आत्मदाहले उब्जाएका प्रश्नहरू

भुवन पोख्रेल
गत साता प्रेमप्रसाद आचार्यले आँटेको आत्मदाहले आमवृत्तमा स्तब्धता र आक्रोश जगायो । किनकि उनले बन्द कोठामा आत्मदाह गरेका होइन, मुलुकको संवेदनहीन दुरावस्थाको ज्वलन्त उदाहरण बनेको छ, उक्त आत्मदाह । राज्यको केन्द्रीय तह विराजमान हुने सार्वजनिक स्थल संघीय संसद भवन अगाडि मन्त्रीहरुका प्रधानमन्त्रीका गाडीहरु निर्वाध गुडिरहे, सुरक्षा निकाय सशक्त र सक्रि रहिरह्यो तर पनि प्रेमप्रसादको कसैले मानवता देखाएर उद्धार गर्नुपर्छ भन्ने आवश्यकता नै ठानेन । मानवीय संवेदनाकै लागि पनि उनलाई बचाउने प्रयास गरेनन् त्यहाँ विभिन्न निकायहरुले ।

भर्खरै माघ १६ गते हामीले शहीद सप्ताह मनायौँ । शहीदले मुलुकमा सुख, शान्ति, समृद्धिको सपना देखेर आफ्नो अमूल्य जीवन उत्सर्ग गरेका हुन् । राष्ट्र निर्माण बलिवेदीमा चढेका ती इतिहास निर्माताको बलिदानप्रति गर्व महसुस हुन्छ, सम्मानले शिर झुक्छ । त्यो गरिमापूर्ण इतिहास सम्झँदा शहीदको रगतले सरापेको जस्तो भान हुन्छ । समाज यतिसम्म विकृत बनिसकेको छ कि केही गरुँ भन्ने युवाहरु, उद्यमीहरु, व्यापारीहरु प्रेमप्रसादजस्तै नियति आफूले पनि भोग्नुपर्ने त होइन ? भनी मर्माहत बन्न पुगेका छन् ।

स्वदेशमै केही गरुँ भन्ने हुटहुटी बोकेका युवा उद्यमीले राज्यकै गैरजिम्मेवार प्रवृत्तिका कारण अन्य विकल्पको बाटो नदेखी आत्मदाहको बाटो रोजे । शहीदको बलिदानीको योभन्दा बढी अवमूल्यन के हुनसक्छ ? हामीले संविधान सभाबाट संविधान लेखेका छौा । सभाजवाद उन्मुख संविधान लेख्यौँ तर संविधानका पानामा लेखेका हकअधिकार व्यवहारमा उतार्न सकेनौँ । बरु नेपाली समाज राजनीतिक, आर्थिक, नैतिक सबै हिसाबले चरम भ्रष्टीकरणको बाटोमा अग्रसर छ । सत्ता र शक्तिमा पुगने होडबाजीमा मानवीय प्रवृत्ति हराउँदै गएको छ । अभाव, असन्तुष्टि, निराशा र कुण्ठा व्याप्त भएपछि आम नागरिकले राज्यबाट भरोसा गर्न छाड्दोरहेछ र आफ्नै जीवनलाई पनि बोझिलो ठान्दै जीवनसँग हार खाएर समाधि लिँदोरहेछ । यही परिणति हो प्रेमको अग्निदाह ।

उनी आफू अग्निमा होमिनु अघि जाँदाजाँदै नेपालको अर्थराजनीतिक व्यवस्था, समाज र प्रशासनको कुरुप चित्र पर्दाफास गर्दै इहलीला समाप्त गरेका छन् । प्रेमको चित्कार त्यो हृदयविदारक दृश्यले आम नेपालीको मुटु मात्र कापेन हृदय नै छियाछिया भयो । उनको मृत्युमा राज्य भावक मात्र बनेर हुँदैन अरु आम युवा व्यवसायीले उनको जस्तो नियति भोगन नपर्ने किसिमको रणनीति बनाए र अघि बढ्नुपर्छ । तयसमाथि बहस र पैरवीका साथ कारण पत्ता लगाएर यो मनोसामाजिक रोगलाई उन्मुलन गर्नतर्फ राज्य पक्ष बेलैमा सचेत हुनुपर्छ ।

