मेयर कपमा वडा १० सेमिफाइनलमा, १४ र १८ वडाले ३ गते खेल्ने

घोराही, ३० पुस । स्ट्राइकर मनु न्यौपानेको एक गोलले प्रेरित वडा नम्बर १० पाँचौं संस्करणको मेयर कप फुटबल २०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ । घोराही उपमहानगरपालिकामा जारी वडास्तरीय मेयर कप फुटबलमा शनिबार बिहान भएको पहिलो क्वाटरफाइनलमा वडा नम्बर २ लाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

घोराही १८ नवलपुर फुटबल मैदानमा भएको खेलमा खेल शुरु भएको ५२ मिनेटमै वडा नम्बर १० का स्ट्राइकर मनु न्यौपानेले गरेको गोल नै निर्णायक बन्यो । डि बक्समा आएको बललाई दायाँ रोकेर प्रहार गरेको बल बायाँ बार च्याप्दै गोल पोष्ट चुमेको थियो । योसँगै वडा नम्बर १० जारी प्रतियोगितामा सेमिफाइनल पुग्ने पहिलो टीम बनेको छ ।

अब वडा नम्बर १० ले सेमिफाइनलमा माघ ४ गते वडा नम्बर १४ र १८ बिचको खेलको विजेतासँग खेल्नेछ । यसअघि चौथो संस्करणमा वडा नम्बर २ सँग भएको खेलमा वडा नम्बर १० पराजित हुँदै बाहिरिएको थियो । अघिल्लो संस्करणमा ३–१ गोलको हारको बदला लिँदै वडा नम्बर १० ले सेमिफाइनल यात्रा तय गरेको छ ।

त्यस्तै, शनिवार दिउँसो सेमिफाईनल प्रवेशका लागि वडा नम्बर १४ र १८ बिच खेल निधारित समयमा गोलरहित बराबरीमा सकिएको छ । खेल समयमा दुवै टीमबाट गोल हुन नसकेपछि खेलको नतिजा टाई ब्रेकरबाट निकाल्न खोजिएपछि वडा नम्बर १८ का टीम व्यवस्थापकले नमानेपछि खेलको नतिजा आउन सकेको छैन । यद्यपि, खेलको नतिजा टाईब्रेकरबाट निकाल्ने भन्दै वडा नम्बर १४ र १८ का कप्तानले टस गरिसकेका थिए ।

घोराही उपमहानगरपालिकास्तरीय मेयर कप फुटबल प्रतियोगिता संयोजक एवम् नगर प्रवक्ता राममणि पाण्डेले फिफाको नियम अनुसार खेल हुनुपर्ने बताउँदै शनिबार भएको दोश्रो क्वाटर फाईनलको नतिजाका लागि अब माघ ३ गतेको समय दिईएको बताए । ‘खेलको नियम अनुसार अघि बढउन भनेका छौँ, फुटबलमा फिफाको नियमले जे भन्छ त्यही गर्नुस् भनेका छौँ’, संयोजक पाण्डेयले भने, ‘अब माघी पर्व लागेको छ, यी दुई वडाको खेलको नतिजा माघ ३ गते निस्कनेछ ।’

नियम अनुसार माघ ३ गते अतिरिक्त समय निर्धारण गरेर वडा नम्बर १४ र १८ बीच खेल खेलाईने छ । क्वाटर फाईनलपछिका खेलहरु निकै महत्वपूर्ण मानिएकाले फिफाको नियम अनुसार निर्धारित समयसम्म नतिजा नआए अतिरिक्त ३० मिनेट खेलाउने गरिएको छ । सो समयमापनि नतिजा आउन नसकेको अवस्थामा खेलको नतिजा टाईब्रेकरबाट निकाल्ने गरिएको छ ।

क्वाटरफाइनलमा वडा नम्बर २, ६, १०, १३, १४,१५, १७ र १८ प्रवेश गरेका थिए । पुस २० गतेबाट शुरु भएको मेयर कपमा पालिकाभरका १९ वटै वडाको सहभागिता रहेको छ । सेनिफाईनल खेल माघ ४ गते र फाईनल खेल माघ ५ गते हुनेछ । मेयर कपमा अहिलेसम्म वडा नम्बर १५, १३ र वडा नम्बर १८ दुई पटक विजेता बनेको छ ।