कथा :विहेको तामझाम

गोपाल भुसाल अभिलाषी
मनी ! अब हामी यहाँबाट बसाई सरेर सहरको ठूलो घरमा जाँदैछौा । तिमीले अब फुस (खर)ले छाएको, स्याउली सोत्तर विछ्याएको गोठ, टहरोमा बस्नुपर्ने छैन । जंगली घाँसपात मात्र होइन अब तिमीले सहरका मीठा–मीठा दाना, तरकारी र फलफूलका बोक्रा खान पाउनेछौ । सिमेन्ट, इट्टाले पक्की गरेको दिवाल र छतमुनि बस्न पाउनेछौा ।

जहाँ सधौ तातो–न्यानो, शीतल रहनेछ । घुमफिर गर्न जंगली स्याल, चितुवा आदि जनावरको डर हुनेछैन । केही दिन पहिले पूजाकी आमाले यी कुरा मलाई भनेकी थिइन् । यहाँको टिन लगाएको ढुङ्गेघरन्दा सहरको हाम्रो बसाई धेरै राम्रो हुने छ रे । सहरमा तीनतले घर बनेको छ । ¥यालिङ, कौसी, झ्यालढोकाहरु सुन्दर बुट्टाहरुले सजिएका छन् ।

पानी धाराको व्यवस्था, बिजुलीको झिलीमिली, टिभी, अनलाइन आधुनिक प्रविधिले कोठा जडिएका छन् । बाहिर पर्खाल, गेट, पक्की सडक, सफा चित्ताकर्षक छन् । आगमनमा गमलाको लाइन, तरकारी बगैचाले स्थान भरिलो छ । आहा ! स्वर्ग भनेको त त्यो पो हो रे । यहाँ कामधन्दा, दुःख धेरै छ । त्यहाँ धन्दा, झन्झट कम मेसिनबाट बसीबसी काम हुन्छ । सुख सुविस्ता धेरै छ भन्छन् ।

आज बिहानै म मनी, उमेशका बुढाबुढी, दुई छोरी पूजा र उषा– घरका सबै सामग्री गाडीमा बुक गरेर जाँदैछौा, त्यो अज्ञात नयाँ सुन्दर भनिएको ठाउँमा । उकालो, ओरालो, मैदान, समथर हुँदै सरररर ! गाडी आफ्नो गतिमा कुद्दै गयो । मलाई पनि कहिल्यै बस्न नपाएको हुँदा रमाइलो लाग्यो । मेल्े पनि बाटोका नयाँ–नयाँ दृश्य हेर्दै हिडेँ । ४–५ घण्टाको अन्तरमा गाडी सहरको नयाँ घरको गेटमा पुगेर टक्क अडियो ।

उमेशले गेटको ताला खोलेर गाडी पास हुने ठाउँ बनाए । घरको च्यानल गेटनिर पुगेर गाडीले ट्रलीको ढक्कन खोल्यो । हामी सबै त्यहाँबाट ओर्लियौँ । सामान अनलोड गरेर गाडी आफ्नो बाटो लाग्यो । घरबेटी बुढाबुढी र छोरीहरु नयाँ घरको कोठा–कोठामा सामान मिलाउनतिर लागे । अलग्यै बनाइएको छुट्टै कोठामा लगेर मलाई बाँधियो । साच्चै हामी पुरानो संसार छोडेर नयाँ संसारमा आएका थियौँ । मलाई पनि यस्तो घरमा बस्न पाउँदा पशु भए पनि भाग्यवानी नै रहेछु भन्ने लाग्यो ।

यहाँ नयाँ तरिकाले दिनहरु बित्दै गए । उमेशले म एक्ली भएको ठानी साथी खोजेर ल्याइदिए । हामी दुवै सँगै बस्न थाल्यौँ । बस्दा–बस्दा मायापिर्ती बढ्दै गयो । सुत्नेबेला तातो–न्यानोको लाग हामी आपसमा गद्र्दन जुधाएर सुत्ने गर्दथ्यौँ । जवानी बढ्दै गर्दा हामी दुवैको विवाह पनि भयो । हामीबाट एउटा होइन एकैपटक दुईवटचा जुम्ल्याहा पाठा जन्मिए । मयापिर्तीका अरु २ च्यानल थपिए । खेल बहार र रमाइलोसँग दिन बित्दै गए । उता उमेशका छोरी पूजा र उषा पनि ठूला हुँदै गए । हाम्रा र उमेशका दुई छोरीहरुको कलिलो जवानीको फ¥याक–फुरुक, स¥याक–सुरुकको चलखेलले घरआँगनको रोमान्चलाई थप उचाइमा पु¥याएको महसुस हुन्थ्यो ।

