भुवन पोख्रेल
राजनीतिक परिर्वनहरु भए, नयाँ सरकार गठन भयो, नेताको अवस्था फेरियो, समय फेरियो, व्यवस्था फेरियो तर जनताको जीवनस्तरमा परिवर्तन आउन सकेन, मुलुकको राजनीतिलाई डो¥याउने नेतृत्ववर्गको प्रवृत्ति फेरिएन, व्यवस्था फेरिए पनि ।
लुट र भ्रष्टाचारले मुलुक गाँजिएको छ तर राज्य आज पनि उस्तै मौन छ । एकतर्फ मुुकमा कम्युनिस्ट सरकार छ भने अर्थतन्त्र छाडा पुँजीवादमा आधारित छ । एक किसिमले भन्दा सरकारी अनुगमन छैन, मनपरीतन्त्र हाबी छ । बिचौलिया र लुटेराहरु बाक्लिँदै र मौलाउँदै गइरहेका छन् भनी गरिखाने वर्ग पाखा लागेका छन् । यो अर्थतन्त्र जे गर्छ बिचौलिया र लुटेरालाई पषपोषण गरेको छ । पाइला–पाइलामा माकुराको जालोजस्तै लुटेराहरु विच्छिएका छन् ।
राज्यले कसैलाई अन्याय अत्याचार, शान्ति, सुरक्षा कायम गर्न सरकार चुकेको छ । यहाँ गरिखानेवर्गको उठिबास लाग्ने परिस्थिति सिर्जना भएको छ । यो देश गरिखानेकोभन्दा लुटिखानेको कब्जामा छ । सरकार कृषिमा अनुदान नीतिको खुब प्रचारप्रसार गर्छ तर भूँइ तहमा कसरी त्यसको दुरुपयोग भएकोछ, त्यसको वास्तविकता पनि मुलुकले उजागर गर्न सक्नुपर्छ । सरकारी कर प्रणाली, बैड्ढिङ प्रणालीबीचको माखो, साङ्लोबाट साना उद्योगी, व्यवसायी चेपुवामा परेर उठिबास भइरहेका छन् ।
साना उद्योगले घाटा हुँदाहुँदा देखाउन नमिल्ने, देखाएमा बैंकबाट ऋण प्राप्त नहुनेजसता दुःखेसो व्यवसायीका छन् । सरकारले ती दुखेसा र पीडाहरुमा मल्हमसम्म लगाउन खोजेको देखिँदैन । समाजवादी र मानवीय कोणबाट हेर्दा पुँजीवादी व्यवस्था क्रुरतम आर्थिक व्यवस्था हो । धेरैवटा भुरा माछा निलेर एउटा ठूलो माछोको पेट भर्ने अर्थ व्यवस्था हो । राज्यले ठूला माछाको पक्षपोषण गर्छ । साना तथा मझौला उद्योग गर्ने उद्योगीहरु प्रतिस्पर्धामा टिक्न गाह्रो छ । राज्यले पनि घरेलु तथा साना उद्योग संरषण र प्रबद्र्धन गर्ने नीति हुनुपर्छ ।
नेपाल प्राकृतिक स्रोत साधनले भरिपूर्ण देश हो । विश्वमा पाइने धेरै प्रकारका हावापानी, वनस्पती र धरातलीय स्वरुप यहाँ पाइन्छन् । नेपालमा प्रशस्त जलविद्युत निकाल्न सकिने नदीहरु र अपार जलको भण्डारका स्रोत हिमालय पर्वत श्रेणीहरु रहेका छन् । बाह्रै महिना विभिन्न प्रकारका बालीनाली लगाउन सकिने हावापानी र भूधरातल रहेको छ ।
हावापानी र प्राकृतिक सुन्दरताका कारण पर्यटन व्यवसायको पनि ठूलो सम्भावना रहेको छ । दायाँ–बायाँ ठूलो जनसंख्या भएका छिमेकी देश चीन र भारत भएका कारण नेपालबाट निर्यात व्यापारको ठूलो सम्भावना रहेको छ । पहाडमा भएका खनिज स्रोतका कारण औद्योगिकीकरणको पनि उत्तिकै सम्भावना छ । सम्भावनाको बीचमा भए पनि नेपालले उठाउनुपर्ने जति लाभ उठाउन सकेको छैन । अथाह सम्भावना भएर पनि त्यसको पर्याप्त लाभ उठाउन सकेको छैन ।
