गोरक्ष समाचारदाता
भालुवाङ, १ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजधानी व्यवस्थापन चुनौतीसँगै सम्भावना भएको बताएका छन् । उनले त्यसको जिम्मेवारी आफूमा आएको समेत बताए ।
‘यो प्रदेश सम्भावना र चुनौती भएको ठाउँ हो’, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीले शनिवार दाङको राप्ती गाउँपालिकामा गरेको तेस्रो विस्तारित बैठकलाई सम्बोधन गदै उनले भने, ‘त्यसको सफल कार्यान्वयन गरेर जानुको विकल्प प्रदेश सरकारसँग छैन । यो प्रदेशलाई उत्कृष्ट बनाउने छौँ ।’ मुख्यमन्त्री गिरीले प्रदेशको स्थायी राजधानी देउखुरीमा अब स्थायी संरचना निर्माणको कामलाई तीव्रता दिइएको बताए ।
‘स्थायी संरचनाका काम भइराखेका छन्’, मुख्यमन्त्री गिरीले भने, ‘त्यो भएमा काम गर्न थप सहज हुनेछ ।’ सरकारसँग यहाँका नागरिकले धेरै अपेक्षा गरेको भन्दै ती अपेक्षालाई सम्बोधन गरेर जाने समेत बताए । उनले सबै क्षेत्रको सहयोग र सहकार्य गरेर प्रदेशलाई उत्कृष्ट बनाउने कार्यमा आफ्नो ध्यान दिने समेत बताए । समग्र प्रदेश सरकार सफल भयो भने सिंगो मुलुक नै सफल हुने र नागरिकको जीवनस्तर माथि उठ्ने भन्दै मुख्यमन्त्री गिरीले यसको लागि सञ्चार जगतको सहयोग अपरिहार्य हुने बताए ।
चौतारी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष शोभाकर पन्थीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा चौतारीले लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन समेत गरेको छ । चौतारी प्रदेश कमिटीले केही पदाधिकारी मनोनित गरेको छ भने सल्लाहकार समिति पनि चयन गरेको छ । बैठकमा जिल्ला कमिटी अध्यक्षहरूले जिल्लामा कमिटीले गरिरहेको कामको बारेमा रिपोर्टिङ समेत गरेका थिए । बैठकमा प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश इञ्चार्ज प्रदीप आचार्य, प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष शरद अधिकारीलगायतले विचार राखेका थिए । बैठकमा चौतारी प्रदेश कमिटी उपाध्यक्ष दशरथ घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव निरू गौतमले गरेकी थिइन् ।