अमरराज आचार्य
दाङ, १८ फागुन । निर्माण व्यवसायीहरूले काम गरेको भुक्तानी समयमा पाउन समस्या भएको बताएका छन् । लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन् ।
निर्माण व्यवसायी महासंघका लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष सुरेश चन्दले निर्माण व्यवसायीहरूले गरेको कामको भुक्तानी पाउन समस्या भएको बताए । ‘काम गरेको भुक्तानी नहुँदा व्यवसायीहरूलाई धेरै समस्या भएको छ’, चन्दले भने, ‘राज्यले यस प्रकारको समस्या तत्काल सम्बोधन गर्नुपर्छ ।’
आफूहरू राज्यलेको नीति नियमअनुसार नै अगाडि बढेको भन्दै आफूहरूको समस्या समाधान राज्यले गरिदिनु पर्ने राज्यको दायित्व रहेको उनको भनाइ छ । ‘बजेट सुनिश्चिता नहुने समस्याले धेरै निर्माण व्यवसायीलाई समस्यामा पारेको छ’, चन्दले भने । निर्माण व्यवसायीहरू विभिन्न समस्याको कारणले अहिले नाजुक अवस्थामा रहेको समेत उनले बताए । विभिन्न कारणले काम ढिलाइ भएमा आफूहरूलाई सबै क्षेत्रबाट दबाब आउने गरेको तर आफूहरूको समस्या कसैले नबुझिदिने गरेको उनको भनाइ छ ।
लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष बलिभद्र रानाले समयमा निर्माण सम्पन्न गर्नु आफूहरूको दायित्व भएको बताए । तर विभिन्न समस्याका कारण आफूहरूले समस्या हुने गरेको उनको भनाइ छ । ‘गरेको कामको भुक्तानी नहुने समस्या रहेको छ अनि कसरी काम गर्न सकिन्छ’, उनले भने । काम निर्माण सकेपछि समयमै भुक्तानी पाउनुपर्ने समेत उनले बताए । देशमा स्थायी सरकार नहुँदा निर्माण क्षेत्रमा समेत असर पुगेको उनी बताउँछन् ।
देशको विकासको लागि स्थायी सरकार आवश्यक रहेको समेत उनले बताए । पछिल्लो समय कोभिड तथा आर्थिकमन्दीका कारण निर्माण क्षेत्रमा समेत असर पुगेको अध्यक्ष रानाले बताए । निर्माण व्यवसायी हरि श्रेष्ठले मूल्य वृद्धिले निर्माण क्षेत्रमा असर पुगेको बताए । ‘महँगीले ढाड सेकेर काम गर्न नसक्ने अवस्थामा पु¥याएको छ’, श्रेष्ठले भने, ‘केहीले गरेको गल्तीको कारण सबैलाई एउटै दृष्टिकोणले हेर्ने चलन र नागरिकले निर्माण व्यवसायीलाई नकारात्मक दृष्टिले हेर्ने गरेका छन ।’
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका खानेपानी, ग्रामीण सहकारी विकास मन्त्री चेतनारायण आचार्यले निर्माण व्यवसायीहरू इमानदारीका साथ काम गर्नुपर्ने बताए । अहिले निर्माण व्यवसायीहरूले इमानदारीका साथ काम नगर्दा धेरै आयोजनाहरू अलपत्र परेको समेत उनको भनाइ छ । राज्यले पनि आफ्नो तर्फबाट इमानदारी देखाउने बताए ।‘धेरै आयोजनाहरू अलपत्र हुँदा बजेट समेत फ्रिज हुने गरेको छ’, मन्त्री आचार्यले भने, ‘समयमा काम नहुँदा विकास निर्माण देश पछि पर्ने गरेको छ ।’
धेरै ठेक्का लिने काम नगरेर अलपत्र बनाउने काम हुने गरेको भन्दै यस प्रकारको कार्य रोक्न सबै मिलेर अगाडि बढ्नुपर्ने समेत उनले बताए । ‘काम नगर्न शक्ति केन्द्रमा धाउने प्रवृत्ति रहेको छ, यो रोकिनु पर्दछ’, मन्त्री आचार्यले भने, ‘यस प्रकारको प्रवृत्तिले विकास निर्माणमा प्रभाव पार्दै आएको छ ।’ निर्माण व्यवसायीहरूले काम गरेको रकम समयमा नै पाउनुपर्ने उनको भनाइ रहेको छ । राम्रो काम गर्नेलाई पुरस्कार दिने र नराम्रो काम गर्नेलाई ढण्डित गर्नुपर्ने उनले बताए ।
‘तपाइहरूको समस्याका बारेमा म जानकार छु, मेरो तर्फबाट हुने सहयोग रहन्छ’, आचार्यले भने । निर्माण व्यवसायीलाई खरिद ऐनको समस्या परेको भन्दै यसको संशोधनका लागि आफूले आप्mनो तर्फबाट भूमिका निर्वाह गर्ने बताए । ‘प्रदेश सरकारबाट हुनसक्ने संशोधन हुन्छ, केन्द्रका लागि पनि पहल गरिने छ’, उनले भने । लुम्बिनी प्रदेश सभाका सदस्य अर्जुन केसीले निर्माण सामग्री सहज रूपमा पाउने वातावरण हुनुपर्ने बताए । सहज रूपमा निर्माण सामग्री नपाउँदा निर्माण व्यवसायीहरूलाई काम गर्न समस्या भएको उनको भनाइ छ । ‘विकास निर्माणको काम समयम नै सम्पन्न हुन नसक्नुको दोष निर्माण व्यवसायीलाई मात्र दिएर हुँदैन, नेतृत्वले पनि लिनुपर्दछ’, सांसद केसीले भने ।
कार्यक्रममा निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष आङदोर्जी लामाले मुलुकमा यातायात व्यवसायीको खर्बौँ रूपैयाँ काम सम्पन्न गरिसक्दा पनि व्यवसायीहरूले नपाएको बताए । अधिवेशनमा महासंघका केन्द्रीय सदस्य बालाजी श्रेष्ठ, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, केन्द्रीय सदस्य अशोककुमार केसी, निर्माण व्यवसायी परिषद्का ओममणि लोहनी, केन्द्रीय उपाध्यक्ष रामजी पन्त, नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकी, माओवादी केन्द्रका विश्वराज आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा बर्दियाकी छोरी भनेर चिनिने कलाकार टीका जिसीले नृत्य प्रस्तुत गरेकी थिइन् । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको छ । यसैबीच अधिवेशनमा गोरक्षकर्मी खेमराज रिजाल सहित पत्रकारहरू सन्तोष खनाल, गणेश वली र दीपक जिएम सम्मानित भएका थिए । कार्यक्रमको सहजीकरण शशि शर्मा मज्गैयाँले गरेका थिए ।