नेपालको अर्थतन्त्रलाई विश्लेषण गर्दा अर्थतन्त्रका निम्न आधार छन् ः
कृषि ः
नेपाल कृषिप्रधान मुलुक हो । यहाँका ६० दशमलव ४ प्रतिशत जनसंख्या कृषिमा आबद्ध छन् । नेपालीले खाद्यान्न आपूर्ति, आम्दानी र रोजगारीका हिसाबले कृषिलाई नै रोजेको देखिन्छ । अधिकांश नेपाली कृषिलाई सुरक्षित पेसा मान्दछन् । किनकि कृषिमा थोरै लगानीमा नै निर्वाहका लागि आवशयक खाद्यवस्तु प्राप्त गर्न सकिन्छ ।
नेपालका अधिकांश कृषिकको आफ्नै जग्गा भएका कारण पनि यो पेसाबाट बाहिरिन नेपाली कृषकहरुलाई कठिन भएको देखिन्छ । नेपालमा कूल ग्राह्यस्थ उत्पादनमा २७ दशमलव ६ प्रतिशत योगदान कृषिको रहेको छ । त्यसैले नेपालको अर्थतन्त्रको मूलआधार कृषि नै हो भन्न सकिन्छ । नेपालको कृषि प्रणालीर्ला आधुनिकीकरण गर्ने क्रम बढेको छ । यसका लागि कृषिको व्यवसायीकरण, चक्लाबन्दी खेती, आधुनिक कृषि उपकरणको प्रयोग, उन्नत बिउविजन तथा मलखादको प्रयोग वृद्धि भएको देखिन्छ ।
उद्योग
नेपालमा उद्योग क्षेत्रको विकास अपेक्षाकृत रुपमा हुन नसके पनि यसको योगदान भने महत्वपूर्ण रहेको छ । जनताका लागि आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउने यस क्षेत्रको महत्व दिनानुदिन बढ्दै गको छ । ग्रामीण क्षेत्रमा कुटीर उद्योगले केही आवश्यकता पूरा गरेको छ भने सहरी क्षेत्रमा साना तथा मझौला उद्योगको बाहुल्य रहेको छ । दिन प्रतिदिन मझौला र ठूला उद्योग स्थापना हुने क्रम चलिरहेको छ ।
नेपालको कूल ग्राह्यस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान ५ दशमलव ५ प्रतिशत रहेको छ । वि.सं. २०७६ सम्ममा औद्योगिक क्षेत्रबाट करिब ६ लाख १५ हजार जनतालाई रोजगारी मिलेको छ । औद्योगिक उत्पादन बढाउन सकेमा औद्योगिक वस्तु निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न पनि सकिन्छ । धेरैजसो उद्योग कृषिमा आधारित हुनाले कृषिमा आउने उतारचढावले यसलाई प्रत्यक्ष प्रभाव पार्दछ । पछिल्लो समयमा उर्जामूलक उद्योग, सिमेन्ट उद्योग र निर्माण उद्योगहरुतर्फ लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।
जलस्रोत
जलस्रोत नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण आधार बन्नसक्छ । नेपालको हिमालय पर्वत श्रेणीबाट अटुट रुपमा बग्ने नदीहरुबाट जलविद्युत उत्पादन गरेर निर्यात गर्न सकेमा नेपालको आर्थिक समृद्धिमा मद्दत गर्छ र व्यापार घाटा कम गर्न सकिन्छ । नेपालमा पहाडी भिरालो जमिनबाट बग्ने नदीहरु प्रशस्त भएकाले जलविद्युतको उत्पादनको ठूलो सम्भावना रहेको छ । आर्थिक रुपले ४२ हजार मेगावाट उत्पादन क्षमता रहेकोमा आ.व. २०७६÷०७७ फागुन मसान्तसम्म १०८ दशमलव १३ मेगावाट जलविद्युत उत्पादन भएको छ । नेपाल सरकारले वि.सं. २०७५–०८५ लाई उर्जा तथा जलस्रोत दशकका रुपमा मनाउने निर्णय गरेको छ । यसले देशभित्रै औद्योगिकीकरण गर्न समेत सहयोग पुग्दछ ।
