बिराज पोख्रेल
“थुइय ! तँ आज राती नै पक्लक्कै भैगएस् ।” प्रजातन्त्र दिवसको भोलिपल्ट दाङ जिल्लाको घोराही स्थित जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालयबीच बाटोमा एकजना पैदलयात्री बुढीआमाको मुखबाट निस्केको डरलाग्दो गाली थियो, यो । एकछिन त म आफै आत्तिए, त्यस्ती बूढीआमाले किन कसलाई यस्तो डरलाग्दो गाली दिनुभयो होला भनेर ।
जब उत्तर दिशाबाट बतासिँदै आएको एउटा सेतो नम्बर प्लेटको गाडी बाटो भरिको धुलो बढारेर ती बूढीआमाभन्दा अलिकति पछाडि हिडिरहेको म माथि पनि खन्याइदिएर आखाँ नै नदेख्ने भएपछि मैले पनि नराम्ररी थाहा पाएँ, ती बूढीआमालाई यो उमेरमा किन त्यस्तो डरलाग्दो गाली गर्नुपरेको भनेर । गाली त मसँग पनि थिए । गाउँघरमा, छिमेकमा सुनेका गाली मसँग पनि प्रशस्तै थिए तर बूढीआमाको जस्तै गाली गर्न जानिन् । म दुविधामा पनि परेको हुनसक्छ, गाली गर्ने चाहिँ कसलाई ?
त्यो गाडीलाई कि त्यो गाडी डौदाउने ड्राइभरलाई वा गाडीधनी वा त्यो बाटो बनाउने ठेकेदार वा नजिकैको सडक विभाग वा सडकभरिको फोहोरलाई ? सफा देख्ने नगरपालिकालाई गाली गरांँ कि यहाँबाट छानिएका सांसद, नेता वा अन्य कसलाई गरौँ ? अनि ती बूढीआमाले गरेको गालीको श्राप लाग्ने चाहिँ यतिधेरै व्यक्ति र निकायमध्ये कसलाई लाग्ने होला ? तर पनि गोजीमा भएको एउटा रुमाल झिकेर मुख छोपी केही नबोली अगाडि बढेँ, ती बूढीआमाले भने धोतीले मुख पुछ्दै थिइन् ।
यहाँका सरकारी कार्यालयमा सेवा लिनका लागि विभिन्न क्षेत्रहरुबाट आउने ग्राहकहरुको संख्या सयौँको हुने गरेको देखिन्छ । तीमध्ये यो बाटोमा दिनहुँ हिड्नेमध्ये धेरैले बाटोकै अवस्था देखेर गाली नगर्ने सायदै कोही होलान् । तर यति धेरैले गाली गर्दा श्राप लाग्ने कसलाई त ? निःशुल्क रुघाखोकी र स्वासप्रश्वाससँगसम्बन्धित अन्य रोग बोकेर घर फर्किन बाध्य हुने आम सेवाग्राहीको स्वास्थ्यको जिम्मा लिने कल्ले त ?
आम जनताले निर्धक्कसँग सफा सास फेर्न पाउने कहिले त ? उनीहरुको स्वास्थ्यप्रति राज्यका निकायहरु चासो नभएकै हो त ? जनताको सेवा र सुविधाका लागि भन्दै काम गर्ने सम्बन्धित निकायका कुर्सीमा बस्नुहुने महानुभावहरुले एकपटक मात्र भए पनि मनन् गर्नुहोस् त बूढीआमाले जस्तै कति जनाले कतिपटक तपाईँलाई गाली दिए होलान् । यदि श्राप वा गाली लाग्दो हो त ……।
यतिमात्र होइन्, विषेश गरी घरबाट पैदल हिडेर वा मोटरसाइकल वा साइकल चढेर निश्चित गन्तव्य तय गर्नु अघि दाङबासी सर्वसाधारणलाई घोराही –तुलसीपुर वा घोराही– लमही बाटोमा कुनै पनि बस, ट्रक या टिप्पर नभेटिदिए हुन्थ्यो भनेर भगवान्सँग प्रार्थना गर्ने बानी नै भइसकेको छ । भगवान पुकार्न भनेको अत्ति नै भएपछि होइन् र ? बिहान चिटिक्क परेर घरबाट निस्केको ठूले घर आइपुग्दा नचिनिने भइसकेको हुन्छ ।
ठूलेको जस्तै समस्या आम जनताले कति दिनसम्म भोग्ने ? त्यो भन्दा ठूलो समस्या त यहाँ सडकहरुको दूरावस्थाका कारण धेरैले ज्यान गुमाइसकेका छन् । सडककै जोखिमका कारण अङ्गभङ्ग भएर धेरैले असहज जीवन बिताइरहेका छन् । यी बारेको सही तथ्याड्ढ त नेपाल प्रहरी कार्यालयसँग होला । यो तथ्याड्ढलाई घटाउने कसले ? उपायहरु के त ? सडकका खाल्डाकुल्डीमा परेर क्षति भएका सवारी साधानको पूर्ति केले गर्ने ? यसतर्फ जान किन ढिला त ?
आम जनतामा यस्तै प्रश्नै–प्रश्न छन् तर उत्तर दिने कसले ? सडक–सडकको रुपमा नरहँदा भएका सडक दुर्घटनालाई भोलि हत्या भनेर आवाज उठ्न नि बेर छैन । खैर, राम्रो, सफा, हराभरा र सुन्दर सडक र स्वच्छ वातावरण पाउनुपर्ने प्रत्येक सर्वसाधारणको नैसर्गिक अधिकार हो । राज्यले त्यसको प्रत्याभूति आम नागरिकलाई विना शर्त गराउनु प्रमुख दायित्व हो ।
प्रत्येक नागरिकका लागि राज्य राज्य बन्न सक्नुपर्ने हो तर यसो भए वा राज्यले आफनो दायित्व पूरा गरेन पनि भन्ने अनि नेता र कर्मचारीले स्थानीय निकायमा विभिन्न बहानामा गर्ने ढिलासुस्ती, प्रक्रियागत त्रुटि, सानो काम सम्पादन गर्नेका लागि विभिन्न तहसम्म गर्ने सेटिङ, भ्रष्टाचारमा मुखदर्शक मात्र बनिदिने हामी सर्वसाधारण जनताको गलत प्रवृत्तिले सर्वसाधारण नै दोषी हुन् कि जस्तो देखिन्छ ।
त्यसैले बूढीआमाले माथि दिएको जस्तो गालीको श्रापको भागिदार पनि आफै पो हुने कि ? हैन भने सेतोलाई सेतो र कालोलाई कालो नै भन्ने बानी बसाल्नै पर्छ ।