अपाङ्गताका लागि सक्षम परियोजना

गोरक्ष समाचारदाता
दाङ, १२माघ । अपाङ्गता भएका व्यक्तिहरूको सीप र दिगो आर्थिक विकासका लागि दाङको तुलसीपुरमा सक्षम परियोजना सुरु भएको छ । कोभिड–१९ बाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै तुलसीपुरमा ३६ महिने सक्षम परियोजना सुरु भएको हो ।

अपाङ्गता भएका व्यक्तिहरूको संस्थागत विकास, क्षमता अभिवृद्धि, सीप र दिगो आर्थिक अवसर, बजार तथा रोजगारी क्षेत्रमा पहुँच र सहभागिता सुरक्षित गर्ने उद्देश्यले उक्त परियोजना सञ्चालन गरिएको परियोजना व्यवस्थापक दिनेश बस्नेतले बताए । सक्षम परियोजना दिगो विकासको लक्ष्य अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग समेत जोडिएको हुँदा यसले लक्षितवर्गहरूको आधारभूत आवश्यकता, आर्थिक सशक्तिकरण, समान अवसर र पहुँचयुक्त संरचनाको निर्माणमा जोड दिने उनले बताए ।

उनले सूचना, सीप, आय आर्जन र अपाङ्गमैत्री संस्थागत संरचनाले दिगोपना कायम गर्ने बताए । बुधवार तुलसीपुरमा पालिका तहमा परियोजना सुरुवाती कार्यशालाका अवसरमा परियोजनाको बारेमा जानकारी दिँदै उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि यस परियोजनाले जीविकोपार्जन नीति निर्माणमा पैरवी गर्ने, आय आर्जनमुखी व्यवसाय सञ्जाल विस्तार र एवम् क्षमता अभिवृद्धिको काम गर्ने बताए ।

युएसएआइडीको आर्थिक सहयोग, सिबिएम, डेक नेपाल बाँके र कोसिस नेपालको साझेदारीमा उक्त परियोजना तुलसीपुरमा सञ्चालन भएको हो । परियोजना व्यवस्थापक बस्नेतकाअनुसार यो कार्यक्रम बाँके र दाङ गरी दुईवटा जिल्लाका ४ वटा पालिकामा सञ्चालन हुनेछ । ४ पालिकाका ५७ वटा वडाका करिब २० हजार ३ सय ४९ जना अपाङ्गता भएका व्यक्तिहरूलाई यस परियोजनामा सहभागी गराउने लक्ष्य रहेको उनले जानकारी दिए ।

यस परियोजनाले स्थानीय सरकारका नीति तथा कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूको लागि समावेशी, प्रथामिकता कायम गर्ने, अपाङ्गमैत्री दिगो संरचना निर्माणमा पहल गर्ने, स्थानीय बजारलाई अपाङ्गमैत्री बनाउने र उनीहरूको आय आर्जनलाई २० प्रतिशतले वृद्धि गराउने लक्ष्य लिएको उनले बताए । कार्यशालामा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले व्यक्तिको जीवनशैली परिर्वतन गर्नसक्ने गरी कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको बताइन् । अँझै पनि अपाङ्गता भएका व्यक्तिहरू सरकारको सेवा, सुविधा र अवसरको पहुँच बाहिर रहेको भन्दै सरकारको अनुभूति गर्नसक्ने गरी काम गर्न आवश्यक रहेको उल्लेख गरिन् ।

कार्यक्रममा वडा नं. १५ का वडाध्यक्ष लक्ष्मण चौधरी, वडा नं.९ का वडाध्यक्ष घनश्याम ढकाल, वडा नं. १७ का वडाध्यक्ष थलराज पुरीलगायतले वडामा सञ्चालन हुने तालिमहरूको उपयोग शून्यजस्तै भएको भन्दै चिन्ता व्यक्त गरे । कार्यक्रममा पशु सेवा शाखाका प्रमुख सुवाष शर्मा, अधिकारकर्मी सुशील बस्नेत, कल्पना चौधरीलगायतले तत्कालीन समस्या समाधानमा मात्रै सीमित नभइ आर्थिक आय आर्जनतर्फ जोड्न सक्ने खालको वातावरण निर्माणमा लाग्न आवश्यक रहेको बताए ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्ति तिलसरा पुन, रामबहादुर चौधरीले अपाङ्गता भएका व्यक्तिहरूका लागि स्थानीय सरकारले पर्याप्त बजेट विनियोजन नगरेको भन्दै गुनासो व्यक्त गरे । यसैगरी हेमोफेलिया रोगका कारण अपाङ्गता जीवन बिताउन बाध्य भएका व्यक्तिहरूका लागि आवश्यक औषधीको सहज पहुँच नहुँदा अकालमै ज्यान गुमाउन बाध्य भएको बताए । कार्यक्रममा युएसएआइडी प्रतिनिधि निरूपमा राइले स्थानीयकरण र बजारको अध्ययन, विश्लेषण गरी कार्यक्रमहरूको प्राथमिकीकरण गरिने जानकारी दिइन् ।

अपाङ्गता भएका व्यक्तिहरूको सीप, ज्ञान, दक्षता, आवश्यकता, समस्या र इच्छाहरूलाई समेत बुझेर कार्यक्रमहरू सञ्चालन गरिने बताइन् । कार्यक्रम डेक नेपाल बाँकेका सदस्य अजयकुमार शर्माको अध्यक्षतामा भएको थियो । स्वागत डेक नेपाल बाँकेकी सल्लाहकार प्रतिमा शर्माले गरेकी थिइन् भने सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष देवा डाँगीले गरेकी थिइन् ।