हात्तीपाइले विरूद्ध आम औषधी सेवन अभियान : विस्तरामा थलिएका बाहेक सबैले खानुस्

खेमराज रिजाल
दाङ, १२ फागुन । हात्तीपाइले रोग विरूद्धको आम औषधी अभियानमा बिरामी परेर अस्पताल भर्ना भएका वा थलिएर घरमै विस्तारामा परेका बाहेक सबै नागरिकलाई औषधी सेवन गर्न चिकित्सकहरूले सुझाव दिएका छन् । वीर अस्पतालमा कार्यरत बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा मीनचन्द्र अधिकारीले दुई वर्ष मुनिका बालबालिका, ७ दिनभित्रका सुत्केरी आमा, गर्भवती महिला, पटक–पटक दोहोरिरहने मृगी रोगी तथा हेमोडायलायसिस सेवा लिइरहेका बिरामी बाहेक सबैलाई ढुक्कसँग औषधी सेवन गर्न आग्रह गरे ।

औषधीको असरबारे नकारात्मक अफवाह फैलिँदा लगातार ६ पटकसम्म खाए पुग्ने अभियान सबै नागरिकले औषधी सेवन नगरेका कारण अहिले तेह्रौ वर्षसम्म जारी छ । जान्नेबुझ्नेले नै औषधीको असरको गलत प्रचार गर्दा राज्यलाई आम औषधी सेवन अभियान सफल बनाउन यति धेरै वर्ष लागेको छ । हात्तीपाइले विरूद्धका औषधीहरू डिइसी, अलवेण्डाजोल र हाइवरमेट्रिन दातृ निकायले अनुदान दिए पनि औषधी सेवनको अभियानका विभिन्न चरणमा हुने खर्च जोड्दा एकजना नागरिकलाई औषधी सेवन गराउनका लागि राज्यले कम्तिमा २० रूपैयाँसम्म व्यवस्थापकीय खर्च हुने देखिएको छ ।

‘औषधीको असर त्यस्ता व्यक्तिलाई देखिनसक्छ, जसको शरीरमा हात्तीपाइलेको परजीवी हुन्छ, ती असरहरू केही दिनमै हराएर जानेछन्’, डा अधिकारीले भने । हात्तीपाइलेको परजीवी भएका व्यक्तिलाई औषधी खुवाउँदा हात्तीपाइलेको परजीवीलाई औषधीले नष्ट गर्दा सामान्य असर देखिनु स्वाभाविक भएको उनको भनाइ छ । त्यस्ता व्यक्तिहरूलाई सामान्य वान्ता हुनसक्ने, तापक्रम बढ्नसक्ने तथा सामान्य चक्कर आउनेजस्ता लक्षण देखिनसक्ने पनि उनको अभिव्यक्ति थियो । ती असरको त्रासले औषधी सेवन नगर्नु र सेवन नगरेकै कारण हात्तीपाइलेको संक्रमण भयो भने त्यो नै सबैभन्दा ठूलो दुर्भाग्य हुने बताइएको छ ।

हात्तीपाइले रोग तत्काल प्राणघातक नभए पनि विस्तारै यसले मानिसलाई अपाङ्ग सरहको जीवन जिउन विवश बनाउनेछ । लामखुट्टेको टोकाइबाट मानव शरीरमा उचेरिरियर व्यान्क्रप्टी नामको परजीवी प्रवेश गरे पनि यसले सबैभन्दा पहिले लिम्फ नलीहरूमा संक्रमण फैलाइदिने चिकित्सकहरूको भनाइ छ । संक्रमण फैलिँदै गएपछि लिम्फ नलीहरू फुट्ने र हात्तीजस्तो भएको संक्रमित भाग क्रमशः कुहिँदै जाने पनि चिकित्सकले बताएका छन् ।

यसैबीच दाङ जिल्लामा पनि विहीवारदेखि हात्तीपाइले रोग निवारण कार्यक्रम २०७९ औपचारिक रूपमा सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय र घोराही उपमहानगरपालिकाको स्वास्थ्य प्रबद्र्धन शाखाको आयोजनामा अभियानको शुभारम्भ गरिएको हो । उपमहानगरपालिकाका अध्यक्ष नरुलाल चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको औषधी सेवन अभियानमा अध्यक्ष प्रमुख अतिथिलगायत प्रमुख जिल्ला अधिकारी सुशील बैद्य, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डम्बरबहादुर कुवरलगायतका अतिथिले औषधी सेवन गरी अभियानको विधिवत शुभारम्भ गरेका हुन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले घोराहीमा आयोजना गरेको ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९’ स्थल घोराही उपमहानगरपालिका १४ झिँगौरामा औषधी सेवन गरेर अभियानको सुरुवात गरिएको हो । घोराही उपमहानगरपालिका, स्वास्थ्य कार्यालय दाङको आयोजनामा प्रदर्शनी स्थलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अभियानको सुरुवात गरिएको थियो ।

अभियानमा घोराही उपमहानगरपालिकाको उपप्रमुख हुमा डिसी, घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष भानसिंह बुढा, प्रदर्शनी आयोजक मूल समितिका संयोजक एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष प्रदीप मजगैयाँलगायत जनप्रतिनिधि, पत्रकार, प्रदर्शनी आयोजक समितिका पदाधिकारी एवम् दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले हात्तीपाइले रोग निवारण औषधी सेवन गर्न सम्पूर्णमा अनुरोध गरेका थिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले घोराहीमा आयोजना गरेको ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९’ स्थलमा हात्तीपाइले निवारण औषधी दैनिक उपलब्ध हुने भएको छ । प्रदर्शनीको स्वास्थ्य स्टलमा हात्तीपाइले निवारण औषधी दैनिक उपलब्ध हुने आयोजक मूल समितिले जानकारी दिएको छ । इच्छुकले सम्पर्क गर्न पनि आयोजकले अनुरोध गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दाङकाअनुसार यो अभियानअन्तर्गत दाङ जिल्लाका करिब ७ लाख नागरिकलाई यो औषधी सेवन गराइनेछ । औषधी व्यवस्थापनको जिम्मा जिल्ला स्वास्थ्य कार्यालयको रहेको छ भने सेवन गराउनका लागि दशवटै पालिकाका स्वास्थ्य शाखामार्फत् भूमिका निर्वाह गरिरहेका छन् । यो अभियान सबै पालिकामा सात दिनसम्म चल्नेछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार हात्तीपाइले विरूद्धको औषधी सेवनको अभियान झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा गरी पन्ध्र जिल्लामा सुरु भएको छ । लक्षण नदेखिकाहरूमा पनि हात्तीपाइले रोग लागेको हुनसक्ने भएकाले अभियान चलाइएको बेलामा औषधी खान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले सुझाव दिएका छन् । हात्तीपाइलेको लक्षण देखिएपछि औषधी खाँदा निको हुँदैन । त्यसैले रोग लाग्नु अगावै औषधी खान डाक्टरको सुझाव छ ।