बालाराम खड्का
तुलसीपुर, १७ माघ । प्रत्येक स्थानीय वा केन्द्रीय तथा प्रदेश चुनावमा विभिन्न महत्वाकांक्षी नाराहरू जनतामा बाँड्छन् तर ती नाराहरू बाँडेर सत्तामा पुगेपछि भुल्ने गरेको नागरिको गुनासो छ । जनता भने सामान्य समस्याहरू पनि समाधान हुन नसकेको गुनासो गर्न बाध्य छन् ।
तुलसीपुर–घोराहीमा अन्तर्राष्ट्रिय एयरपोर्ट विस्तार, मेट्रो मनोरेललगायत चुनावमा विभिन्न नाराहरू लगाए पनि आफूहरूलाई तुलसीपुरका सबै सडकहरू कालोपत्रे र रातीमा सुरक्षाका लागि उज्यालो बत्तीको पर्खाइमा भएको सर्वसाधारण बताउँछन् । ‘सर्वसाधारणका ठूलो आशा र अपेक्षा केही पनि छैन्, बजारदेखि गाउँसम्मका बाटाहरू कालोपत्रे र बजारमा उज्यालोका लागि सडक सडकबत्तीहरू मुख्य–मुख्य स्थानमा भइदिए पुग्थ्यो’, स्थानीय थम्मन बुढाले भने । तर तुलसीपुरका आधा कालोपत्रे आधा धुलो उड्ने बाटो देखेर आजित भएका जनताले भने परिवर्तनको महुुसुस गर्न नसकेको बताउँछन् । ‘घोराहीमा झकमक बत्ती बल्छ, हाम्रो सहर सम्साँझै निदाउँछ’ बुढाले भने ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालीसेले पनि विभिन्न सार्वजनिक कार्यक्रममा तुलसीपुरमा रहेका सडक कालोपत्रे र व्यावसायिक सुरक्षाका लागि सडक बत्ती भए धेरै कुरामा सहज हुने बताउँछन् । उनले तुलसीपुरमा हुने हरेक कार्यक्रममा नगर प्रमुखलाई आग्रह गर्दै त्यस्ता कुरा भनिरहँदा पनि सम्बन्धित निकायले सुने–नसुनेजस्तै गरेको छ । ‘हामीलाई सहरमा ४÷५ ठाउँमा ठूला–ठूला लाइट र सबै सडक कालोपत्रे भए मात्र पनि धेरै कुरामा सहज हुने थियो तर त्यो हुनसकेको छैन’, उनले भने, ‘मैले सधैँ यही कुरा उठाउने गरेको छु, हामीलाई ठूलो कुरा चाहिएको छैन, पहिलो प्रयास यही भए पुग्छ ।’
स्थानीय सुरक्षा प्रमुखले पनि तुलसीपुर बजार साँझमा अन्धकार हुने र अँध्यारोकै कारण चोरीका घटना हुनसक्ने सम्भावित कुरा गरिरहन्छन् । तुलसीपुरमा हुने सार्वजनिक कार्यक्रमहरूमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्प मल्लले पनि हरेक घटनाहरू अँध्यारोमा हुने भन्दै सडकबत्ती भए तुलसीपुर बजारमा चोरीका घटनाहरू नहुने बताउँदै आएका छन् । तुलसीपुरको घोराही रोडका सडक बत्तीहरू बले पनि अन्य मुख्य लाइनमा भने अन्धकार हुने गरेको छ ।
तुलसीपुरको विभिन्न लाइनमा राखिएका सोलार बत्तीहरू केही झिम–झिम मात्र गर्छन् भने केही बल्नै छोडेका छन् । लामो समयदेखि सडक बत्तीले मर्मत नपाउँदा बल्न छोडेको स्थानीय बताउँछन् । ‘तुलसीपुरमा १२÷१५ वटा ठूला लाइटहरू हाले झिलिमिली हुन्छ तर त्यो गर्ने इच्छाशक्ति कसैमा छैन’, स्थानीय चन्द्रकली वलीले भनिन् । तुलसीपुरका विभिन्न सडकहरू उप्किएर धुलाम्मे हुने गरेका छन् भने भएका सडकहरू पनि मर्मत भएको केही दिनमै कालोपत्रे उप्किने र खाल्डाखुल्डी हुने गरको सर्वसाधारण बताउँछन् ।
सडक कालोपत्रेबारे स्थानीयका गुनासाहरू आइरहँदा सडक मर्मतका लागि सडक बोर्ड नेपालमा कार्यक्रम पठाइएको र स्वीकृत भएर आएपछि त्यो काम हुने इन्जिनियर पवन कुमार योगीले जानकारी दिए । उनले यस वर्ष अन्य वडाहरूमा ११ किलोमिटर बाटो कालोपत्रे भएको पनि बताए । चालु आर्थिक वर्षको १० किलोमिटर र गत आर्थिक वर्षको ३५ किलोमिटर गरी ४५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको तुलसीपुर प्राधिकरणका प्रमुख समेत रहेका इन्जिनियर योगीले जानकारी दिए । गत वर्ष र यस वर्ष गरिने कालोपत्रेको काम जारी रहेको उनले बताए ।
‘गत वर्ष सम्पन्न हुन नसकेका सडकहरूलाई यस आर्थिक वर्षम सम्पन्न गर्ने लक्ष्यका साथ कालोपत्रेको काम जारी छ’, इन्जिनियर योगीले भने । तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडा, मुख्य सडक र भित्रि सडकहरूको कालोपत्रे जारी रहेको इन्जिनियर योगीले बताए । ‘गत वर्ष र यो वर्षको काम भइरहेको छ, अन्य मर्मतको काम भने बजेट आएपछि हुनेछ’, उनले भने । हरके चिया पसल र चौपारामा अहिले भने र सोचे जस्तो विकास नहुँदा नागरिक आजित भएको बताउदै आएका छन् । आर्थिक अभावका कारण विकास हुन नसकेको एक पक्षको भनाइ छ भने केहीले भने इच्छाशक्ति नभएको भन्दै तर्क गर्ने गरेका छन् ।