विद्युत प्रसारण र निर्यातका लागि आन्तरिक र अन्तरदेशीय विद्युत प्रकरण लाइनहरुको निर्माण कार्य पनि तीव्र रुपमा अघि बढिरहेको छ । नेपालका नदीहरुको पानीलाई नहरद्वारा पहाडका बेसी, भित्री, मधेस र तराईका उर्वर भूमि तथा फाँटहरुमा पु¥याएर सिंचाइ गरी कषि उत्पादकत्व बढाउन सकिन्छ । नेपालमा कूल २६ लाख ४१ हजार हेक्टर सिंचाइयोग्य जमिन रहेको छ । आ.व. २०७५÷०७६ सम्ममा १४ लाख ७३ हजार हेक्टर जमिनमा सिंचाइ सुविधाका लागि पूर्वाधार विकास भएको छ ।
मानव संसाधन
जुनसुकै देशको अर्थतन्त्रमा त्यस देशका मानव संसाधनको ठूलो भूमिका हुन्छ । कृषि, उद्योग, पर्यटन व्यापारलगायतका सबै गतिविधि मानवले नै सञ्चालन गर्ने हो । जहाँ मानव संसाधन व्यापक परिचालन हुन्छ, त्यस देशको आर्थिक प्रगति पनि तीव्र हुन्छ । नेपालमा सक्रिय जनसंख्या बढी भएको हुनाले यहाँको जनशक्ति उपयोग गर्न सके देशको छिट्टै विकास हुन्छ । पढाइको निहुँ गरेर विदेश जाने र उतैको स्थायी बासिन्दा वा नागरिक भएर बसिदिनेले एकातर्फ देशमा विप्रेषण रकम भित्रिन सकेको छैन भने अर्कातर्फ बौद्धिक जनशक्ति पलायन भएको छ ।
देशमा उपलब्ध मानव संसाधनको सदुपयोग गर्नका लागि राज्यले स्वदेशभित्र नै रोजगारीका अवसर सिर्जना गर्न सक्नुपर्छ । यसका लागि प्राविधिक शिक्षामा जोड, कृषि आधुनिकीकरण, उद्योग विस्तार नेपाल प्राकतिक रुपले धनी भएर पनि आर्थिक गतिविधि मन्द भइ गरिबीको सामना गर्नु परिरहेको छ । मुलुकमा जुन सरकार आए पनि आर्थिक समृद्धि हुन सकेन । अझ भएको आर्थिक मन्दी लयमा फर्किन सकेको छैन । राज्यले आर्थिक विकासका थुप्रै प्रयास गर्नुपर्छ । सीमित मात्रमा भएका प्रयासहरु पर्याप्त छैनन् । राज्यले ति नै समृद्धिको कुरा गरे पनि नेपालको अर्थतन्त्रले गति लिन सकेको छैन ।
नेपालमा आर्थिक विकासको लागि योजना बन्छन् तर कार्यान्वयनको पक्ष कमजोर हुन्छ । अस्थिर सरकारका कारण सरकार फेरिन्छ, योजना फेरिन्छन् । कतिपय बीचैमा छोडिन्छन् । कति योजना आर्थिक अभावले अलपत्र छन् । कति योजना पूरा गर्न वर्षौँ लाग्दछ । नेपाल भूपरिवेष्ठित देश भएकाले समुद्रसम्मको पारवहन सुविधा छैन । समुद्री देशसँग सिधा व्यापार हुन सकेको छैन । समुद्र पारको व्यापारमा भारतसँग निर्भर रहनु पर्छ । दोहोरो भन्सार महशुल, सडक ढुवानीका कारण सामान महँगो पर्न गएको छ । मुलुकमा पर्यटन व्यवसायको प्रचुर सम्भावना रहँदारहँदै पनि पर्यटन व्यवसायको प्रबद्र्धन गर्न सकिएको छैन ।
