बन्ला त सहमति ?

सुभाष न्यौपाने
सहमति बन्यो भने पञ्चामृत बाँडिन्छ कि ?
राष्ट्रपति नपाएमा एमाले टाढिन्छ कि ??
सहमतिमा गए सन्देश सकारात्मक हुने !
राजनीति यस्तै हो, कोही हाँस्ने कोही रुने !!

वर्तमान राजनीति फेरि नयाँ कोर्श छोडेर पुरानै कोर्शमा फर्कने सम्भावना वर्तमान राजनीतिमा बढ्दै गएको देखिएको छ । पुस १० मा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएपश्चात नेपाली राजनीतिले नयाँ कोर्शको सुरुवात भएको छ । सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै नेपका एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उच्च स्तरीय राजनैतिक संयन्त्र गठन भएको छ ।

जुन सरकार पञ्चामृत गठनबन्धन भत्काएर गठन भएको रवि लामिछाने सहितको सप्तरंगी सरकार हो । सरकार गठनपश्चात सभा प्रमुख, उपसभा प्रमुखको निर्वाचन र प्रदेश सरकार गठन भइसकेपश्चात सरकार प्रमुख र संयन्त्र प्रमुख बीचमा केही तिक्तता बढेकोजस्तो देखिन्छ । अहिलेसम्म दुवै नेता आ–आफ्नो अडानमा छन् । दुवै नेता दुवैसँग त्रसित र ससंकीत छन् । अहिले दुवै नेता बीचको असहमति र उनका आसेपासे बीचको जुहारीको कारण पनि राजनीतिक विचलन बढिरहेको देखिन्छ ।

रवि र राजेन्द्र लिग्देल सहितको उच्च स्तरीय संयन्त्रका अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई सत्ता साझेदार दलहरुले सर्वसम्मत स्वीकार्नुपर्छ भन्ने अडान कायमै राखिराखेका छन् भने प्रधानमन्त्री दाहाल राष्ट्रपतिमा सर्वसम्मत सहमतिको उम्मेदवार तय गर्नुपर्छ भन्ने अडान राख्दै आएका छन् । बालकोट र बालुवाटारमा आलोपालो दाहाल र ओली बीचको वार्ता शून्यमै सीमित रहेको बुझिएको छ । संवादमा सहमति हुनुको साटो अलि तिक्तता बढ्दै गएको बुझिएको छ ।

राजनीतिमा नेताहरु कोही शेर र कोही स्याल भन्ने चरित्र त्यति राम्रो होइन । सहकार्य भनेपछि एकले अर्कालाई सहमति दिनैपर्छ । सहमतिमा राष्ट्रपतिको उम्मेदवार तय गर्ने भन्ने प्रधानमन्त्रीको धारणा र नेपाली कांग्रेसका नेताहरु, पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको निरन्तरको संवादले ओलीजी अलि झोक्राएका पनि छन् ।

शेरबहादुरले राष्ट्रपतिको उम्मेदवारी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई वचन दिइसकिएको कुरा प्रचण्डसँग समेत बताइसकेका छन् भने व्यक्तिगत रुपमा प्रचण्ड पुरानो सम्बन्धको आधारमा कृष्णप्रसाद सिटौलालाई चाहन्छन् । तर पनि संस्थागत निर्णय गरेर जाने भन्ने सहमति अगाडि बढ्यो भने रामचन्द्र नै राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना देखिन्छ, नेकपा एमाले भने यही फागुन १३ गते मात्र उम्मेदवार को बन्ने भन्ने निर्णय गर्नेछ भनेर पार्टी अध्यक्ष ओलीले बताई सकेका छन् ।

नेपाली राजनीति छिमेकी र सहयोगीहरुको चाहनाअनुसार चल्ने भएको हुँदा विशेष गरी भारत, चीन, अमेरिका र युरोपियन युनियनकमा कहिले यिनीहरु सबैको एउटै चाहना हुन्छ त कहिले यी सबैको चाहना बुझिन्छ । त्यसबेला नेपाली राजनीति भारत र अमेरिकाको चाहना विशेष प्रभावकारी देखिन्छ । कम्युनिस्टको झगडामा चाहिँ चीनको उपस्थिति गम्भीर देखिन्छ । त्यो कहिले मिल्छ, कहिले बाझिन्छ । संघ, प्रदेश तथा सभाप्रमुख, उपसभा प्रमुखको निर्वाचन सम्पन्न हुँदै राष्ट्रपति निर्वाचनसम्म जाँदा राजनीतिमा धेरै प्रश्न उब्जिएका छन् । नेपाली राजनीतिमा अहिलेको कसको हली हो भन्ने कुरा अहिले विशेष चर्चामा छ । चाहे त्यो कांग्रेस होस् या कम्युनिस्ट ।

