना नबित्दै भत्किने थियो भने केको नयाँ सप्तरँगी समीकरण ? पछिल्लो समयमा आएर नयाँ तमासा सुरु भएको छ । राप्रपा र एमाले सरकारबाट बाहिरिएका छन् । यसै बीचमा प्रधानमन्त्री प्रचण्डले मौका छोपेर हिजो सशस्त्र युद्धको नाममा मारिएका उनका सबै लडाकु र जनमिलिसियाहरुलाई माला, टीका लगाउन पाउने गरी सहिद घोषणा गरेका छन् ।

ती लडाकुहरु एक ठाउँमा मान्छे मारेर आएर अर्काे ठाउँमा मारिएका पो हुन् कि ? उनीहरुले आक्रमण गरेर मारेका जति जनताका दुश्मन, उनीहरु मात्रै जनताका मान्छे हुन्छन् त ? जे होस् एउटै स्वभाव प्रचण्ड र शेरबहादुर फेरि सत्ताको एउटै डोरीमा बाँधिन पुगेका छन् । स्वार्थ स्वभाव मिलेकोले दुवै नेताहरु विगठनमा पुगेको छोटो समयमा फेरि गठन हुनपुगेका छन् । नीतिगत रुपमा हेर्ने हो भने दहाल र देउवाबीच मित्रता र दुश्मनीको सम्बन्ध निरन्तर रहँदै आएको छ । अरु जेसुकै कारण भए पनि शेरबहादुर र प्रचण्डलाई एकै ठाउँमा ल्याउने मुख्य आधार भनेको संक्रमणकालीन न्याय र शान्ति प्रकृयालाई पूर्णता दिनुपर्ने हो भन्ने पनि भनाइ छ ।

२०५८ सालमा माओवादी युद्धलाई मत्थर पार्न संकटकालको घोषणा गरेर सेना परिचालन गर्ने व्यक्ति हुन् भने शेरबहादुरको डडेलधुराको घर भएका व्यक्ति पनि प्रचण्ड हुन् । यी सबै समीकरणहरुका बावजुद पटक–पटक शेरबहादुर र प्रचण्डको साँठगाँठ हुनु पनि संक्रमणकालीन न्याय र शान्त्ति प्रक्रिया नै भएको पुष्टि भइरहेको छ । नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धन बिग्रिएपछि नेपाली कांग्रेसभित्र देउवाको आलोचना बढ्दै गएको अवस्थामा जसरी सप्तरँगी गठबन्धनमा जेलिएको प्रचण्डको सरकारलाई विश्वासको मत दिने जुन निर्णय गरे शेरबहादुरले त्यस दिनबाट शेरबहादुर र प्रचण्डबीचमा निकटता बढ्यो ।

विश्लेषकहरु भन्ने गर्छन्,– यी दुई नेताबीचको सम्बन्ध मेलमिलापको सम्बन्ध नभएर सत्ता स्वार्थमा आधारभूत सुरक्षाका निमित्त भएको बुझिन्छ । त्यसभित्र के–के कुराहरु लुकेका छन्, त्यो त समयले उजागर गर्नेछ । मुलुकमा जसरी अविश्वासको राजनीति मौलाइरहेको छ, जसले गर्दा आश्वासन र सहमतिका साथ गरिएको गठबन्धनलाई अब जानकारहरु कतै यो सहमति जाली तमसुक त होइन ? राष्ट्रपति निर्वाचनको लागि उम्मेदवारी परेपछि राजनीति अलि तातिँदै गएको छ भने सांसद र दलका नेताहरुबीच सम्वाद र तानातान पनि उत्तिकै बढ्दै गएको देखिन्छ । जति नेताहरुले आपसी सहमतिमा सहमति गरेको तथा सौहार्दपूर्वक गरिएको भनेर विज्ञप्ति निकाल्छन् र सार्वजनिक कार्यक्रममा बोल्छन् । पछिल्लो समयमा राष्ट्रपति निर्वाचनको मिति जति–जति नजिकिँदै गएको छ उति–उति प्रदेशदेखि संघीय संसदमा सत्ता र सदनमा उथलपुथल आइरहेको छ ।

