कानुनभन्दा माथि कोही छैन : प्रहरी प्रमुख

गोरक्ष समाचारदाता
तुलसीपुर, १२ माघ । प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले लुम्बिनी प्रदेशको शान्ति सुरक्षा चुस्तदुस्त राख्न सबैको साथ र सहयोगमा काम गर्ने बताएका छन् ।

भर्खरै लुम्बिनी प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएर दाङ आएका प्रहरी नायव महानिरीक्षक राईले सुरक्षा व्यवस्था चुस्तदुरुस्त रहे मात्र समृद्धि र विकास हुने भन्दै आफू पनि सबैको साथ र सहयोग लिएर जनतालाई सुरक्षा दिन लाग्ने बताए । उनले अब प्रहरी सेवा निःशुल्क हुने भन्दै प्रहरीले गरेका नराम्रो काम के छन्, आफूलाई व्यक्तिगत र संस्थागत रूपमा सुझाव दिन पनि आग्रह गरे ।

बुधवार लुम्विनी प्रदेश प्रहरी कार्यालय दाङले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तत्र्रिmया कार्यक्रममा प्रमुख राईले प्रहरीको राष्ट्रिय कार्ययोजनाअनुसार आफूहरूले काम गर्ने पनि बताए । उनले कानुनभन्दा माथि कोही नभएको भन्दै कानुन उल्लङ्घन गर्ने जोकोहीलाई पनि कारबाही हुने बताए । उनले अपराध गर्ने र गैरकानुनी काम गर्ने आफ्नै संगठनका र अन्य व्यक्ति गुण्डागर्दी गर्नेलाई कारबाही गर्ने समेत बताए ।

‘यो वा त्यो नाममा कुनै पनि आवरणमा अपराधीलाई उन्मुक्ति दिने काम गर्न हुँदैन’, उनले भने । उनले अपराध नियन्त्रण गर्ने प्रमुख निकाय प्रहरी प्रशासन भए पनि त्यसका लागि सबैको सकारात्मक भूमिका हुनुपर्ने उनले बताए । समयमै प्राप्त हुने सूचना र जानकारीले अपराध नियन्त्रणमा ठूलो भूमिका खेल्ने बताएका उनले प्रहरीलाई सूचना दिएर सघाउन आग्रह गरे । ‘हामीलाई तपाईंहरूले सूचना दिनुहोस् अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाएको प्रहरीले यहाँ हुने सबै किसिमको अपराध नियन्त्रण सहजै गर्छ’, राईले भने ।

प्रमुख राईले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा निःशुल्क निवेदन लेख्ने प्रहरी अधिकारीको व्यवस्था गरिने बताएका छन् । राईले आफू पनि प्रहरीको प्रवक्ता भएको भन्दै पत्रकारहरूले बेलैमा सूचना पाउनुपर्ने बताए । मिडियालाई दिन मिल्ने सूचना तत्काल दिने व्यवस्था तत्काल मिलाउने बताए । ‘संविधानमै व्यवस्था छ, सूचनाको अधिकार ई–मेलमार्फत होस कि जसरी पनि पत्रकारहरूले सूचना पाउनुपर्छ’, उनले भने ।

उनले पत्रकार भेटघाट कार्यक्रममा रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष देविप्रसाद धिताल (हेमराज)को घटनाबारे अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले निर्मला पन्त तथा अन्य घटनाको पनि अनुसन्धान भइरहेको बताए । कार्यक्रमको सहजीकण प्रहरी निरीक्षक घनश्याम केसीले गरेका थिए ।