नेपाली कांगे्रसका महामन्त्री दुईले भनेका छन् कि हालको समीकरण भत्काएर पुरानै समीकरणमा जान र सरकार सञ्चालन तथा राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजय गराउन व्यक्तित नभएर संस्थागत सहमति गर्न नेकपा माओवादीलाई आग्रह गरेका छन् । त्यस विषयमा प्रधानमन्त्री दाहाल पनि सकारात्मक रहेको बुझिन्छ ।

नेपाली कांग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिएपछि झस्किएर बर्बराउने ओलीको अहिले सत्ता सञ्जालको भागदौड कतै नेपाली कांग्रुसले खोस्ने त होइन भन्ने भूत सवार भइरहेको छ । राजनीति कसैको पोल्टाको खाजा त होइन नि ! यहाँ नेता भन्नेहरु राजनीतिलाई पोल्टाको खाजा बनाउन चाहन्छन् । उनीहरुलाई अरु कसैले त्यसको नेतृत्व लियो भने या लिन अग्रसर रह्यो भने उनीहरुको टाउको दुख्छ ।

नेपाली कांग्रेसले सरकारलाई दिएको मतसँगै नेकपा एमाले र विशेष गरी पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले कांगे्रस फोवियाबाट ग्रसित छन् । उनी गठबन्धनको नाममा उच्च स्तरीय राजनीतिक संयन्त्रमार्फत् सरकारलाई आफ्नो जालभित्र राख्न चाहन्छन् । उनलाई उनका गतिविधिमाथि कसैले प्रश्न उठाए भने उनी अत्यन्त त्रसित र ससंकीत हुन्छन् । जान्नुपर्ने कुरा के भने मान्छे जतिसुकै बाठो भए पनि उसले एक वा दुईपटकसम्म मात्र अरुलाई अल्मल्याउन र झुक्याउन सक्छ । तर निरन्तर त्यही गतिविधि दोहोरिन थाल्यो भने ती स्वतः फेल हुन्छन् ।

नेपाली राजनीति अर्काको स्कूलिङमा चल्ने भएको हुँदा मुलुकले दूरदसा भोग्नुपरेको हो भन्ने पुष्टि भइसकेको छ । वर्तमान राजनीति राष्ट्रपति निर्वाचनसम्म पुग्दा शंकैशंकामा रुमलिएको छ । पार्टीभित्र नेकपा एमालेका अध्यक्ष ओलीलाई नै राष्ट्रपतिको उम्मेदवार बन्न दबाब दिइरहेका छन् भने उनले माधव नेपाललाई अघि सार्छन् कि भन्ने शंका पनि दाहाल र देउवामा छ ।

यसै सन्दर्भमा नेपाली कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने हामीले पुस १० को घटनालाई बिर्सेर अघि बढ्न प्रधानमन्त्री दाहाललाई विश्वास दिलाएका छौँ तर सरकार नेतृत्वको विषयलाई लिइर प्रधानमन्त्रीले कुनै शर्त राख्नुभएको छैन । त्यस सन्दर्भको नेपाली कांग्रेसले तपाईँलाई सत्ता नेतृत्वको लागि कति वर्ष चाहिने हो भन्ने प्रश्नको पनि प्रचण्डले जवाफ दिएका छैनन् रे ।

उता माधवकुमार नेपाललाई ओलीले राष्ट्रपतिको उम्मेदवारमा सिफारिस गर्ने सम्भावना कमै छ । प्रधानमन्त्री दाहाल ओली गठबन्धनभन्दा देउवा गठबन्धनप्रति बढी अश्वस्त देखिए पनि निर्णय लिन भने सकिराखेका छैनन् । यसभित्र केही रहस्य लुकेको पनि हुनसक्छ । यस विषयमा भारतीय बुद्धिजीवी एसडी मुनिमले दलहरुलाई सहमतिको आधारमा राष्ट्रपति चयन गर्न आग्रह गरेका छन् । यसरी उनी बोल्नुको आधार के छ ? सहमतिको आधारमा भन्दै राष्ट्रपतिमा नेपाली कांगे्रसका उम्मेदवारलाई सघाउने निर्णय भए सत्ता गठबन्धन कससँग गर्ने भन्ने प्रश्न पनि उठिरहेको छ ।

नेकपा माओवादीभित्र पनि राष्ट्रपतिमा नेपाली कांगे्रसलाई समर्थन गरेपछि प्रधानमन्त्रीलाई अप्ठेरो पर्नसक्छ । यस विषयलाई कांग्रेसले कसरी आश्वस्त पार्न सक्छ भन्ने विषयमा पनि छलफल भएको छ । यो स्वाभाविक पनि हो । यदि नेकपा माओवादीले सहयोग गर्ने हो भने शेरबहादुर देउवा राष्ट्रपति पदको लागि उम्मेदवार बन्दा राम्रो हुने भन्ने कुरामा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि सकारात्मक रहेको बुझिएको छ । शेरबहादुर चाहिँ रामचन्द्रलाई वचन दिइसकेको भनेर आफ्नो बारेमा अझै मुख खोलेका छैनन् ।

