आज माघेसंक्रान्ति : रूपान्तरित माघी

  •   
  •  

बालाराम खड्का
तुलसीपुर, १ माघ । आज माघी पर्व । थारू समुदायको ठुूलो पर्व ‘माघी पर्व’ यस वर्ष सुरु भएको छ । पछिल्लो समय माघीलाई राष्ट्रिय पर्वका रूपमा मनाउने गरिएको छ । तराई क्षेत्रका थारू बाहुल्यता भएका जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले अब नेपालभरि तान्दैछ । यस वर्ष माघी पर्व एकहप्ता अघिदेखि सुरु गरिएको छ ।

थारू जातिले मात्र होइन माघी अब सबै जातजाति, भाषाभाषीहरूले मनाउन सुरु गरेका छन् । माघीको अवसरमा विभिन्न स्थान तथा ठाउँमा माघी महोत्सव तथा विभिन्न खाना महोत्सव समेत भएका छन् । दाङ जिल्लाका मुख्य सहरदेखि विभिन्न गाउँ, टोलमा माघीको चहलपहलदेखि विभिन्न जमघटहरू सुरु भएका छन् । विभिन्न स्थानमा माघी महोत्सवसँगै आफ्नो कला र संस्कृति थारू समुदायहरूले प्रस्तुत गरिरहेका छन् । त्यस्तै अन्य समुदायहरूले पनि त्यसलाई साथ दिएका छन् । ‘पछिल्लो वर्ष कोरोना कहरले गर्दा माघी मनाउन सकेका थिएनौँ, अहिले धुमधामका साथ माघी मनाउन लागेका छौँ’, स्थानीय सोमकान्त चौधरीले भने ।

थारूहरू धेरैजसो कृषि पेसामा आबद्ध भएको र उनीहरू पहिले माघ महिनामा बाली भित्राउने गर्थे । माघमा सबै काम सकेर नयाँ अन्न खाने गरिन्थ्यो, जसका कारण थारू समुदायले प्रमुख चाडका रूपमा मनाउँदै आएको माघीलाई नयाँ वर्षका रूपमा मनाउने गर्छन । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ ।

यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई धमार भनिन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ तर पछिल्लो पीडिले भने डिजेबाट नाचगान गर्ने गरेका छन् । परम्परागत बाजा गाजाहरू लोपहुदै गएको र युवा पीडिले त्यसको सिको नगर्दा अन्य डिजे डेग बजायर नाँचने गरेको स्थानीय सुन्दर चौधरी बताउँछन् । ‘हाम्रो आफ्नै भेषभुसा पहिरन थियो तर त्यो अब हराउँदै गयो, अब आ–आफ्नो पोशाक बनाएका छन्’, उनले भने ।

dav

माघेसंक्रान्ति एक सांकेतिक पर्व पनि हो । जसले फरक खानपान र जीवनशैलीमा हामीलाई प्रेरित गर्छ । यद्यपि हामी माघेसंक्रान्तिको एक दिन मात्र यस्ता खानपान शैली अपनाउँछौँ । जब कि जाडो याममा नियमित रूपमा कन्दमुल, चाकु, तीलको लड्डु, खिचडी खानु बढी लाभदायक हुन्छ । ‘परम्परागत रूपमा यो पहिलेदेखि खाने चलन छ, अहिले माघीमा मात्र खाने भन्ने हुन्छ’, वयोवृद्ध यज्ञ केसी भन्छन् ।

माघेसंक्रान्तिको अर्को प्रचलन भनेको, एउटा घरमा पाकेको खानेकुरा छिमेकमा बाँडीचुडी खाने हो । खास गरी गाँउघरतिर विभिन्न परिकार पकाएर छिमेकमा पु¥याउने चलन छ । सम्भवतः यो सिजन खाद्य संकट हुने र त्यसलाई टार्नका लागि आपसमा बाँढिचुडी खाने प्रचलन बसाइएको हुनुपर्छ । अहिले त्यस्तो अवस्था नहुन सक्छ तर यसले सामाजिक सद्भाव बढाउने काम गर्छ । अरु बेला कसको भान्साम के पाक्छ भन्ने थाहा हुन्न । यतिबेला एकआपसमा बाँड्ने भएकाले यसले सामाजिक सद्भाव कायम राख्न मद्दत गर्छ । यो भनेको समाजलाई एकाकार गराउने वा जोड्ने मेलो पनि हो ।
नेपाली पात्रोको अनुसार १०औँ महिनाको पहिलो दिनको रूपमा माघेसंक्रान्ति चाड मनाइन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकरसंक्रान्ति पनि भनिन्छ । आजको दिन पवित्र नदी एवम् त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवम् खिचडी खाने गरिन्छ ।

तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । त्यसैले ‘पुसमा पाक्के, माघमा खाके’ भन्ने भनाइ प्रचलनमा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ ।

स्नान, दान, ब्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकरसंक्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भिड लाग्ने गर्छ । दाङको रिहार र बाह्रकुने दहमा मेला लाग्ने गर्छ ।

तराईबासीले पनि माघ १ लाई नहान अर्थात नुहाउने पर्वका रूपमा मनाउँछन् । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघ महिनामा गर्नाले यो लोकमा सुख शान्ति पाइ परलोकमा मोक्ष पाइने धार्मिक विश्वास समेत छ । तराईका जिल्लाहरूमा मैथिलीले तिलासंक्रान्ति पर्वका रूपमा मनाउँछन् । यस पर्वमा परिवारका अग्रज र आमा–बाबुले आफ्ना सन्ततीलाई सख्खर र तिल खुवाइ उनीहरूबाट बुढेसकालमा सेवा गर्नुपर्ने वचन लिने गर्छन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । यी परिकार पूजापाठ गरी सर्वप्रथम घरका देवदेवीलाई चढाइन्छ ।

मगर समुदाय तथा किराँत समुदायमा पनि धुमधाम साथ माघेसंक्रान्ति मनाउने गरिन्छ । माघेसंक्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ । बालकहरू धनु काँड खेल्दै माघेसंक्रान्तिमा रौनक थप्ने काम गर्छन् । यसरी सवै जातजाति समुदायमा माघेसंक्रान्ति हर्षाेलासपूर्वक मनाइन्छ ।