हाम्रा दुई पाठा ठूला बनाएर उमेशले कसैलाई बेचिदिए । हमीलाई दुःख लागे पनि के गर्न सक्थ्यौँ र ! हम्रा सन्तानबाट उमेशको परिवार सम्पन्न हुँदै गयो । मलमूत्र खेतबारी करेसाबारीमा हालेर प्रशस्त आम्दानी लिए । तेस्रो पटक हामीबाट दुई पाठी जन्मिए । अब हामी पनि ४ परिवार भयौँ । पाठी ठूलो भएपछि एक नाटो (पाठो) उमेशले हामीकहाँ थपिदिए । पाठीबाट ४ अरु सन्तान थपिए ।

हाम्रो कमाइबाट उमेशले यो नयाँ समाजमा फूर्ति कमाएका थिए । छोरीहरुलाई शिक्षा दिएर सभ्य बनाएका थिए । जीवनको नियमअनुसार अब पूजा र उषाले पनि पाठो खोज्नुपर्ने दिन नजिक आइरहेको थियो । धेरैले उनीहरुमाथि नजर लगाएका पनि थिए । एकदिन कुरो जुरिहाल्यो । यसपटक हाम्रा नाति पाठाहरुलाई नबेचेर सँगै बस्न दिएकोमा खुसी भएका थियौँ । उमेशको परिवारलाई मनमनै धन्यवाद पनि दियौँ ।

पूजालाई पतिको साथ लगाउने दिन नजिक आइरहेको थियो । उमेशको परिवारले यही योजना बुनिरहेको जस्तो लाग्दथ्यो ।
– पुष्पा ! तिमी कता भुलेकी, यता सुन त !
– किन ? भन्नोस्, काममै छु ।
– दिन नजिक आउँदैछ, के–के जुटाउनुपर्ने हो ? त्यतातिर सोच्नु परेन ? जब प¥यो राती तब बूढी ताती, गर्नु त भएन नि !

– सोचेकी छु । आफूलाई नपरेको काम अरुसँग सल्लाह लिनुपर्छ । दिदी र आमालाई बोलाएकी छु । आजभोलिको चलन कस्तो छ, त्यो पनि बुझौँला ।
उमेशको चिन्तन विवाहकै जिम्मेवारीतिर ढल्केको छ । समाजमा सातजनाले दशथरि कुरा गर्छन् । कतिले उचाल्ने र खसाल्ने पनि गर्छन् । सम्हालिएर अघि बढ्नुपर्ने देखिन्छ । हुन त उमेशले धेरै विवाह देखेको छ, खाएको छ तर आफूलाई पर्दा ….. ।
–०००–
आउनुहोस् ! आउनुहोस् !! स्वागत छ आमा !, दिदी ! दर्शन टक्राएँ । ढोग गरेँ । यता बस्नुहोस् । सबै कुशलमंगल हुनुहुन्छ ?
– सच्चै छौँ भन्नुप¥यो ।

पुष्पाले कागती पानी बनाएर टकार्छिन् अनि चियाचमेना ।
शिष्टाचारको औपचारिकतापछि अरु दुई–चारजना नातेदार थपिन्छन् । छोरीको विवाह गर्नुपर्ने भयो । के कसरी गर्ने ? यहाँहरुको पाको अनुभवबाट सल्ला लिनुप¥यो । उमेशले नम्रतासँग प्रस्ताव राख्यो ।

अहिले हाम्रा पालाको जस्तो छैन । समय बदलिएको छ । सहर र गाउँमा पनि धेरै फरक पर्छ । केटा पक्षलाई पनि सोध्नुप¥यो । उताको चलन परम्परा पनि बुझ्नप¥यो । केटीको मन पनि राखिदिनुप¥यो । दिने कुरा आफूले सकेको गर्ने हो । ……… आमा (सासु)ले आफ्नो कुरा राखिन् ।
– घरबाटै गर्ने कि मन्दिरमा ?
– गर्ने त घरबाटै हो ।
– जन्ती कति जति ल्याउने कुरो छ ?

