विद्यार्थीहरूलाई सिकाउन पाउँदाको खुसी …

खाली समयमा करेसाबारीमै व्यस्त हुन्छन्, उनी । उनको रुची पनि माटोमा पसिना बगाउने हो । बाबाआमालाई काममा सघाउँदा औधि खुसी हुने उनी बताउँछन् । आफ्नै परिवारसँग रमाउँदै दिनहरू बिताउन पाउँदा खुसी रहेको उनले बताए ।

वि.सं. २०५१ साल असार २४ गते दंगीशरण गाउँपालिका–५ खलुवाचिसमा जन्मिएका अर्जुन गिरी अहिले शिक्षक पेसामा व्यस्त छन् । करिब १२ वर्षदेखि शिक्षण पेसामा संलग्न गिरी मेरीगोल्ड बोर्डिङ स्कूल, ग्रेट अरनीको बोर्डिङ स्कूलका साथै मावि दोघरेमा समेत अध्यापन गर्छन् । यो भेटमा उनले भने, ‘मलाई शिक्षक पेसा औधि मन पर्छ ।’ उनी आफू खुसीका साथ विद्यार्थीहरूलाई सिकाउन पाउँदा आनन्दको अनुभूति हुने गरेको बताउँछन् । ‘मेरो पहिलो खुसी भनेकै शिक्षाको ज्योति फैलाउनु हो’, गिरी भन्छन् ।

विज्ञान शिक्षक गिरीले ग्रेट अरनीकोबाट विशिष्ट श्रेणीमा एसएलसी पास गरेका गिरी डाक्टर पढ्न चाहन्थे । आर्थिक अवस्था कमजोर भएका कारण उनको डाक्टर बन्ने रहर पूरा नभएको उनी बताउँछन् । आफूले चाहेको पढ्न नपाएपछि विदेश जाने र आर्थिक अवस्था बलियो बनाउने रहर पनि समयमा भिसा नआएर पूरा नभएको उनी बताउँछन् । त्यसपछि उनले शिक्षाको ज्योति बाँड्न पाउँदा आन्द लाग्ने गरेको बताए ।

घोराहीको गोर्खा बोर्डिङ स्कूलबाट प्लस–टु गरेका अर्जुन अहिले चितवनको काबासोती लुम्बिनी आदर्श डिग्री कलेजबाट मास्टर्स गरे । समयले आफूलाई शिक्षक पेसातिर तानेको बताउने गिरी बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्यार्थी पढाउनमै समय बित्ने गरेको बताए । कक्षा कोठामा प्रवेश गरेर शिक्षाको ज्योति बाल्न पाउँदा भित्रैदेखि खुसी लागेर आएको उनी बताउँछन् ।

उनलाई पछिल्लो अवस्थामा विद्यार्थीहरूमा अनुशासनमा कमी आएको देख्दा भने दुःख लाग्ने बताए  । आजभोलि विद्यार्थीहरू मोबाइलमा व्यस्त हुने, बाबाआमाले पनि आफ्ना सन्तानलाई समय नदिएका कारण विद्यार्थी कमजोर हुँदै गएको उनी बताउँछन् । ‘विद्यार्थीको काम पढ्ने हो, अहिले विद्यार्थीहरू अलि अनुशासनमा छैनन्, शिक्षा दिन पाउँदा खुसी लागे पनि उनीहरू सही लाइनमा नलागे दुःख भने लाग्ने गरेको उनी भन्छन् ।

विद्यार्थीहरूमा विस्तारै गरी पढ्ने बानीमा पनि कमी आउँदै गरेको छ । अधिकांश अभिभावक र विद्यार्थीहरूको इच्छा नै विदेश जाने भएको देख्दा नरमाइलो लाग्ने गरेको गिरीले बताए । यसरी सबै युवा जनशक्ति विदेश जाने हो भने देशको अवस्था कस्तो होला भन्ने प्रतिप्रश्न गर्छन् ।
कलेजमा छिर्ने हो भने विद्यार्थीको संख्या न्यून छ । यसरी कलेज जान छोडेर विदेश जाने लहर बढ्दै जाने हो भने घरमा बुढा भएका बाबाआमा र विद्यालयमा शिक्षकहरू मात्र हुने दिन नआउला भन्न सकिन्न ।

आफूले शिक्षक पेसाबाट मासिक ६०÷७० हजार कमाउने गरेको बताउने गिरीले कृषि पनि मनपर्ने गरेको बताउँछन् । खेतबारीमा काम गर्दा शरीरलाई फाइदा हुने र आम्दानी पनि राम्रो हुने गरेको उनी बताउँछन् । स्कूल बिदा भएको समयमा ग्वाला जाने गरेका उनी बताउँछन् । बाख्रा, कुखुरा र भैँसी पालनबाट पनी राम्रै आम्दानी गरेको सुनाए । पढेको व्यक्तिले खेतबारीमा काम गर्नुहुन्न भन्ने सोचाइ गलत भएको उनी भन्छन् । हामीले कामलाई पूजा गर्नुपर्छ । माटोलाई संरक्षण गर्नुपर्छ, सधैँ असल कर्म गर्नुपर्छ भनेर विद्यार्थीलाई सिकाएको उनी बताउँछन् । ‘आफ्नै माटोमा खेल्न पाउँदा पनि म खुसी छु’, उनले भने ।

उनले आफ्नो घरपरिवारमा श्रीमती, बुबा, आमा सबै आफन्तहरूको सहयोग पाएको भन्दै आफू पारिवारिक रूपमा पनि खुसी भएको बताए । दंगीशरण गाउँपालिका–५ खलुवाचिस निवासी गिरी चारवटा शैक्षिक संस्थामा आबद्ध छन् । गिरीले आफूले समाज तथा अन्य सामाजिक सेवासँगै शिक्षाको उज्यालो ज्योति बाँड्न पाएकोमा खुसी व्यक्त गरे । उनले आफूले पढाएका विद्यार्थीहरू अहिले विभिन्न क्षेत्रमा रहेको भन्दै उनीहरूले सम्झँदा पनि खुसी मिल्ने गरेको बताए । उनले खुसी भनेकै आत्मसन्तुष्टि भएको सुनाए ।

‘जुन व्यक्ति जुन पेसामा छ, त्यसैमा रमाउनुपर्छ, त्यही नै जीवनको खुसी हो’, उनले भने । शिक्षक गिरीले आफू सानै उमेरदेखि शिक्षा क्षेत्रमा लागेको भन्दै आफू यही पेसामा खुसीका साथ काम गर्न पाएको भन्दै खुसी व्यक्त गरे । सहज, मिजासिला र कर्ममा विश्वास गर्ने गिरीले बिहानदेखि साँझसम्म भविष्यका कर्णधारहरूसँग आफू रमाउने गरेको भन्दै त्यो भन्दा अर्को खुसी आफूमा अरु नभएको सुनाए । ‘मसँगका धेरै साथीहरू विदेशिएका छन् तर म स्वदेशमै बुबाआमासँग बसेर उज्यालो प्रदान गर्न पाएको छु, त्यो पनि शिक्षा जस्तो गरिमाको क्षेत्रमा, यो भन्दा खुसी मलाई अरु के हुनसक्छ र ?’ गिरी भन्छन् ।

बालाराम खड्का