लुम्बिनी प्रदेशको सभामुख निर्बिरोध,उपसभामुखमा ३ जनाको उम्मेदवारी

दाङ,२ माघ । लुम्बिनी प्रदेशको सभामुखमा तुलाराम घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् ।

सभामुख पदकाे मनाेनयनकाे समय सिमाभित्र घर्तीकाे मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

२०७९ काे निर्वाचनमा गठवन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका घर्ती पाल्पा २ ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यसैगरी उपसभामुखमा ३ जनाको उम्मेदवारी परेको छ । उपसभामुखमा सत्ता गठबन्धनबाट राप्रपाकी मेनुका खाँड केसी, नेपाली कांग्रेसबाट विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीबाट निर्मलादेवी चाैधरीले मनाेनयन दर्ता गरेका छन् ।

नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित पाठकले उपसभामुखमा मनाेनयन दर्ता गरेका हुन । पाठकको प्रस्तावकमा प्रदेश सभा सदस्य वसीउद्दिन खाँ र सर्थकमा राजु खनाल रहेका छन ।

राप्रपाकी समानुपातिक संसद खाँड केसीकाे प्रस्तावकमा माओवादी केन्द्रका इन्द्रजीत चौधरी र समर्थकमा जनमत पार्टीका चन्द्रशेक गुप्ता रहेका छन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीकी चाैधरीकाे प्रस्तावकमा प्रदेश सभा सदस्य नरमायाँ ढकाल र समर्थकमा संसदिय दलका नेता धर्म चाैधरी रहेका छन ।

सत्तारुढ दलबाट नागरिक उन्मुक्ति बाहिरिएको संकेत छ ।`दुई वटा मन्त्रालयमा सहमति थियाे । तर हामीले भनेकाे जस्तो भएन´संसदिय दलका नेता चाैधरीले भने-´हामीलाई माअाेवादी, एमाले, कांग्रेस सबैकाे समर्थन मिल्छ ।´