लिटिल एञ्जल स्कूलको २६औँ वार्षिकोत्सव

गोरक्ष समाचारदाता
दाङ, २६ माघ । घोराही उपमहानगरपालिका वडा नं. १८ मा रहेको लिटल एञ्जल स्कूलले २६औँ वार्षिकोत्सव मनाएको छ । विद्यालयले बुधवार एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले व्यावहारिक शिक्षा आवश्यक रहेको बताए । व्यावहारिक शिक्षाले नागरिकलाई स्वरोजगार बनाउन सहयोग पु¥याउने उनको भनाइ थियो । पछिल्लो समय शिक्षाको विकास हुँदै गएको उनले बताए । सबै नागरिक शिक्षा लिनबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको उनले बताए । ‘अहिले घरआँगनमै गुणस्तरीय शिक्षा लिन सकिने भएको छ’, प्रमुख शर्माले भने ।

शिक्षाको विकासमा निजी क्षेत्रको पनि महत्वपूर्ण सहयोग रहेको बताए । प्याब्सनका जिल्ला अध्यक्ष मधुसूदन केसीले संस्कार सहितको शिक्षा आजको आवश्यकता रहेको बताए । संस्कारले नै मानिसलाई अगाडि बढाउन सहयोग पु¥याउने बताए । बालबालिकालाई असल संस्कार प्रदान गर्न अभिभावक तथा विद्यालयका शिक्षक लाग्नुपर्ने कुरामा उनले जोड दिए । ‘बालवालिकालाई जस्तो वातावरण दियो त्यसैअनुसार अगाडि बढ्छन्’, उनले भने ।
विद्यालयका प्रिन्सिपल यादव गिरीले विद्यालयले समयानुसार पठनपाठनको कार्य परिवर्तन गरेर अगाडि बढेको बताएका थिए । विद्यालयले प्रविधिको प्रयोग गरेर शिक्षामा जोड दिएको उनको भनाइ थियो । बालबालिकालाई शिक्षासँगै सिकेका कुराहरूलाई व्यावहारिक प्रयोगमा ल्याउने गरिरहेको समेत उनले बताए । विद्यालयले अनुसन्धानमूलक शिक्षण सिकाइ अगाडि बढाउने समेत गिरीले बताए ।

यसका लागि अभिभावकले विद्यार्थीका लागि सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने कुरा समेत गिरीले बताए । अभिभावकको सहयोगबिना विद्यालय एक्लै अगाडि बढ्न नसक्ने उनको भनाइ थियो । प्याब्सनका घोराही उपमहानगरपालिका अध्यक्ष वीरेन्द चन्दले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताए । ‘राज्यले निजी क्षेत्रलाई चिन्दैन, यो दुःखको कुरा हो’m उनले भने । विद्यालयहरूले शिक्षासँगै व्यावहारिक सिकाइ सिकाउनुपर्ने बताए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णचन्द्र गिरीको अध्यक्षतामा भएको थियो ।

विद्यालयका भाइस प्रिन्सिपल बिमलकुमार रोकाको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षकहरू सपना बस्नेत र सुस्मिता पुनले गरेका थिए । कार्यक्रममा उत्कृष्ट शिक्षकको रूपमा गीता बिसीलाई सम्मान गरिएको थियो । यसैगरेर उत्कृष्ट विद्यार्थीहरूलाई पुरुकृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीले निर्माण गरेका विज्ञानकला प्रदर्शनी तथा विभिन्न सांस्कृतिक प्रस्तुती गरिएको थियो ।