राष्ट्रपतिमा उम्मेदवारी दिएको र आगामी गठन हुने सरकारमा सहमति हुने तथा हिजो सरकारलाई विश्वासको मत दिने दल नेपाली कांगे्रस तथा सरकारलाई विश्वासको मत दिदैँ सत्ता साझेदारी गरेर सत्ताबाट बाहिरिएको दल नेकपा एमाले जसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको छैन । यी दुवै दलले संसदको विपक्षी बेन्चमा बस्न पाउँ भन्दै संसद सचिवालयमा पत्राचार गरेका छन् । यो घटना दुवै राजनीतिक दलको लागि लाजमर्दो र हाँसोको विषय हो ।

हिजो नेपाली कांगे्रसले आफ्नो संसदको तर्फबाट सरकारलाई विश्वासको मत दिए पनि सरकारमा नजाने भन्दा अब नेपाली कांगे्रस सदनमा प्रतिपक्षी दल रहेन भनेर हाँस्ने नेकपा एमालेका नेतमहरु प्रचण्ड नेतृत्वको सत्तागमन गरेर बाहिरिए पनि उनीहरुले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएका त छैनन् नि ? उसले प्रतिपक्षको बेन्चमा बस्न पाउँ भन्दै दिएको निवेदन पनि हाँस्यास्पद हो । राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका संघीय तथा राष्ट्रिय सभाका सांसदलाई अभिमुखीकरण तथा प्रदेश सभाका सांसदहरुको अलग–अलग अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यी सबै गतिविधिहरु तमासैतमासाका उदाहरण हुन् । यस्तै–यस्तै कार्यहरु सदन र दलहरुले गरेका कारण पनि बेलाबखतमा भएका दलहरु बीचका सहमति कतै जाली तमसुक त होइनन् भन्ने आशंकापूर्ण विश्लेषण गरिएको छ ।

दुई महिना पहिले सहमति गर्न नसक्दा सबै भूमिकाबाट बाहिरिन पुगेको नेपाली कांग्रेसले तब मात्र चेत पायो अनि सरकारलाई विश्वासको मत दिने निर्णयमा पुग्यो र दियो पनि । सरकारलाई विश्वासको मत दिएपछि देउवा र दहाल बीचको सम्बन्धमा निकट्ता र विश्वास बढ्न थाल्यो भने आपसी भेटघाट र डिनर लन्च समेत सँगसँगै हुनथालेपछि ओलीजी अलि सशंकित भए । त्यसछि ओली–दहालबीच सम्वादमा कटुता र मनमा तिक्तता बढ्न थाल्यो ।

जसले गर्दा दहाल र देउवा बीचको सम्बन्धका निकट्ता बढ्दै जाँदा राष्ट्रपतिको निर्वाचनमा नेपाली कांगे्रसका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएपछि राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने दिन गत फगुन १३ गते दहाल र नेपाल स्वयम् रामचन्द्र पौडेलको प्रस्तावक समर्थकको रुपमा उपस्थित भएपछि नेकपा एमालेका सांसदहरु पार्टीको निर्णयअनुसार अपमानपूर्वक सरकारमा बसिरहनु उपयुक्त ठानेन् । त्यसकै कारण संयुक्त रुपमा राजिनामा प्रधानमन्त्री दहाललाई पेश गर्दै सरकारबाट बाहिरिएका थिए । अझै पनि नेपाली जनता भन्छन् कि राजनीतिक दलहरुले गरेको भद्र सहमति कतै साहुको घरमा गरिएको जाली तमसुकमा परिणत नहोस् ।

राष्ट्रपतिको निर्वाचनलाई लक्षित गर्दै आठ राजनैतिक दलहरुको नयाँ सत्ता समीकरण्को लागि सक्रिय देखिँदै गएका छन् । उनीहरुबीच बेला–बेलामा सम्वाद र सहमति पनि हुने गरेको नेताहरु बताउँछन् । यी जति नै सम्वाद र सहमति गरेका छौँ भनेर कुर्लिए पनि जनाले राजनैकि जोखिम घट्ला भन्ने विश्वास लिएका छैनन् । ०८९ को निर्वाचनमा संयुक्त रुपमा निर्वाचनमा सहभागी भएका दलहरु नेपाली कांगे्रस र नेकपा माओवादी क्रमशः पहिलो र तेस्रो भएका थिए । निर्वाचनको परिणाम आउनुभन्दा पहिले नै पञ्चामृत गठबन्धन कसरी भत्काउन सकिन्छ भन्ने ध्यानमा थिए ।

