युवराज शर्मा
नेपाली कृषि व्यवसायमा निर्भर छन् । बढ्दो जनसंख्या, घट्दो आपूर्तिले आयात गरेर पूर्ति गरे पनि व्यवसायहरु बढ्नसकेको अवस्था छैन । खाद्य संकट बढ्दै छ । आर्थिक अवस्था दिनानुदिन घटिरहेको छ । त्यसका लागि स्रोत साधनहरु छैनन् । घरमा शान्ति हुन नसकेको अवस्था छ । घरपरिवारमा चिन्तन बढेको छ । घरमुलीको पीडाले सताएको अवस्था घरघरमा छ । कतिपय घरधनीहरु डिप्रेशनमा छन् भने कतै चिन्तनग्रस्त अवस्थामा छन् ।
पढाइ छोडेर धनपैसा कमाउन विदेशी भूमितर्फ जानका लागि मैनपावरका महारथीहरुको शरणमा छन् । सरकार पनि वैदेशिक रोजगारका लागि युवाशक्ति पलायन गराउन अग्रसर छन् । कृषि व्यवसायलाई हेर्दा नेपालको खेतीपाती बुढेसकालको छहारी भएको छ । तैपनि छ महिनामा ६० अर्बको खाद्य वसतुहरु आयात भएको पाइन्छ । किसानहरुको मनोबल कृषि कर्ममा निराश भेग्नुपरेको छ । यसको मूलकारण उत्पादित वस्तुहरुले उचित मूल्य नपाउनु नै हो । किसानका उत्पादित वस्तुले मूल्य नपाउने र किसान बिचौलियाको खरिद विश्वासमा निर्भर रहनुपर्ने वाध्यता छ । यस्तै–यस्तै कारणले गर्दा नै किसानहरुका जमिनले बाँझो अवस्था देखाएका छन् ।
खाद्य, तरकारी र दुग्ध उत्पादन गरे पनि बजार छैन । शनिवारे हाटबजार लगाउँदा पनि खरिदकर्तामा धेरै आर्थिक स्रोत छैन । आफूसँग धनपैसा नभएपछि खाने लगाउने रहर हुँदाहुँदै खुम्चिनुपर्ने बाध्यता छ । वर्तमान समयमा नेपालीको आयस्रोत नै वैदेशिक कमाइ भएको छ । यहाँ सरकारले उद्योगधन्दा चलाएर स्वरोजगारको वातावरण बनाएन । नेपालमा रोजगारी दिनसक्ने क्षमता बढाउनुको बदलामा राजनीति हाबी गराइयो । यसले नेपालको उत्पादनले बजार पाएन । मान्छे पलायन हुने वातावरण बढ्यो ।खेतीपातीजस्ता कृषि व्यवसायहरु रुक्दै गए ।
प्राकृतिक प्रकोप, राजनीतिक खिचातानी र आयात गर्ने नीति सरकारी कार्यशैली भएपछि नागरिकको जीवन स्तर माथि उठ्न सकेन । ओरालो लाग्दैछ । नेपाल पनि गरिब देशमा परिसकेको छ । वर्तमान समयमा गरिब देशका धनी नेताहरु बन्न सफल छन् । उनीहरुले नेपालमा भएका उद्योग व्यवसायलाई बन्द गरिदिए । सस्तो मूल्यमा विदेशीहरुलाई विक्री गरिदिए । युवाहरुलाई विदेश पठाउने वातावरण बनाउन मैनपावरजस्ता कम्पनी खडा गरेर उनीहरुलाई विदेश पठाएर गुमनाम पारिएको छ । उनले पठाएको रेमिट्यान्सबाट सरकरी खर्च चलेको छ ।
जल, जमिन र जंगल मानवका लागि आवश्यक पर्छ । त्यस्तै सडक, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य केन्द्र, सिंचाइ प्रणाली, सञ्चार, यातायात व्यवस्था, सामग्रीहरुको विक्री केन्द्रजस्ता विकासका आधार हुन् । किसानहरुले भोग्दै आएको दैविक प्रकोपमा बाढी, पहिरो, भूकम्प र जमिनमा देखिनु भाष हो । जहाँ जमिन भासिन्छ र खाल्डो पर्छ त्यस ठाउँमा उत्पादन हुँदैन । कतै पानी जाम हुन्छ । साथै जलवायु परिवर्तनले गर्दा उत्पादनमा ह्रास आउँछ । जसमा अनपेक्षित समयमा वर्षा हुनेले पनि अपेक्षा गरेको मात्रामा उत्पादन हुँदैन ।
जमिनमा बढ्दै गउको उत्पादक तत्व जगाउन प्राङ्गारिक मल प्रयोग गर्दा पनि अपेक्षित मात्रामा पनि उत्पादन बढ्नसकेको छैन । माटोको परीक्षण गराएर उत्पादकत्व प्रयोग गर्दा पनि किसानहरु समस्यामा छन् । यसले कृषि उत्पादनमा ग्राह्यस्थ समस्यालाई समाधान गर्न समस्या भोगिरहेका छन् । यसरी हेर्दा संघीय लोकतन्त्रात्मक गणतन्त्रले खाद्य उत्पादन, विक्रीवितरण र बजारीकरणका लागि कुनै पनि तहको सरकारले काम गर्न नसकेको अवस्था छ । खेतीपातीका समयमा किसानले पैसा तिर्दा पनि रासायनिक मल बेच्न नसक्नु र नाफामूलक कृषि व्यवसाय बनाउन नसक्नु र उत्पादित कृषि व्यवसायप्रति युवाहरुको झुकाव पाइन्न ।
