Goraksha

National Daily

कोरोना भाईरस हामीलाई मार्न आएको होइन

सुप्रिया मा

यो संसारमा रहेका सबै प्राणीहरु चाहे त्यो जीवाणु (bacteria), किटाणु (germ), वा विषाणु (virus) नै किन नहोस उनिहरुमा जीवेषणा रहेको हुन्छ । अर्थात बाँच्ने प्रवल चाहना रहेको कारणले जसरी पनि बाँच्न चाहन्छन् । जीवेषणा भएको करणले गर्दा जस्तोसुकै परिस्थिति अथवा कुनै पनि अवस्थामा वा जस्तोसुकै संघर्ष गरेर भएपनि आफ्नो अस्तित्व बचाई राख्न चाहन्छन् । प्रकृतिलेनै प्राणीहरुलाई त्यस्तै बनाएको छ । जस्तोसुकै परिस्थितिमा पनि आफ्नो जीवन बचाई राख्न प्राणीहरु जीवनभर संघर्ष गरिरहन्छ ।

बाँच्नका लागि बस्ने घर वा भनौ बासस्थानको पनि आवस्यक्ता पर्दछ । जीवेषणा भएको कारणले बासस्थान नहुने स्थिति हुने बित्तिकै प्राणीले तुरुन्तै अर्को बासस्थानको खोजी गर्दछ ।
जीवाणु, किटाणु र विषाणुहरु पनि आफ्नो बासस्थानमा आरामले बसेका हुन्छन र अफ्नो अस्तित्व बचाई राखेका हुन्छन् । मानव शरिरलाई पनि आफ्नो बासस्थान बनाएर लाखौं, करोडौं यस्ता जीवाणु, किटाणु र विषाणुहरु मानव अस्तित्व रहेदेखि नै बसिरहेका छन् । मानिसहरु पनि उनीहरुलाई लिएर आरामले बाचिरहेकै छन् ।

हामीले कोरोना भाइरस (Covid -19) नाम दिएको यो विषाणु वा भाइरस पनि कुनै जनावर वा किराहरुमा आफ्नो बासस्थान बनाएर उनीहरुलाई कुनै प्रकारको हानी नगरिकन बसिरहेको थियो र अहिले पनि बसिरहेको छ । जनावर र किराहरु पनि यो भाइरससंगै बाँचिरहेका थिए, बाँचिरहेका छन् । कोरोना भाइरससंगै बाच्न जानेका थिए, जानेका छन् र बाचिरहेकै छन् ।

अहिले आएर यो कोरोना भाइरस कुनै कारणवश मानिसको शरिरमा प्रवेश गर्न पुग्यो । हाम्रा लागि त्यो नयाँ पाहुना भयो र उस्का लागि मानव शरिर एउटा नयाँ घर भयो । नचिनेको नयाँ पाहुनाले हामीलाई त्रसित बनायो । जीवेषणा भएको कारणले त्यो भाइरस जस्तोसुकै परिस्थितिमा पनि बाच्न चाहन्छ । हाम्रो शरिरभित्र त्यो भाइरसलाई बाँच्नका लागि धेरै संघर्ष गर्नुपर्ने हुन्छ र आफु बाँच्न सक्ने मानिस भित्रको कोशिका खोजेर त्यहाँ गएर बस्दछ । भाइरसले आफु बाँच्नका लागि संघर्ष गर्दा मानिसहरुलाई हानी हुन जान्छ । जुन मानिसको प्रतिरोध शक्ति (Immunity Power) कम हुन्छ, त्यस्ता मानिसहरुले भाइरसको संघर्षलाई सहन गर्न सक्दैनन् र आफ्नो जीवन गुमाउनु पर्ने पनि हुन्छ । मानिसहरुले पनि आफ्नो जीवेषणाका कारणले बाँच्नका लागि संघर्ष गर्दछन् र भाइरसले पनि बाँच्नकै लागि संघर्ष गरिरहन्छ । यो संघर्षमा कहिले मानिसहरु मर्नु पर्ने हुन्छ त कहिले भाइरसहरु । धेरैेजसो मानिसहरु, जस्को प्रतिरोध शक्ति (Immunity Power) बलियो छ, उनीहरु बाँचिरहेका छन् । धेरै मानिसहरुलाई यो भाइरसले पनि कुनै प्रकारको हानी गरेको छैन् । यसरि बासस्थान खोज्दै हाम्रो शरिरमा झुक्किएर प्रवेश गरेको भाइरसले संघर्ष गरिरहेको छ र कहिलेसम्म हाम्रो शरिरमा संघर्ष गरिरहन्छ, त्यो पनि थाहा छैन । यो भाइरस पनि मानिसलाई मार्न आएको होइन, आफु बाँच्नका लागि घर खोज्दै आएको हो । नयाँ घरमा आफु बाँच्नका लागी प्रवेश गरेर संघर्ष गरिरहेको छ । यो नयाँ भाइरसको प्रवेशले मानिसहरुलाई दुःख, त्रास र कष्ट भयो त्यो अर्काे कुरा हो ।

आशागरौं, केही समयपछि हाम्रो शरिरबाट यो आफै निस्केर जाओस् । अथवा यस्तो पनि हुन सक्छ, भाइरस फैलिएको केही समय बितेपछि भाइरसले पनि आफुलाई परिवर्तन गरेर मनिसहरुलाई कुनै हानी नगरिकन मानव शरिर भित्र जीउन सक्ने भएर आउला । मानिसहरु पनि आफुलाई बलियो बनाएर यो भाइरसलाई संगै लिएर बाँच्न सक्ने बन्लान् । कामना गरौं त्यस्तो दिन आओस्, जुनदिन मानिस र भाइरस दुबै आरामले बाँच्न सकुन् ।

-सुप्रिया मां आनन्दपथ सस्थाका सस्थापक हुनुहुन्छ ।