दाङ,२८ माघ । लुम्बिनी प्रदेशमा लीला गिरी नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
प्रदेश प्रमुख कार्यालयका अनुसार आर्थिक मामिला मन्त्रीमा जोखबहादुर महरा, चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा शहरी विकासमन्त्री, इन्द्रजित थारु भौतिक पूर्वाधार विकास मन्त्री, विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री र कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री बनेकी छिन् ।
यसैगरी दुर्गाप्रसाद चौधरी वन तथा वातावरण मन्त्री, जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री, तुलसीराम शर्मा, कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका छन् । चन्द्रदेव गुप्ता सामाजिक विकास मन्त्री नियुक्त भएको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।