मानिसका लागि हावा, पानी र माटो, जिउनका लागि आवश्यक पर्छ । स्वासप्रश्वासका लागि हावा चाहिन्छ । मानव शरीरमा पचास प्रतिशतभन्दा बढी पनि चाहिन्छ । पानी पिएर शान्तिको अनुभूति गर्ने मानव प्राणी हो भने जीव, प्राणीहरु बाँच्नका लागि पनि धेरै हावा चाहिन्छ, माटोले मानव जीवन मात्र होइन, प्राणीहरुका लागि पनि जीवनको आधार हो । तर खेतीपाती गर्नेवर्गलाई अपहेलना हुन्छ । उनीहरुलाई प्रोत्साहन गराउने कार्यक्रमहरु कृषि विकास कार्यालय, कृषि ज्ञान केन्द्र र कृषि शाखाहरुबाट हुँदैन । यदाकदा गराउँछन् भने सीमित ठाउँ, क्षेत्र र वर्गका लागि गर्छन् । यो पनि बजेट खर्च गर्ने तरिका मात्र अपनाउँछन् ।
वास्तवमा किसानहरुको हितमा कार्यक्रम हुँदैन । सरकारले किसानहरुलाई माटोको महत्व बुझाउन सकेको छैन । माटो नभएमा जीवन सार्थक बन्दैन भनाइलाई सकारत्मक ज्ञान बाँड्न सरकारले सकेको छैन । ज्ञानबिनाको सीपले बुद्धि विकास नभएसम्म माटोको महत्व युवावर्गलाई थाहा हुन्न । कसरी खेतीप्रति झुकाव राख्छन् ? उनीहरुलाई विदेशी मोह बढाएको छ । धनपैसा कमाउन सक्ने लोभ लालच देखाइएको छ । विदेशकबाट खाद्य आयात बढाइएको छ । विदेशको कमाइले विदेशकै खाद्यमा रमाउने वातावरण सिर्जना गराइएको छ ।
कृषिमा बढ्दो आयात छ । मल, बिउविजन, किटनाशक ओखती, खाद्य सामग्रीहरु, उपभोग्य वस्तुहरु, औजारका सामानहरु, भवन निर्माण र सडक निर्माणका सामग्रीहरु, उपकरणका सामानहरु उपचारका सामानहरु, पठनपाठनका सामानहरु, शैक्षिक वातावरण सुधारका विषयवस्तुहरुजस्ता वस्तहरुको आयातमा नै नेपाल निर्भर भएको छ । यस्तो अवस्थामा नेपाली राजनीति कतातर्फ उन्मुख भएको छ ? नागरिकलाई जानकारी छैन । दलहरु खुलेका छन् । दलीय व्यवस्था छ । त्यो पनि संघीय लोकतान्त्रिक गणतन्त्रको नाम दिइएको छ ।
संविधान पनि छ तर शासन प्रणाली, व्यवस्थापन र नीति नियम ऐन कानुन पञ्चायती व्यवस्था प्रणालीमा छ । पदहरुमा नयाँ स्वरुप देखाइएको छ तर पदीय जिम्मेवारी, जवाफदेही र पारदर्शी छैन । मै खाउँ, मैलाउँमा सीमित छ । यस्तो वातावरणमा बिचौलिया, ठूला व्यापारी, ठेकेदारहरु, तस्करहरु र दलालहरुको वर्चस्व बढेको छ । यस अवस्थामा कृषि व्यवसायको विकास हुँदैन । आर्थिक दुरुपयोग बढेको छ ।
नेपालीले मान्दै आएको ऋषिमुनि, राष्ट्रपति र इमानदार नेता हुन् । यिनीहरु आस्थाका केन्द्र मानिन्छन् तर जंगल मासिँदैछ । जलभण्डार भएको ठाउँको चुनढुङ्गा विदेशिँदै छ । पानीमा मूलहरु सुकिसकेका छन् । खेती गर्ने जमिन खण्डीकरण भइरहेका छन् । खेतीयोग्य जमिनहरुमा गगनचुम्बी घरहरु बनिरहेका छन् । खेतीयोग्य जमिन खण्डीकरण नगर्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार सक्रिय छैन । त्यस्ता जमिन बाँझो छ ।
नेपालमा खेतीयोग्य जमिनमध्ये २० प्रतिशत बाँझै छ । हरेक विषयवस्तुमा परिनिर्भरता बढाउने कार्यशैली सरकारबाट भएपछि खेतीपाती गर्नेवर्ग पलायन भइरहेका छन् । कृषिमा विकास नगरेसम्म नेपालको आर्थिक नीति सुदृढ हुँदैन । कृषिमा बढ्दो आयात भइरहने छ ।
सिडिओलाई सुझाव