नेपाली कांग्रेस प्रचण्डलाई चार वर्षसम्म पनि प्रधानमन्त्री बन्न दिने निर्णय गर्ने सम्भावना पनि देखिन्छ भने प्रधानमन्त्री दहालले नेकपा एमालेको उम्मेदवारलाई भने कुनै पनि हालतमा समर्थन गर्न नसकिने विश्वास नेपाली कांग्रेसलाई दिलाइरहेका छन् । सहमतिको लागि प्रचण्डले पनि नेपाली कांगे्रसबाट राष्ट्रपतिको उम्मेदवार कृष्णप्रसाद सिटौलाको भए हुन्थ्यो भन्ने चाहना भए पनि कसैको नाममा मुख खोलेका छैनन् ।

नेपाली कांग्रेस पनि प्रचण्डलगायत नेकपा माओवादीको मनोविज्ञान बुझेर मात्र आफ्नो उम्मेदवार तय गर्ने सहमतिका साथ तय गरेको छ । पछिल्लो समयमा आएर ओली–नेपाल निकटता बढेको खबर बाहिर आइरहेको छ । यदि नेपाल–ओली निकटता बढ्ने र एकता सहितका राष्ट्रपति उम्मेदवार नेपाललाई ओलीले बनाउन सके भने सभाले पनि नेपाली कांग्रेस बराबर संसद सदस्य रहेको पार्टी बन्नेछ भने प्रचण्डलाई यस रणनीतिलाई यदि ओलीले सार्थक गर्नसके राजनैतिक मियो उनको हातमै रहनेछ ।

सुनेका कुराहरु अफवाह अथवा यथार्थ के हो ? त्यो घटनाले पुष्टि गर्ला । मंगलबार, बुधवारसम्म माधव नेपालले त्यो आशय व्यक्त गरेका छैनन् । विदेशका सचिव र राजदूतहरु नेपाल आए भने हाम्रा राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री र नेताहरु भेट गर्न लाममा लाग्ने गर्छन् ।

यो पोर्टफोलियो खोज्नेहरुलाई थाहा छ, ओली र नेपालबीच महाराजगञ्जको यो टाइम चार घण्टा ओली र नेपालबीच संवाद भएको र ओलीले नेपाललाई राष्ट्रपतिका निमित्त अफर गरेको भन्ने समाचार आइरहेको बेलामा पार्टीको लुम्बिनी प्रदेशको कार्यक्रमलाई सम्बोधन गर्न दाङमा आएका नेता नेपालले राष्ट्रपतिका विषयमा आफ्नो कसैसँग संवाद नभएको, कसैबाट प्रस्ताव पनि नआएको र यस विषयमा चासो पनि नरहेको बताएका छन् ।

त्यस्तै राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टी ले यस विषयलाई शक्ति बाँडफाँडको रुपमा लिएको बताएका छन् । पछिल्लो समयमा आएर राष्ट्रपतिको उम्मेदवार छनोटको क्रममा नेपाली कांग्रेस र नेकपा माओवादीको तर्फबाट लिखित सहमति गरेर नेपाली कांगे्रसका उम्मेदवारलाई सघाउने निर्णय गर्ने तयारीमा छन् रे ।

माधवकुमार नेपाललाई एक वर्ष भए पनि सत्ताको नेतृत्व गर्ने अवसर दिने गरी सहमतिको तयारी भइरहेको देखिन्छ । उता नेकपा एमाले आफ्नो तर्फबाट पनि माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाएर भए पनि सप्तरङ्गी गठबन्धन जोगाउने तयारीमा पनि छन् । राजनीति पछिल्लो समयमा आएर पञ्चामृत र सप्तरंगी गठबन्धनको डोरी तानातानको रस्साकस्सीमा छ ।

माधव नेपाललाई एक वर्ष सरकारको नेतृत्व दिएर भए पनि पञ्चामृत गठबन्धन नै ब्यूँताउने प्रयास गरेपछि नेकपा समाजवादी पनि नेपाली कांगे्रसको उम्मेदवारलाई सघाउन सकारात्मक रहेको छ भने माधव नेपालको नाम राष्ट्रपतिको उम्मेदवारको रुपमा देखाएको कार्ड र यस सम्बन्धमा भएको संवादमा सौहार्दता देखिएन रे । केवल दाहाल र ओलीबीच धम्काउने, दम्काउने, तर्साउने, झस्काउने मात्र भएको छ रे । यसले पनि के बुझाउछँ भने उनीहरु दुई बीचमा एक आपसमा विश्वास नै छैन ।