गोरक्ष समाचारदाता
तुलसीपुर, २६ माघ । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले पार्टीलाई बलियो बनाउन केन्द्रित भएर काम गर्नुपर्ने बताएका छन् । तुलसीपुरमा भएको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले व्यक्ति गौण भएको भन्दै पार्टी सबैभन्दा ठूलो भएको बताए । उनले पार्टीलाई अहित हुने कार्य कोहीकसैले पनि गर्न नहुने बताए । उनले कांग्रेस हुँ भन्ने चुनावमा कांग्रेसलाई भोट नहाल्नेलाई पार्टीमा बसिरहन नैतिकताले नदिने समेत बताए ।
‘नेपाली कांग्रेसको पार्टीमा बस्ने, कांग्रेसलाई भोट नदिने पाटीमा बस्नु हुँदैन, यस्तालाई संरक्षण कसैले पनि गर्नु हुँदैन’, उनले भने । उनले पार्टी भित्रको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा र एकले अर्कोलाई सहयोग गर्ने भए पनि पार्टीको निर्वाचनपछि त्यो अन्त्य हुने बताए ।
‘निर्वाचन भयो भने हार–जित हुन्छ, त्यो स्वाभाविक प्रकृया हो, अर्को पटक जित्छु भनेर संगठन गराउन लाग्नुपर्छ, पछिसम्म रिस पालेर पाटीलाई नोक्सान गर्नेकाम कसैले गर्नु हुँदैन’, उनले भने । राठोरले देशमा आमूल परिवर्तनका लागि नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहेको भन्दै वीपी, गणेशमान, सुवर्णजस्ताले निर्माण गरेको पार्टी भएकाले आत्तिन र मात्तिन नहुने बताए । ‘धेरै आत्तिनु र मात्तिनु हुँदैन, कांग्रेसमा पहिलो पटक साधारण सदस्य लिएकाले पनि टिकट पाउँछन्, ४० वर्ष सक्रिय सदस्य भएकाले पनि पाउँछन्, यो लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो’, उनले भने ।
उनले आफ्नो वडामा कांग्रेसलाई जिताउन नसक्नेले नेताले पद ओगटेर बसिरहन नहुने बताए । ‘एउटा व्यक्तिले चाहेपछि त्यो वडा सजिलै जिताउन सक्छ, त्यो मैले धेरै ठाउँमा देखेको छु’, उनले भने । राठोरले पहिलो महत्व पार्टी त्यसपछि आफ्नो गुट अनि नेतालाई महत्व दिनुपर्ने बताए । उनले पार्टीलाई घाटा हुने काम गर्ने जोकोहीलाई पनि आफूले कार्यकर्ता तथा नेता नमान्ने समेत बताए ।
राठोरले अहिले कांग्रेसमाथि चौतर्फी आक्रमण भएको भन्दै अब युवाहरू कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने बताए । उनले कांग्रेसमा अब युवाहरूले पार्टी जोगाउने समय आएको समेत बताए । ‘कांग्रेसमा एउटा नराम्रो हावा फैलाएको छ, कांग्रेसमा युवा छैनन् भनेर ४ पुस्ताहरू कांग्रेसमा छ, के महामन्त्रीहरू युवा छैनन् ? अन्य पदमा को–को छन् नेतृत्व गर्ने’, उनले प्रश्न गरे । त्यस्तै युवाहरूको नेतृत्व भएन भन्नु गलत भएको उनले बताए । राठोरले गौतम बुद्ध र महात्मा गान्धीजस्ता व्यक्ति सर्वसहमत नभएको उदाहरण दिँदै सबै कुरा आफ्नो हुनुपर्छ भन्ने मानसिकता सबैले त्याग्नुपर्ने बताए । उनले कांग्रेसका हरेक कार्यकर्ता अनुशासित रहनुपर्ने समेत बताए ।
‘कांग्रेस अरुजस्तो पार्टी होइन, वडा सदस्य पाइएन भनेर पार्टी छोड्ने कांग्रेसको इमानदार कार्यकर्ता हुन सक्दैन’, उनले भने । उनले सबै कुरामा सबैलाई सन्तुष्ट पार्न नसकिने भन्दै राजनीति लिनका लागि नभइ दिनका लागि पनि भएको बताए । दाङमा पनि विभिन्न कारणले कांग्रेसमा समस्या आएको भन्दै आफ्ना उम्मेदवारलाई जिताउन सबैले इमानदारीका साथ सहयोग गरेको भए सबै स्थानीय निकायमा जित्ने निश्चित भएको समेत बताए ।