हठवादी चिन्तनभित्र लुकेको रहस्य

नारायणप्रसाद श्रेष्ठ
कसैलाई कुनै कुरा सिकाउनु छ भने सिद्धान्तमा होइन कर्म र व्यवहारबाट प्रमाणित गरेर सिकाउनु उत्तम मानिन्छ । चित्त नबुझ्दा अरुको आलोचना गर्न, निन्दा गर्न जति सजिलो हुन्छ, त्यति नै अरुको दृष्टिकोणलाई बुझेर उसैको भलाइ खातिर कर्म र व्यवहारबाट परिचित हुन कठिन हुन्छ । असल कुराभन्दा खोट देखाउन धेरै सजिलो हुन्छ तर आफ्नो चाहना अनुकूल अरुको बारे कुरा गर्न त्यति सजिलो भने हुँदैन ।

मानिस अरुलाई होइन, आफैलाई हेरेर मानवता निभाउन सक्नु वास्तवमा उसको सफलता मानिन्छ । तर अहिले मानवीय चिन्तनमा घृणा, द्वेष र हठवादी चिन्तन यति बढिसक्यो कि म कुन अवस्थामा छु, मैले केकस्तो जिम्मेवारी निभाइरहेको छु ? त्यसको समेत हेक्का राख्न नसकेको र भविष्यको मूल्यांकन गर्न सकेको देखिँदैन । स्वार्थ र अहंकारले परिपोषित विचारले मानवीय चिन्तन क्षणिकतातिर आकृष्ट भइरहेको छ । अरुले गरेको काम र व्यवहारभन्दा आफूले गरेको काम र कर्तव्य राम्रा थिए वा थिएनन्, हिजोको कार्यले केकस्तो परिणाम ल्याएको थियो ? सुधारोन्मुख थियो वा स्वार्थउन्मुख थियो ?

त्यसको मूल्यांकन नगरी म बाहेक अरु योग्य छैनन् र हुँदैनन् भन्ने अहंकार र हठवादी चिन्तन वास्तवमा मानव समुदायको लागि दुर्भाग्य मानिन्छ । अहिले मानिसहरु आफूले गरेको काम जतिसुकै गल्ती भए पनि अरुको काँधमाथि दोष राख्न कोसिस गरेको देखिन्छ । अरुलाई दोषी ठानी आफू निर्दोष भएको जमर्को गरेको पाइन्छ । निन्दा र आलोचना गर्नु हुँदैन भनी जान्दाजान्दै पनि उसको आत्मसम्मानमा ठेस लाग्ने गरी कुरा काट्न र व्यवहार गर्न मानिस आफै तल्लीन हुन थालेका देखिन्छन् ।

आफूलाई रक्षात्मक अवस्थामा लग्दै मानवीय विवेकलाई अहमवादी सोचतर्फ लैजान अहिले मानिसको सोच लागिरहेको देखिन्छ । तसर्थ, प्रत्येकले आफ्नो दायित्व र कर्तव्यको सीमारेखा बुझ्न यसबखत जरुरी छ । तपाईँसँग के छ ? तपाईँ को हो ? तपाई कहाँ र के गर्दै हुनुहुन्छ भन्ने कुराले खासै महत्व राख्दैन । तपाईँ के बारे चिन्तन गर्दै हुनुहुन्छ ? तपाईँले निर्वाह गर्दै गरेको कर्मले कस्तो परिणाम ल्याउँछ ? तपाईँको बारेमा अरुले के चिन्तन गर्दैछन् ? वास्तवमा त्यसले तपाईँको जीवनको गोरेटो कहाँ हो भन्ने प्रष्ट हुन्छ । तसर्थ, सोच र चिन्तनबाट हुने परिणाम र यसले भविष्यमा पार्ने असरबारे सावधान हुन जरुरी छ ।

