राष्ट्रपति निर्वाचनमा पूर्व सभामुखहरुको प्रतिष्पर्धा

गोरक्ष समाचारदाता
काठमाडौं, १४ फागुन । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन–२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पूर्वसभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका पौडेल गत मंसिर ४ मा तनहुँ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोककुमार राई र अब्दुल खान रहेका छन् भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे छन् । एमालेका नेता नेम्वाङले नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन–२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका छन् । नेम्वाङको उम्मेदवारी दर्ताको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के छन् । शनिबार बिहान बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । पूर्वसभामुख नेम्वाङ एमाले उपाध्यक्ष एवम् इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन् । रामचन्द्र पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म सभामुख थिए । सुवासचन्द्र नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म पहिलो कार्यकाल संसदको नेतृत्व गरेका थिए । २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुख भएर संसदको नेतृत्व गरेका थिए । दुबै संविधानसभामा पनि उनले संविधानसभा अध्यक्षको भूमिका निर्वाह गरेका थिए । एमाले उम्मेदवार नेम्वाङको समर्थनमा अरू कुनै पनि दल खुलेका छैनन् । एमाले नेताहरूले भने १० पुसमा भएको सहमतिअनुसार नै नेम्बाङलाई उम्मेदवार बनाएकाले त्यो बेला एक ठाउँमा भएका दलहरूको समर्थन पाउने विश्वास व्यक्त गरेका छन् ।
दुवैको समानता – शालीनता

राष्ट्रपतिका दुवै उम्मेदवार नेपाली राजनीतिमा लामो समयदेखि रहेका र खारिएका नेता हुन् । दुवै नेता संसदीय राजनीतिबारे दख्खल राख्ने नेता हुन् । दुवै नेताको समानता शालीनता पनि हो । उमेरले रामचन्द्र पौडेल जेठा छन् । २००१ असोज २९ गते तनहुँको मिर्लुङ, बाहुनपोखरामा मध्यमवर्गीय किसान परिवारमा जन्मिएका पौडेल हाल काठमाडौंको बोहोराटारमा बस्दै आएका छन् । उनी नेपाली साहित्य, शास्त्री (संस्कृत) मा स्नाताकोत्तर हुन् । सुवास नेम्बाङ २००९ साल फागुन २८ गते इलामको सुन्तलाबारीमा जन्मिएका हुन् । हाल काठमाडौंको बालुवाटारमा बस्दै आएका नेम्बाङ कानुनका प्राध्यापकसमेत थिए । प्रध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका उनी कुनै बेला प्राध्यापक संघमा पनि सक्रिय थिए । नेपाल बार एसोसिएसनको महासचिव पनि भएर पनि काम गरेका थिए ।
संसदीय राजनीतिमा सँगसँगैः

पौडेल र नेम्बाङ संसदीय राजनीतिमा सँगसँगै छन् । दुवैले २०४७ पछिका आम निर्वाचनमा भाग लिँदै आएका छन् । रामचन्द्र पौडेल २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ सालको चुनावमा तनहुँबाट निर्वाचित भए भने ०७४ सालमा पराजित भएका थिए । सुवास नेम्बाङ २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य थिए । २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलामबाट निर्वाचित भए । ०५६ सालमा प्रतिनिधिसभा सदस्यको चुनाव जिते पछि उनले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी निर्वाह गरे ।

संसदीय गतिविधिलाई खुला गर्नुपर्छ भन्दै उनले लेखा समितिमा पत्रकारहरूलाई रिपोर्टिङका लागि खुला गरेका थिए । दुवै नेताले राजनीतिक जीवन सुरुवात गर्दा मुलुक प्रजातन्त्रका लागि संघर्षरत थियो । रामचन्द्र पौडेल २०१५ सालदेखि नेपाली कांग्रेसमा आवद्ध भएका हुन् । त्यसबेला मुलुक प्रजातन्त्रलाई संस्थागत गर्ने कसरतमा थियो । २००७ सालमा प्राप्त प्रजातन्त्रलाई संस्थागत गर्न २०१५ सालमा आम चुनाव भएको थियो । तर, २०१७ सालमा जननिर्वाचित संसदलाई भंग गरेर तत्कालीन राजा महेन्द्रले शासनसत्ता हातमा लिएर पञ्चायती व्यवस्था सुरु गरे ।

ञ्चायती व्यवस्थाका विरूद्ध आफूलाई उभ्याएका कारण २०३३ सालमा नेम्बाङ राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा परेका थिए । थुनामा रहँदा कम्युनिस्ट पार्टी कोअर्डिनेनेशन केन्द्रमा संगठित भएका थिए । ०४८ देखि लगातार सांसद छन् ।

पार्टीमा दुवै मध्यमार्गी

आ–आफ्नो पार्टीमा पौडेल र नेम्बाङको मध्यमार्गी नेताका रूपमा परिचित छन् । कांग्रेसभित्र सधैं मध्यमार्गी नेताका रूपमा परिचित पौडेल तत्कालीन अवस्थामा द्वन्द्वरत नेकपा माओवादीलाई मूल प्रवाहको राजनीतिमा ल्याउने क्रममा वार्ता र सहमतिका काममा अग्रणी मध्यमार्गी भूमिका खेलेका थिए । १२ बुँदै सहमति र विस्तृत शान्ति सम्झौताका मस्यौदाकार सहमति र सहकार्यका पक्षपाती पनि हुन् । गत ४ मंसिरको आम निर्वाचनपछि नेपाली कांग्रेस र माओवादी मिलेर सरकार बनाउनुपर्छ भन्दै आएका पौडेलले एमाले र माओवादीबीच प्रधानमन्त्री आधा आधा कार्यकाल र राष्ट्रपति एमालेले पूरै कार्यकाल लिने गरी २०७९ पुस १० गते सहमति भएपछि ‘प्रचण्डबाट कांग्रेसलाई नभई, कांग्रेसले प्रचण्डलाई धोका दिएको’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

नेम्बाङ पनि एमालेका मध्यमार्गी नेता हुन् । खासगरी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा नेम्बाङले मध्यमार्गी भूमिका खेलेका थिए । नेम्बाङले अहिले पनि कम्युनिस्ट पार्टीहरू विभाजित हुन नहुने मत राख्छन् । नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले नै नेकपा एकता भंग गरिदिएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिए । त्यसपछि एमालेमा भएको विवादमा पनि नेम्बाङले मध्यमार्गमा रहेर अग्रणी भूमिका खेले । एमालेले १० पुसमा बनेको गठबन्धन तोडिएको घोषणा गरेको छैन । ‘सुबासजीको उम्मेदवारी पुस १० को निरन्तरता हो’, एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भन्छन्, ‘१० गते प्रचण्डलाई प्रधानमन्त्री नियुक्तिका लागि हस्ताक्षर गर्ने दल र मतदाताहरू कायम रहन्छ भन्ने हाम्रो विश्वास छ ।’