राप्ती इञ्जिनियरिङ कलेजको वार्षिकोत्सव

गोरक्ष समाचारदाता
दाङ, ३० पुस । राप्ती इञ्जिनियरिङ कलेज घोराहीले ११औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १६ सानी अम्बापुरस्थित कलेज परिसरमा शुक्रवार एक कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो ।

कलेज व्यवस्थापन समिति अध्यक्ष एवम् प्रबन्ध निर्देशक डा. भीमसेन गिरीको अध्यक्षता तथा पोखरा विश्व विद्यालयका रजिष्ट्रार प्राध्यापक डा. दीपकबहादुर भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सो अवसरमा पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डा. भण्डारीले देशमा दक्ष प्राविधिक उत्पादनदेखि शैक्षिक क्षेत्रमा राप्ती इन्जिनियरिङ कलेजले अहम् भूमिका खेल्दै आएको बताए । निजी स्तरबाट सञ्चालनमा रहेको कलेजले ग्रामीण तथा दूरदराजमा रहेका विद्यार्थीहरूलाई सहज र सहुलियत रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै देशका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने काम गरेको बताए ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. तुलसीराम भण्डारी, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नागरिक समाज दाङका संयोजक केबी मसाल, दाङ चेम्बर अफ कमर्शका अध्यक्ष बलदेव योगीलगायतले भनाइ राखेका थिए । वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । कलेजका प्रिन्सिपल रेशम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक विश्वबन्धुत्व थापाले गरेका थिए ।

यसैबीच वार्षिकोत्सवको अवसरमा लायन्स क्लव अफ राप्ती इन्जिनियरिङ कलेजको आयोजनामा रक्तदान कार्यक्रम गरेको छ । लायन्स इण्टरनेशनल क्लवका संस्थापक मेलबन जन्सको १४४औँ स्मृति दिवस र कलेजको ११औँ वार्षिकोत्सवको अवसरमा राप्ती इन्जिनियरिङ कलेज लायन्स क्लवका अध्यक्ष मधुसूदन वैद्यको अध्यक्षतामा रक्तदान भएको थियो । सो अवसरमा कलेजको लायन्स क्लवका अध्यक्ष मधुसूदन वैद्य, उपाध्यक्ष शरद अधिकारी, कर्ण पुन, तिलक केसीलगायत ११ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र घोराहीले प्राविधिक सहयोग गरेको थियो ।