घोराही,६ माघ । नेपाल विद्यार्थी संघ दाङको अध्यक्षमा कुलराज पोख्रेल मनोनित भएका छन् । विद्यार्थी राजनीतिमा सक्रिय रहेका पोख्रेल नेविसंघ अध्यक्षमा मनोनित भएका हुन् ।
कक्षा ७ मा अध्ययनरत रहँदै गर्दा विद्यार्थी राजनीतिमा लागेका पोख्रेल जुझारु नेता हुन् । जिल्लाको घोराहीस्थित सरस्वती मावि काठेकोहलमा अध्ययनरत रहँदा २०६३ सालमा इकाई सचिव भएर नेविसंघको राजनीतिमा पोख्रेल उदाएका हुन् ।
संगठन विस्तार र सुदृढीकरणमा निरन्तर लागि रहेका पोख्रेल २०६३ सालमा दीपशिखा माविको इकाई अध्यक्ष भएर अब्बल नेतृत्व गरे । २०७१ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङको इकाई सचिव भएर कुशल सांगठनिक नेतृत्वको दृष्टान्त बनेका पोख्रेल विद्यार्थीवर्गका रूचाइएका नेतृत्व हुन्।
पोख्रेललाई आज बिहिवार नेविसंघ केन्द्रीय कार्यसमितिले अध्यक्षको जिम्मेवारी दिएको हो ।