अहिले मानवीय आचरण र स्वभावमा देखिएको परिवर्तनले सामाजिक रुपरेखा र भावि पिढीको लागि नयाँ गन्तव्य निर्धारण गर्दै गरेको अवस्था देखिन्छ । एकपछि अर्को चाहनाले मानवीय प्रवृत्तिमा असीमित आकांक्षा वृद्धि भइरहेको छ । यो र त्यो वहानामा आफ्नो स्वार्थअनुकूल काम गर्न मानिस स्वयम् अग्रसर भइरहेको अवस्था छ । स्वभावमा जिद्दीपन र हठवादी चिन्तन बढाइ यसलाई प्राप्त नगरी त कहाँ छोडूँला भन्ने चिन्तन निकै सल्बलाएको पाइन्छ । यसरी मानवीय चिन्तन स्वार्थतर्फ अभिप्रेरित भएको छ । जसले समाजको गतिविधिमा गलत मानसिकता उत्पन्न भइ समाज विकृतितर्फ मोडिने खतरा बढ्दै छ ।

उसले गरेर हुने, मेले गरेर नहुने भन्ने कुराको बोध भइ गलत चिन्तनतर्फ नयाँ पिढी दौडने खतरा मडारिँदै गरेको छ । जिद्दी र हठवादी सोच यति विकसित भइसक्यो कि उसले भविष्य आफ्नो वा विरानो के हो ? त्यो समेत बिर्सन थालेको छ । परिणाम जेसुकै होस्, त्यसको कुनै मतलव नराखी क्षणिक स्वार्थ र आफ्नो मतलवको लागि जे गरे पनि राम्रो ठान्ने प्रवृत्ति अहिले निकै झाँगिँदै जान थालेको छ । जसको फलस्वरुप मानव आचरणमा विकृतिले डेरा जमाउन थालेको प्रष्ट हुन्छ । सुख, दुःख, लाभ, हानीमै मानिसको सोच र आचरण मुखरित भइरहेको स्थिति छ ।

वास्तवमा स्वभावमा अहंकार र जिद्दीपन देखापर्नु भनेको आफ्नो अस्तित्व र पहिचानमा दाग लगाउनु हो । बुद्धि र विवेकरुपी भण्डारमा अहंकारलाई प्रवेश गर्नदिने परिस्थिति जन्माउनु हो । त्यसैले स्वभावले ल्याउने परिवर्तन र परिवर्तनले ल्याउने परिणामले यसको असर समाजमा प्रत्यक्ष पर्ने हुँदा त्यसको भागीदार मानिस स्वयम् हुने र उसैप्रति प्रश्न चिह्न खडा हुनेतर्फ बेलैमा सचेत हुन जरुरी छ । म मरे डुम्मै राजा भनी कलंकित हुनु भनेको इतिहासमा कलंकित बन्नु हो ।

जीवनको गति अनिश्चित छ । जन्म, मरणको इतिहासमा गुज्रिएको जीवनको आयु कति छ र यो कुन अवस्थासम्म रहिरहन्छ ? यो मानिसको वशमा रहेको हुँदैन । प्रकृतिको यो नियम कसैले फेरबदल गर्न पनि सक्दैन । कसैको दबाब र परिवेशले पनि यसलाई कुनै असर पुग्दैन । यस्तो जानकारी मानिसले नबुझेको पनि होइन । तैपनि मानिस म बाहेक अरु योग्य छैनन् भनी जीवनको उत्तरार्धमा पनि प्राप्ति नै जीवन हो र म बाहेक अरु योग्य छैनन् भनी दौडिरहेका छन् । जीवनमा हरेकका आ–आफ्ना इच्छा र आकांक्षा रहेका हुन्छन् । त्यसलाई प्राप्त गर्ने प्रशस्त बाटाहरु पनि हुनसक्छन् ।