सोही अनुसार उनको रणनीति पनि पुस १० मा सार्थक हुनपुग्यो । त्यसपछि ओलीजी राजनैतिक दलहरु जो सरकारमा सहभागी थिए, उनीहरुको हाइकमाण्डको नेतृत्व गर्न पुुगे । त्यसपछि उनले आफू नेतृत्वको सञ्जाललाई क्रमशः उनले आफ्नो नियन्त्रणमा राख्ने रणनीति अनुसार अगाडि बढेको महशुस प्रधानमन्त्री दहाललाई भएपछि अलि झस्किन पुगे । उता शेरबहादुर देउवा नेतृत्वको राजनैतिक दल नेपाली कांगे्रस सरकारलाई विश्वासको मत दिएर निकट्ता बढिरहेको अवस्थामा सभामुख र राष्ट्रपतिको निर्वाचन अलि चासो दिएका थिए ।

भद्र सहमतिको नाममा पटक–पटक गरिएका तमासा र नाटकहरु अब बन्द गर्ने गर दलहरु । मुलुक आर्थिक राजनैतिक सबै तिरबाट विचलन हुँदै जाँदा पनि किन तिम्रो घैँटामा घाम लाग्दैन ? यदि यस्तै तमासे गतिविधिहरु राजनैतिक दलहरुबाट बढ्दै जाने हो भने अब नागरिक स्तरबाट तिमीहरुले गरेको सहमति र भद्रताको अवज्ञ नागरिक स्तरबाटै हुनेछ । त्यसपछि जोखिम राजनैतिक दलले र तिनका नेताहरुले व्यहोर्नुपर्नेछ । राष्ट्रिय सहमतिलाई राजनैतिक दलहरुले नै अपमानपूर्वक तरिकाले जनता सामू प्रस्तुत गरिरहेका छन् ।

त्यसको हेक्का उनीहरुलाई छ कि छैन ? राजनीतिक नेतृत्व गर्नेहरु हरेकको आ–आफ्नो सोचे र स्वार्थ छ । कोही मधेसको नारा लगाउँछन्, कोही खुम्बुवान र लिम्बुवानको नारा लगाउँछन् भने कोही थारु र जनजातिको नारा लगाएर सहमति खोज्छन् । यो भनेको विडम्बना हो । वादमाथि नै हरेक दर्शन का वादीहरुले घात गरेको यो मुलुकमा जनतालाई घात गर्दैनन् भन्ने विश्वास त जनतालाई पटक्कै छैन । अब सचेत भएर तिमीहरु सुध्रिन्छौ त ? सुध्रिउ होइन भने तिमीहरु उध्रिन्छौँै यो पक्का हो ।

प्रधानमन्त्री प्रचण्डले जसरी राष्ट्रिय एकता दिवस अर्थात पृथ्वीजयन्तीसँग जोडेर राष्ट्रिय जनयुद्ध दिवसमा बिदा दिने घोषणा गरेका छन्, त्यो विडम्बना हो । उनलाई सहिद बनाएर फेरि राष्ट्रको ढुकूटी दोहन गर्ने लक्ष्य लिएका छन् । यसमा नेपाली जनताको समर्थन छैन । उनले आफ्ना कार्यकर्तालाई राहत दिने उनका लडाकु र जनमिलिसिया युद्धबाट मारिएका र विस्थापित भएका नेपाली नागरिकले चाहिँ के पाउने ? सरकार बोल्नसकेको छैन । यसरी मुलुक आर्थिक संकटको भूमरीमा परिरहेको बेला पार्टीका कार्यकर्तालाई मात्र राहत हुने गरी सरकारले निर्णय गर्नु विल्कुल गलत हो । यदि सरकारको नेतृत्व गर्ने हो भने आम नागरिकलाई सम्बोधन गर्न सिक । होइन भने अर्को पटक अस्तित्वमा आउन गाह्रो पर्ला । तिमीले आफ्नो राजनैतिक औकातको आफै मूल्याङक्न गर्नुपर्छ ।