गोरक्ष समाचारदाता
दाङ, १६ फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले राष्ट्रपतिमा गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलको जित सुनिश्चित भएको बताएका छन् । उनले गठबन्धनसँग भएको मतभारले नै जित निश्चित भएको समेत बताए । ‘गठबन्धनले दिएको साझा उम्मेदवार पौडेलको जित राष्ट्रपतिमा निश्चित नै छ’, नेपाल प्रेस युनियन दाङले सोमवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री पाण्डेयले भने ‘त्यो मतभारले नै प्रष्ट पारेको छ ।’
सहमहामन्त्री पाण्डेयले राष्ट्रपति निर्वाचनका लागि अहिले आठ दलीय गठबन्धन बने पनि २५ गतेसम्म गठबन्धनको मत अझै बढ्ने दाबी समेत गरे । ‘राष्ट्रयपति निर्वाचनमा गठबन्धनका उम्मेदवारको जित निश्चित छ’, उनले भने, ‘त्यसका लागि अहिलेकै दलहरूमा रहेको मत पर्याप्त छ । अझै केही बढ्नसक्छ ।’ प्रधानमन्त्रीसँगै नेपाली कांग्रेस राष्ट्रपति निर्वाचनमा सर्वसम्मत हुनुपर्छ भन्ने पक्षमा रहे पनि नेकपा एमालेले नमानेको समेत आरोप लगाए ।
उनले राष्ट्रिय सहमतिका लागि प्रमुख दलहरूबीचमा सहकार्य हुनुपर्छ भन्ने भए पनि त्यो एमालेले नमानेको बताए । ‘राष्ट्रिय सहमतिमा प्रमुख दलहरू एउटै ठाउँमा भएको भए राम्रो हुने थियो, प्रधानमन्त्रीले त्यसको लागि पहल समेत गर्नुभयो तर एमालेले मानेन’, उनले भने, ‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । सहमति नभएपछि चुनाव हुन्छ । यसलाई स्वाभाविकै मान्नुपर्छ ।’
प्रधानमन्त्रीमा माओवादी, सभामुखमा एमाले र कांग्रेसलाई राष्ट्रपति दिएर राष्ट्रिय सहमतिको वातावरण बनाउने प्रधानमन्त्रीको प्रयास एमाले मान्न तयार भएन र नयाँ गठबन्धन निर्माण भएको समेत उनले बताए । उनले कांग्रेसको अबको ध्यान राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई जिताउने र सुदूरपश्चिम सरकारलाई विश्वासको मत जुटाउनेमा भएको बताए । ‘कांग्रेसको ध्यान अहिले सत्ताभन्दा पनि राष्ट्रपतिको निर्वाचन र सुदूरपश्चिम सरकारलाई विश्वासको मत जुटाउनेमा छ’, उनले भने, ‘त्यहीअनुसार पार्टीका नेताहरूले गठबन्धनमा छलफल गरिरहनुभएको छ ।’ सहमहामन्त्री पाण्डेयले प्रधानमन्त्री चयनका क्रममा दुवै पार्टीमा भएको गल्ती नेताहरूले रिअलाइज गरेपछि अहिले निर्वाचनका क्रममा बनेको गठबन्धन बन्न सफल भएको बताए ।
‘निर्वाचनका क्रममा जनतासँगै पाँच वर्ष यही गठबन्धन कायम हुन्छ भनेर मत मागेका थियौँ तर प्रधानमन्त्री चयनका क्रममा केही अविश्वासका कारण गठबन्धन टुट्न पुगेको थियो’, उनले भने, ‘विगतमा भएको गल्तीको दुवै नेताहरूले रिलाइज गरेपछि फेरि अहिले पुरानै समीकरण बनेको छ । यसमा केही नयाँ दल थपिनुभएको छ ।’ आठ दलबीच भएको सहमति कसैलाई लडाउने र गिराउने खेलभन्दा पनि दीर्घकालीन रूपमा देशलाई स्थिरता कामय गर्नका लागि भएको समेत बताए ।
उनले अव गठबन्धन राजनीतिक स्थायित्वसँगै संविधानको रक्षा गर्ने, संघीय लोकतान्त्रिक व्यवस्थाको कार्यान्वयन गर्दै मुलुकको समृद्धिको पक्षमा लाग्ने बताए । उनले निर्वाचनमा जनताले दिएको विश्वासलाई पूरा गर्ने अवस्था सुरुवात भएको समेत बताए । ‘निर्वाचनमा एउटा गठबन्धन थियो । जसमा कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका दलहरू थियौँ । ‘चुनावमा पाँच वर्षका लागि सँगै सरकार चलाउन भोट माग्यौँ तर सोचेअनुसार सरकार बन्न सकेको थिएन’, उनले भने, ‘जसले गर्दा जनताका बीचमा जान समस्या भएको थियो ।
अहिले फेरि पुरानै गठबन्धन तयार भएको छ । अब जनतासँग गरेको वाचा पूरा गर्ने अवस्थाको सुरुवात भएको छ ।’ उनले नेपाल विद्यार्थी संघले आगामी स्ववियु निर्वाचन जित्ने गरी अघि बढ्नुपर्ने बताए । नेविसंघको नयाँ नेतृत्वका लागि स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउनेदेखि लामो समयदेखि हुन नसकेको निर्वाचन गराउने मुख्य दायित्व रहेको भन्दै तीमध्ये पहिलो प्राथमिकता आउँदै गरेको स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउनुपर्ने मुख्य हुनुपर्ने उनले बताए । लामो समयसम्म रोकिएको स्ववियुको चुनाव चैतमा हुँदैछ ।
नेविसंघको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षणको लागि नेता पाण्डे दाङ आएका थिए । पत्रकार सम्मेलन नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको थियो । पत्रकार सम्मेलनको सहजीकरण सचिव आरके शीतलले गरेका थिए ।