त्यसतर्फ ध्यान नदिइ वा म र मेरो कर्म र व्यवहारले भावि पिढीले नयाँ उत्साह र उमंग जगाइ म र मेरो इतिहास चीरस्मरणीय होस् भन्नेतर्फ चिन्तन नगरी बालहठझैँ गलत के हो ? सही के हो ? छुट्याउन नसक्नु कति बुद्धिमानी ? सहज समाधानको बाटो अवलम्बन नगरी एकअर्काको खुट्टा तान्ने प्रवृत्ति देखाउनु आफूले आफैलाई समस्याभित्र अल्झाउनु होइन र ? त्यसैले विवेकशील प्राणी भएर पनि सोच र चिन्तनलाई साँघुरो घेराभित्र राखी आफूलाई क्षणिक स्वार्थमा लुटपुट्याउनु किमार्थ राम्रो मान्न सकिन्न ।

हुनसक्छ यसले क्षणिक रुपमा कोहीकसैको मन र विवेकमा नयाँ खुसी देखिन सक्छ तर भविष्यमा यसले ल्याउने प्रवृत्तिका कारण र एकले अर्कालाई पछार्ने, हकार्ने र छिट्की हान्ने प्रवृत्ति बढ्दै गयो भने हाम्रो अस्तित्व कहाँ पुग्ने हो ? भाइ फुटे गवाँर लुटेभनेझैँ उखान सार्थक होला नहोला ? यति मात्र होइन, समाज, राष्ट्र र नैतिकता अरुको इसारामा चल्ने परिस्थिति जन्मन सक्ने अवस्था होला नहोला ? के मानव जीवन पराईको इसारामा चल्ने यन्त्र हो ? के यससँग विवेक छैन ? त्यसैले वर्षामा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ भनेझैँ सधैँ हरियो ठान्ने प्रवृत्ति किमार्थ राम्रो मानिँदैन ।

तसर्थ आफैलाई मात्र सर्वेसर्वा ठान्ने प्रवृत्ति हठवादी चिन्तनको उपज भएकोले यसलाई किमार्थ स्वीकार गर्नु हुँदैन । जीवनको उद्देश्य भनेको समर्पण हो । जीवन मिहिनेत र पसिनाको कमाइमा रमाउने र आनन्दको सागरमा डुबुल्की मार्ने सजीव आत्मा हो । जसले यो कुरा बुझेको छ उसले कहिल्यै पनि गलत कार्य गर्दैन । कुरै खाने, कुरै लाउनेजस्तो राजनीतिक धरातलभित्र चलखेल हुने वातावरण मात्र जीवन होइन । जीवन न त मागी खाने र अरुले निर्देशन गरेबमोजिम चल्ने गतिशील जीवन हो । जीवन भनेको पुर्खाले सिकाएको आदर्श चिन्तन र व्यवहार गर्दै सामाजिक उत्कृष्टताको नमुना बन्ने सजीव आत्मा हो ।

सोच र चिन्तनमा सकारात्मक कार्यदिशा निर्धारण गरी अहंकार, घमण्ड र हठवादी चिन्तन हटाएर सच्चा र इमानदार चरित्रवान बन्नु हो । तसर्थ, एकान्तमा बसेर सबैले एकपटक विचार गरौँ, कतै हामी हाम्रो निश्चित गन्तव्यलाई अहंकाररुपी हठवादी चिन्तनले परिपोषित गर्न खोजेका त छैनौँ ? हाम्रो पुर्खाले सिकाएको इतिहास बिर्सि आफ्नै आमाको छाति खुल्चेर आफैलाई आदर्श बनाउन लागिपरेका त छैनौँ ? तसर्थ, यसतर्फ सबै गम्भीर बन्नुपरेको छ ।

सत्यमा आधारित हाम्रो इमानदार र कर्तव्यनिष्ठ हाम्रो धरातल कतै हामीले बिर्सेर बिर्साउनेतर्फ हाम्रो चिन्तन बढिरहेको छ भने यस्तो जिद्दीपन स्वभाव देखाउने प्रवृत्तिलाई रोक्न जरुरी छ । हठवादी चिन्तन विचारको शत्रु हो । तसर्थ, यसलाई हटाइ चम्किलो ज्ञानको चछु खोली शुक्लपक्षको चन्द्रमाझैँ शीतल र उज्यालोपनको बोध हुने गरी आफूलाई धीर बनाइ अघि बढौँ । यो वर्तमानले खोजेको सत्य हो ।