प्रहरीको रेकर्ड हेर्दा आत्महत्याका त धेरै तथ्याड्ढ देखापर्दछन् तर आत्मदाहका घटना विरलै सुन्न र देख्नमा आउँछन् । प्रेमको आत्मदाह आम आत्महत्याजस्तै मानसिक रुपमा विछिप्त भएर गरिएको भन्ने दर्जामा राखिएर विश्लेषण गरियो भने उनीप्रति अन्याय हुनजान्छ । आत्मदाहमार्फत् राष्ट्र र समाजले सिक्नुपर्ने पाठ छोडेर गएका छन्, उनले । आत्महत्या गर्नुपूर्व सामाजिक सञ्जालमा लेखिएको लामो सुसाइटनोटमार्फत् पनि बुझ्न सकिन्छ, उनी केही गर्न खोज्ने युवा उद्यमी हुन् ।

यो बेवास्ता गर्ने विषय होइन । छत्तीस वर्षीय एक होनहार युवा जसले केही गर्छु भन्ने आकांक्षा बोकेको थियो । त्यो व्यक्ति कसरी खुला सडकमै अग्निदाह गर्ने हदसम्म आफूलाई पु¥याए, यो सामान्य नागरिकका लागि मात्र होइन, सामाजिक न्याय र मानवअधिकारको पैरवी गर्ने निकायका लागि लज्जाको विषय हो । समग्र राज्य प्रणालीको असफलताको द्योतक हो, उक्त घटना ।

उनको सुसाइटनोट हेर्दा लाग्छ, उद्यममा उनी असफल नै असफलताको दलदलमा कसरी होकिएका रहेछन् भन्ने उनमा देखिएको चरम निराशा, डिप्रेशन, ऋणको बोझ, वित्तीय संकटले उनलाई देह त्यागको बाटोमा धकेलिदियो । मानसिक रुपमा विक्षिप्त भएकाहरु क्षणिक आवेगमा आएर आत्महत्याको बाटो रोज्ने मनोविदहरुको अध्ययनले देखाएको छ तर प्रेमले सुनियोजित ढङ्गले आफ्ना लागि सबै ढोका बन्द भएपछि देहत्याग गरेर आफू जाँदै गर्दा आफ्ना पीडा र भोगाइ समाजलाई यथार्थ बताउने निधो पनि गरेको देखियो ।

उनको यो आत्मदाह कान बन्द गरेर बसेको राज्य पक्षले सुन्छ कि सुन्दैन ? आम उद्यमीले कस्तो नियति भोगेका नियतिप्रति राज्य सझेदार हुने कि नहुने भन्नेमा गम्भीर विषय देखिन्छ । नेपालको अर्थ राजनीतिक व्यवस्थामा एउटा सामान्य उद्यमीले भोग्नुपरेका पीडा मात्र होइन प्रेमको आत्मदाह । ठूला व्यापारीको घानमा यस्ता प्रेमहरु घुनझैँ पिसिँदै गएका छन् । कृषि अनुदानमा पहुँचवालाको रजाइँ हुने र आम सर्वसाधारणलाई पक्षपातपूर्ण व्यवहार देखिने गरेको छ । बिमा बैंकिङ क्षेत्र उद्यमीमैत्री हुन नसकेको यथार्थ चित्रण देखिखएको छ ।

साना उदमी र कृषकको पसिनामा बिचौलियाको रजाइँ प्रष्ट पार्दै यसमा सरकारको ध्यान केन्द्ति गर्न खोजेको छ । सुसाइटनोटमा उनले आर्थिक सहयोगको याचना पनि गरेका छन् । यस घटनापछि थुप्रै मनकारी व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । यो आर्थिक सहयोगले प्रेमको परिवारले केही हदसम्म आर्थिक राहत त प्रदान गर्ला तर उनले उठाएका सवाल र सन्दर्भले न्याय पाउलान् ? ढक्क हुने कुनै पनि आधार छैन, उनको मुद्दामा । न समाजबाट न त राज्यबाटै संवेदनशीलता देखिएको छ । हाम्रो समाजमा साच्चिकै मानवीय संवेदना हराएको त होइन ? भन्ने प्रश्न उठ्छ ।

