पछिल्लो समयमा छिल्लीकोटको पर्यटकीय सम्भावना बढिरहेको छ । ऐतिहासिक, धार्मिक एवम् पर्यावरणका हिसाबले पनि धेरै पर्यटकीय सम्भावना बोकेको छिल्लीकोटमा दैनिकजसो आन्तरिक पर्यटकको उपस्थितिले छिल्लीकोटका स्थानीयलाई हौस्याएको छ । कम्तिमा एक दर्जन जति होमस्टेहरुले आन्तरिक पर्यटकलाई स्वागत गरिरहेका छन् ।
ऐतिहासिक पृष्ठभूमि कोट्याउँदा छिल्लीकोट राजा मेघनाथ शाहले बाइसे–चौबीसे राज्य हुँदा शासन गरेको छिल्लीकोट तीन जिल्लाको माल अड्डाका रुपमा पनि चिनिन्छ । धार्मिक हिसाबले शिव पत्नी सतीदेविको कुम पतन भएको धार्मिक पीठका रुपमा पनि छिल्लीकोट चिनिँदै आएको छ । छिल्लीकोटमा रहेका मालिका मन्दिर र कालीका मन्दिरले पनि धार्मिक इतिहास बोकेका छन् । यसैगरी छिल्लीकोटको अर्को विशेषता भनेको मालागेडीको वन पनि हो । अर्थात् विश्वकै दुर्लभ वनस्पती सुगन्धकोकिलाको वनका रुपमा पनि छिल्लीकोट प्रख्यात छ । सयौँ प्रजातिका चराहरुको बासस्थान तथा हजारौँ जडिबुटीजन्य वनस्पती पाइने छिल्लीकोटको पर्यटकीय सम्भावनालाई समग्र दाङले पछ्याउनुपर्ने देखिएको छ ।
छिल्लीकोटको पर्यटनको यति धेरै सम्भावना हुँदा पनि छिल्लीकोट उपेक्षामा परेको छ । छिल्लीकोटसम्म पुग्नको लागि उपयुक्त सडक छैन । कच्ची सडकमा साना सवारी साधन मुस्किलले पुग्न सक्छन् । छिल्लीकोटमा पिउने पानीको पनि पर्याप्त उपलब्धता छैन । पक्की सडक अर्थात् पर्यटकीय मार्ग निर्माण हुनसके छिल्लीकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने प्रशस्त सम्भावना रहेको छ । यसैगरी छिल्लीकोटमा केवलकारको पनि सम्भावाना छ । यसका लागि यहाँका स्थानीय सरकारले मात्रै योजना बनाएर पुग्दैन । संघ र प्रदेश सरकारको समेत सहयोग भएमा केवलकारको सञ्चालन आउनसक्छ । केही व्यवसायीले छिल्लीकोटका भिउ–टावरबाट तीन किमी लामो जिपलाइन सञ्चालनका लागि प्रयास गरिरहेका छन् । तर यो काम पनि अझै पूरा हुनसकेको छैन ।
छिल्लीकोटको समग्र विकासका लागि सबैको सामूहिक योगदानको आवश्यक छ । यहाँ सञ्चालनमा आएका होमस्टेहरुलाई अझै व्यवस्थित गर्न आवश्यक छ । यहाँ आइपुग्ने पाहुनाहरुलाई स्थानीय अर्गानिक खानासँगै मगर समुदायको सांस्कृतिक प्रस्तुती देखाउनसके यहाँ आउने पाहुना बढ्न सक्छन् । दाङ जिल्लाका मात्र नभएर मुलुकभरका पर्यटकहरुलाई आकर्षित गर्नका लागि यसको प्रचारप्रसार पनि आवश्यक छ । यसमा सञ्चार क्षेत्रको पनि साथ र सहयोग उत्तिकै आवश्यक छ ।
विशेष गरी दाङको समृद्धिको मुख्य आधार पर्यटन पनि हो । बाह्य पर्यटक यहाँ भिœयाउनसके स्थानीयको आय आर्जन र जीविकोपार्जनमा पनि थप टेवा पुग्न सक्नेछ । यसमा स्थानीयबासीको पनि उत्साह आवश्यक छ । खानेपानीको लिफ्ट योजना भए पनि सञ्चालनमा आउनसकेको छैन । यहाँ निर्माण भएको भिउ–टावरलाई अझै थप सुविधा सम्पन्न गराउन सकिन्छ । यसमा पनि सरकारको ध्यान जान आवश्यक छ । औद्योगिक सडकको विकल्पका रुपमा भिन्नै पर्यटकीय सडक निर्माण हुनसके त्यहाँ पुग्न सवारी साधनहरुलाई थप सहज हुनेछ । यसका लागि संघीय सरकारले आवश्यक बजेट विनियोजन गर्नका लागि यहाँका सांसदहरुको पहल हुन जरुरी छ । छिल्लीकोटको पर्यटकीय सम्भावनालाई सम्बोधन गरौँ ।