देशले ठूलो व्यापार घाटा व्यहोरेको छ । स्वदेशी मुद्रा वा सञ्चिती रकम विदेशतिर गइरहेको छ । हाम्रो व्यापार हामी अलैँची बेच्छौँ, ट्रक, बस, गाडी, कार, मेसिन किन्छौँ अनि कसरी सन्तुलन मिल्छ ? अत्यावश्यक वस्तुले समेत देशलाई थेग्न सकिरहेको छैन । स्वदेशी वस्तुले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्दैन अनि व्यापार घाटा हुन्छ । सामन्यतः हामी खोलामा करेन्ट लगाउँछौँ । विदेशबाट आउने माछा किनेर खान्छौँ अनि व्यापार घाटा हुन्छ । त्यसकारण पनि आर्थिक विकास हुन सकेको छैन ।
वैदेशिक रोजगारबाट प्राप्त रकम उत्पादनमा लगानी गर्न सक्नुपर्छ तर अनुत्पादित क्षेत्रमा लगानी भएको छ । जग्गा, जमिन, सुनमा लगानी गर्ने प्रवृत्तिले आर्थिक विकासमा टेवा पुग्न सकेको छैन ।
देशमा रोजगारीका अवसर प्राप्त छैनन् र राष्ट्रिय गौरवका आयोजनाहरु बेलैमा पूरा हुँदैनन् । मुलुकमा पर्याप्त सम्भावना छ र पनि मुलुकमा आर्थिक उन्नति हुन नसकी गरिबीको रेखामुनि परेको छ । यसमा शासकहरुको क्षमता, वृद्धि र दीर्घकालीन सोच र योजनाको कमी हो । देशको जनशक्तिलाई समुचित ढङ्गले परिचालन गर्न सकिएको छैन । प्राविधिक तथा व्यावसायिक भन्दा सैद्धान्तिक शिक्षा पद्धति, नेतामा कुर्सीमोह, एकअर्काको खुट्टा तान्ने प्रवृत्तिका कारण देशमा औद्योगिक विकास, पर्यटन विकास, कृषिमा आधुनिकीकरण आदि, आर्थिक विकासका पूर्वाधारहरु सुस्ताएका छन् ।
स्रोतको उचित परिचालन भइ देशको आर्थिक उन्नति भइ हामी सबै धनी बन्न सक्थ्यौँ । अझै पनि यस्ता कार्यमा सरकारले नीति तयार गरी रणनीतिक योजनाका साथ कदम चाल्ने हो भने आर्थिक विकासमा फड्को मार्न सकिन्छ । अब सबैले बेलैमा सोच्ने बेला आएको छ । हाम्रो देशको प्राकृतिक स्रोत, साधन, खनिज प्रचुर भएर पनि यिनको समुचित प्रयोगका लागि ठोस योजनाहरु बनाइ कार्यान्वयन गर्ने चुनौतीसँग सरकार डटेर सामना गर्न सक्नुपर्छ । सेवा क्षेत्रको विस्तार पर्यटन क्षेत्रको विकास गर्नुपर्छ । देशमा उपलब्ध जनशक्तिलाई शिक्षा, व्यावसायिक सीप, पुँजी, उद्यमशीलताको माध्यमबाट स्वदेशमा नै सक्रिय हरने वातावरण बनाउनुपर्छ ।
पर्यटन
नेपाल पर्यटन व्यवसायका लागि निकै सम्भावना बोकेको देश हो । यहाँ भौगोलिक विविधता, सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरता, साहसिक पर्यटनका लागि उपयुक्त अवस्थाहरु विद्यमान छ । सांस्कृतिक विविधता, धार्मिक तीर्थ स्थलहरु एवम् ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थलहरु रहेकाले विदेशी पर्यटकको गन्तव्य स्थान बन्न सक्ने ठूलो सम्भावना रहेको छ । विविध प्रकारका प्राकृतिक सौन्दर्यका कारण यहाँ फिल्मी पर्यटनको पनि ठूलो सम्भावना रहेको छ । पर्यटन उद्योगबाट प्रशस्त विदेशी मुद्रा आर्जन हुनसक्छ भने देशमा रोजगारीको सिर्जना पनि हुनसक्छ । सन् २०२५ सम्ममा वार्षिक २५ लाख पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्यका साथ नेपाल सरकारले काम गरिरहेको छ । अहिलेको पर्यटकहरुको सरदर बसाइ १३ दिन रहेको छ ।