वास्तवमै संवेदनहीन समाज बन्न पुगेको होइन तर त्यो संवेदना क्षणिक हुन्छ कुनै घटनाक्रमप्रति छिट्टै प्रतिक्रिया देखाउने र तुरुन्तै घटना सेलाउनासाथ बिर्सिदिने नेपाली समाजको प्रवृत्ति देखिएको छ । प्रेमको आत्मदाहले केही दिन समाजलाई मनमनै पोल्यो तर अन्य घटनाक्रम घट्दै जाँदा उनको सवाल सेलाउँदै पनि गयो । सरकारको चाहिँ छानविन प्रतिवेदन सार्वजनिक गर्ने औपचारिकता बाँकी छ । संसद भवनको ढोकैमा आत्मदाहको चित्कारपूर्ण घटनाले सरकारलाई झसंग पार्नुपर्ने र सरकारले पनि जति गाम्भीर्यताका साथ लिनु पर्दथ्यो, लिन नसकेको देखियो । यस घटनाले सरकारले ग्यालिन र बोत्तलमा पेट्रोल, मट्टीतेल किन्न निषेध गर्ने निर्णय गरेर आफ्नो लाचार, कर्मकाडी प्रवृत्ति देखाएको छ । सरकारमा नयाँ पुराना जस्ता अनुहार भए पनि सबै कर्मकाण्डी हुन् ।

सरकारले शहीद दिवस मनाउन थालेको पनि ६७ वर्ष पूरा भएछ । प्रत्येक शहीद दिवसमा शहीदहरुको बखान गरेर नथाक्ने राज्य पक्ष शहीदका सपना र प्रतिबद्धता पूरा गर्नेतर्फ मौन देखिन्छ । हाम्रा चार शहीद गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथचन्द्र, शुक्रराज शास्त्री जसले निरंकुश राणा शासनको जन्जिरबाट नेपाली जनतालाई मुक्ति दिलाउन आफ्नो प्राणको बाजी थापेका थिए । अहिले भ्रष्ट, कुशासन र विकृत समाज निर्माणका खातिर उनीहरुले प्राणको आहुती दिएका थिएनन् ।

मुलुकमा हरेक परिवर्तनका लागि शहीदको बलिदानी भएको छ । उनको सच्चा सम्मान एक दिन शहीद दिवस मनाएर कदापि पूरा हुन सक्दैन । शहीदले परिकल्पना गरेका समाज सुखी, शान्ति, समद्धि र समाजमा सबै किसिमका अधिकार स्थापित होस् भन्ने हो । जनताका आर्थिक, सामाजिक, सांस्कृतिक सुनिश्चितताका लागि हो । जहाँ नागरिकले सहज जीवन यापन गर्न सकून् । जीविकाको चिन्ता नहोस् भन्ने शहीदको सपना थियो तर विडम्बना आज समाज यतिसम्म स्वार्थी, विकृत बन्न पुग्यो कि जहाँ एउटा गरिखाने युवा उद्यमीले मुलुकमा केही गर्छु भन्दा गरिखाने वातावरण नदेखेर आफ्नै शरीरमा आगो लगाएर देह त्याग गर्नुपर्ने नियति बनेको छ । यो चरम निराशाको कारक हो र मुलुकमा नबदलिएको राजनीतिक प्रणालीलाई विडम्बना ठान्नुपर्छ ।

मुलुकमा शहीदले बलिदानी दिएर राजनीतिक व्यवस्था बदलिए पनि मुलुक र जनताको अवस्था जस्ताको त्यस्तै छ । यसरी अवस्था नबदलिँदा जनआक्रोश निराशा असन्तुष्टि चरम बेरोजगारीले गर्दा गरिखाने वर्गले चैनको स्वास फेर्न सकेको छैन । प्रेम आचार्यले उठाएका प्रश्न जायज भए पनि उनले अपनाएको यो तरिकालाई हामीले प्रोत्साहन चाहिँ गर्नु हुँदैन, आत्महत्या समस्याको समाधान कदापि होयन । मानिसको जीवन अमूल्य छ, कुनै पनि आर्थिक अभाव र मन्दीका कारण जीवन दाउँमा लगाउनु भनेको मानवता होयन ।

हामी प्रतिक्रियावादी हुनुभन्दा समाधानमुखी उपाय अपनाउनु पर्छ । यहाँ राज्य छ भन्ने आम युवाहरुलाई अनुभुति हुन छोडेको छ । मेरो लागि राज्य छ यहाँ न्याय पाइन्छ भन्ने आम नागरिकलाई विश्वास नै छैन । प्रेम आचार्यको श्रद्धाञ्जलीमा आएका आम उद्यमी युवाहरुका शरीर आगोले नजले पनि व्यथा र पीडा एउटै थियो । सबैका व्यावसायिक उन्नति र प्रगतिका सपना खरानी भइसकेका छन् । प्रेम आम युवा व्यवसायीका प्रतिनिधि पात्र हुन् । विदेशबाट नेपाल फर्केर स्वदेशमै केही गर्छु भन्ने युवा ऋणको भारी बोकेर फेरि विदेशिन बाध्य छन् ।

