जिल्ला सहकारीको ३०औ साधारणसभा

गोरक्ष समाचारदाता
दाङ, ३० पुस । जिल्ला सहकारी संघ लिमिटेड दाङको ३०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका जिल्लाध्यक्ष गोविन्दप्रसाद शर्माको अध्यक्षता तथा सहकारी प्रशिक्षालय बाँकेका निमित्त प्रमुख विनोद पौडेलको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताले सहकारी संस्थाबीच समन्वय र सहकार्य गर्दै उत्पादनमा आधारित संस्था बनाउन जोड दिएका थिए । संस्थाले सहकारीको सुशासनमा ध्यान दिन सहकारीको सिद्धान्तलाई ध्यानमा राखेर सहकारी अभियानलाई सफल बनाउन उनीहरूको अपील थियो । सो अवसरमा प्रमुख अतिथि पौडेलले सहकारीका माध्यमबाट व्यावसायिक उद्यमशीलता र कृषि उत्पादनमा जोड दिए । देशको हावापानी, माटो कृषिको प्रशस्त सम्भावना भएको र सहकारीमा आबद्ध सदस्य पनि कृषिमा जोडिएको हुँदा कृषिमा आधारित नमुना काम गरेर आर्थिक समृद्धिको यात्रामा अघि बढ्नुपर्ने उनले बताए ।

आर्थिक उन्नयनका लागि सहकार्यको माध्यमबाट काम गर्न सिकाउने काम सहकारीले गरिरहेको भए पनि सहकारीभित्र अहिले देखापरेका वेथितिले सहकारीप्रति नागरिकको विश्वास डगमगाउने काम भइरहेको हुँदा सहकारीमा नागरिकको विश्वास जगाउने काममा ध्यान दिन अनुरोध गरे । कार्यक्रममा साधारणसभामा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष हरिप्रसाद भुसाल र सांगठनिक प्रतिवेदन सचिव शुक्र भण्डारीले प्रस्तुत गरेका थिए । यसैगरी संस्थाको वार्षिक प्रतिवेदन र आगामी नीति तथा कार्यक्रम अध्यक्ष गोविन्दप्रसाद शर्माले प्रस्तुत गरेका थिए ।

लेखा सुपरीवेक्षण समिति संयोजक हेमराज गौतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला सहकारीको आर्थिक वर्ष २०७८÷०७९ मा ६ लाख ७४ हजार २ सय ९९ रूपैयाँ आम्दानी भएकोमा ४ लाख ३८ हजार ५ सय ६१ रूपैयाँ खर्च भएको छ । हाल ४ सय २२ सहकारी सदस्य जिल्ला सहकारी संघमा आबद्ध छन् । जसमा १ सय ५३ बचत तथा ऋण, १ सय ९ कृषि, १३ उपभोक्ता, २७ बहुउद्देश्यीय, ५ विद्युत, १३ सामाजिक उद्यमी र अन्य प्रकृतिका १ तथा विषयगत संघ ४ वटा सहकारी संघसंस्था आबद्ध छन् । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक घोराही शाखा प्रमुख डिल्लीराज दाहाल, रूपबहादुर खत्री, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच सहकारी अभियानमा योगदान पु¥याउने नमस्ते बबई बचत तथा ऋण सहकारी संस्था, संघका पूर्व सल्लाहकार डिल्लीबहादुर खड्का, घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीलाई सम्मान गरिएको छ । संघका उपाध्यक्ष अञ्जनकुमार पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव शुक्र भण्डारीले गरेका थिए । संघको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन पनि गर्नेछ ।