यसलाई वृद्धि गर्न सकेमा अझै फाइदा हुनसक्छ । पर्यटन उद्योगका रुपमा होमस्टे, होटल, रिसोर्ट, लज, रेष्टुरेन्ट, मनोरञ्जन स्थलहरुको विकास भइरहेको छ । ¥याफ्टिङ, पदयात्रा, हिमाल आरोहण, क्यानोटिङ, माउन्टेन बाइकिङ, बन्जी जम्पिङ, प्याराग्लाइडिङ जस्ता साहसिक पर्यटनको पनि विकास भइरहेको छ । त्यस्तै नेपालमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी, आराध्य देव पशुपतिनाथ, मुक्तिनाज, जनकपुर धामलगायतका सयौँ तीर्थस्थलहरु रहेकाले धार्मिक पर्यटनको पनि ठूलो सम्भावना रहेको छ । काठमाडौं उपत्यकाको पुरातात्विक महत्वका कला, कृति, सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरताले नेपाल विश्वभरका पर्यटकहरुको गन्तव्य बन्नसक्छ ।
नेपाल सँगसँगै आर्थिक विकासमा अघि बढेका समान हैसियत राख्ने देशहरु अहिले विश्वका विकसित देशमा रुपमा रुपान्तरण हुन सफल भएका छन् । उनीहरुले त्यो अवस्था कसरी हासिल गरे र हामीले किन सकेनौँ भन्ने चिन्तन गर्नु जरुरी भएको छ, यस अवस्थाबाट मुक्त हुने उपायको खोजी गर्नु जरुरी छ ।
नेपालको अर्थतन्त्र उकासिन नसक्नु, आर्थिक मन्दीको दुष्चक्रमा फस्नुका कारणहरुमा निर्वाहमुखी कषि प्रणाली हुनु हो । देशको ठूलो जनशक्ति कृषि र पशुपालन संलग्न रहेको छ । परम्परागत सोच र प्रविधिमा आधारित निर्वाहमुखी कृषि प्रणाली कायम भएका कारण न्यून उत्पादकत्व अवस्था छ । त्यस्तै नेपालको उद्योगहरुको विकासको गति सुस्त रहेको छ । धेरैजसो उद्योगहरु कृषिमा आधारित छन् । त्यसर्थ औद्योगिकीकरणमा सुस्तता आएका कारण हामी आर्थिक विकासमा पछि पर्नुपरेको छ ।
न्यून आय तथा जीवनस्तरले पनि अर्थतन्त्र थला परेको हो । बेरोजगार तथा आंशिक रोजगारका कारण न्यून आय र जीवनस्तर भएका जनसंख्या ठूलो रहेको छ । कृषिमा लुकेको रोजगार कायम रहेको छ । त्यस्तै पुँजीको अभाव भएकाले लगानी वृद्धि हुनसकेको छैन । उत्पादित दक्ष जनशक्ति विदेश पलायन भएर जनशक्तिको अभावको अवस्था सिर्जना भएको छ । खनिज, जलस्रोत, माटो, सौर्य, उर्जा आदि प्राकृतिक स्रोत साधनको न्यून उपयोगको अवस्था छ ।
निर्यातभन्दा बढी मूल्यको आयात गर्नाले वैदेशिक व्यापार घाटा वृद्धि हुँदै गएको छ । परनिर्भरता उन्मुख आर्थिक प्रणाली कायम रहेको देखिन्छ । देशमा २१ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको र केही सीमित वर्गसँग सो आएमा धेरै नै असमानता देखिन्छ ।