विदेशबाट कमाएर ल्याएको पैसा सकिएर उल्टै ऋणको भारी बोकेपछि मुलुकमा भविष्य अन्धकार देख्दै चिन्तित र तनावग्रस्त छन् । बैंकले भुलाएको समस्या, चर्को व्याजदरको समस्याले व्यवसायी आहत छन्, सरकारले बरु सर्प पाल्न एउटा नेतालाई करोडौँ अनुदान दिन्छ तर केही गरिखान खोज्ने उद्यमीलाई हतोत्साहित गर्छ । यसतो चंगुलमा फस्नुभन्दा ऋण काढेर भए पनि अन्य युवा विदेशिन चाहन्छन्, स्वदेशमा भोग्नुपर्ने नियतिबाट युवावर्ग वाक्क दिक्क भइसकेका छन् । आर्थिक समस्याकै कारण यहाँ धेरै युवाहरुले देह त्याग गरेका छन् । स्थिति हामीले सोचे र अनुमान गरेभन्दा विकराल छ ।

हामीले जली–जली बाँचिरहेका प्रेमहरुका निम्ति सोच्न र हजारौँ प्रेमहरुका लािग राज्य छ भन्ने अनुभूति दिलाउन जरुरी छ । अब कुनै पनि प्रेमले राज्य खोज्दै आत्मदाह गर्नुपर्ने स्थिति नआओस् । अहिले व्यापार व्यवसायीलाई आर्थिक मन्दीले गर्दा टिकेर अघि बढ्न गाह्रो छ । हरेक व्यवसायका सञ्चालक टाँट पल्टिने अवस्थामा पुगेका छन् । राज्यको गैरजिम्मेवार प्रवृत्तितर्फ झापट हान्दै प्रेम यस संसारबाट बिदा भएका छन् । मुलुकमा विधिको शासन नभएको, राज्य नभएको थुप्रै उदाहरण, स्टाटसमा उल्लेख गरेका छन् ।

हामी बाँचिरहेको समाज इमानदार र गरिखानेको भन्दा भ्रष्ट र नालायकहरुको निमित्त अनुकूल बन्दैछ । दलाली गर्नु उद्योग र उत्पादन गर्नुभन्दा निकै सहज छ भन्ने हमी सबैको अनुभुतिलाई कोट्याएका छन् । हाम्रो जस्तो भ्रष्ट मुलुकमा गरिखानुभन्दा ठगी खान सहज छ । आम नागरिक र व्यवसायीको अवस्था परिवर्तनका लािग आफ्नो देहलाई अग्निमा समर्पण गर्ने पहिलो सहादत उनले प्राप्त गरेका छन् । उनले उठााएको विषय उनको व्यक्तिगत मात्र होइन, यो आम नागरिकको पीडा हो । उनको राज्यसँगको माग व्यक्तिगत नभइ समग्र उद्यमी र युवा व्यवसायीका निम्ति थियो ।

राज्यले संरक्षकको भूमिका खेलेर नागरिकमैत्री भूमिका खेलेपछि मात्र उद्यमीले कर तिरेको मज्जा हुन्छ । राज्यले उद्यमीमैत्री नीति बनाएर लागू गर्नुपर्छ । हामीले नागरिकलाई स्वदेशमै केही गर्न सकिन्छ भनेर आशा जगाउन सकेका छैनौँ । नेपाल भ्रष्टाचार गर्ने मुलुकमा ११०औँ अंकमा पुगेको छ । सूचकांक ३४ अंक पुगेको छ । भ्रष्ट मुलुकमा नागरिकको सुरक्षा नहुने पक्का छ । यो देशमा केही गर्छु भननु अपराध सावित भएको छ । नेपालमा भ्रष्टाचार किन कम हुन सकेन ? यस विषयमा व्यापक बहस हुनु जरुरी छ । आत्महत्या समाधान होइन यहाँ राज्यप्रति आक्रोश, वितृष्णाको प्रतिरुप हो ।