– त्यो अझै टुङ्गो छैन । सकभर छोटो गर्ने कुरो छ । दिदीको जिज्ञासामा उमेशले उत्तर दियो ।
उमेशको परिवार गाउँबाट सहर परेको लामो अवधि भएको छैन । यहाँको समाज जुन तालमा बग्छ त्यही गतिमा बग्नु पर्दछ । समयको गतिसँगै हिड्न जान्नुपर्छ । समाजमा प्रतिष्ठित हुनलाई समाजसँगै भिज्न, बँच्न सिक्नुपर्छ भन्ने उसको जीवनको गोरोटो मान्यता थियो ।

तसर्थ, विवाहमा जसोतसो कुनै कञ्जुस्याइ नगर्ने पक्षमा उमेश देखिन्थ्यो । घरमा मेला भएको बैठकले सुझाव दिन्छ । दाइजो, घोरधवामा छोरी, ज्वार्इँ अन्य नातेदारलाई के–के दिने ? लगायने, सुत्ने, सजाउने, पकाउने, खाने, लामो लिस्ट तयार हुन्छ । मानीका दुई जनालाई घरमै छाडी उमेशको परिवार २–४ दिनको लागि गायव हुन्छन् । कुनै सहरमा पुगी कपडा, लत्ता, गरगहना, शृंगार, राशनपानी आदि सामान लिएरु एउटा गाडी रातमा घर आइपुग्छ ।

अर्को दिन उमेशको घरमा बिहानै धेरै मानिस भेला भएका छन् । घरको आँगनमा विवाहको लागि जग्गे रेखांकन गरिँदैछ । मानिसहरु घर शृंगारपटार र झिलीमिली बत्तीका झल्लर मिलाउनतिर लागेका छन् । सडक नजिक चउरमा तामझामको टेन्ट र बाजाको बन्दोबस्त हुँदैछ । टेन्ट नजिकै भोजभतेर पाकशालाको लागि ठाउँ छुट्याइएको छ ।

२४ थरिका पाक सरजाम भूइमा थुपारिएको छ । टेन्टभित्र लाबद्ध टेबुलमाथि पाक परिवार राख्ने भाँडा सजाइएका छन् । झल्लरदार टेबल र कुर्सी, टेन्ट भरिएको छ । सबै विवाह उत्सवमा व्यस्त रहँदा हामी दुईलाई पनि बन्धनमुक्त गरिएको छ । हामीले यत्रतत्र घुमेर यो दृश्य हेरिरहेका छौँ । रँगीविरँगी फूलमाला, ध्वजापताकाले सजिएको जग्गेमा पूर्णकलाका घडाहरु राखिएको छ । विवाह पूजा विधिमा सामग्रीले जग्गे अटसमटस भएको छ ।

भगवानको मन्त्रोच्चारण र शंख, घण्टको ध्वनिसँगै पुरेत ब्राह्मणले पूजा सुरु गरेका छन् । ‘ॐ सर्व भवन्तु सुखीन ः सर्वे सन्तु निरामया । सर्वे भद्राणि पश्यन्तु मा कस्चिद दुःख भाग भवेत् ।। ॐ पृथ्वी शन्ति, ॐ अन्तरीक्ष शान्ति, ॐ ….’ आदिको गुन्जनले त्यहाँको वायुमण्डलमा हुँदै पवित्र कर्मको शोधा दिएको देखिन्छ । दुलही हुने पूजालाई वैवाहिक पोसाकले शृंगारी जग्गेमा बसालिएको छ । सबैमा बेग्लै खालको खुसी, उमंग, हर्ष बर्सेको देखिन्छ । कोही विवाहउत्सव हेर्न आइरहेका छन् । कोही दुलाहातर्फलाई के–के दिन्छन् निकै चासोका साथ हेरिरहेका छन् । कोही कामको चटारोले भ्याइ–नभ्याइ दोडिरहेका छन् । उमेशका बुढाबुढीलाई कहाँ के पुग्यो, के पुगेन, के मिल्यो के मिलेन त्यसैको रन्को छ ।

यता भोजभतेर पाकशालाको दृश्य छुट्टै छ । हाम्रा जवान दुई पाठालाई बिहानै पाकशाला नजिकै लगेर बाँदिएको छ । हामी यत्रतत्र घुमिरहेका थियौँ । एक्कासी हाम्रो नजर नाति पाठातिर गयो । एकजनाले दुवै सिङको बीचबाट दाम्लो अगाडि तानेर बसेका थिए । एकजनाले पछाडिको दुई खुट्टा पकडेर बलियोसँग समातेका थिए । एकजना गर्धननिर खुकुरी लिएर उभिएका थिए । अर्को एकजनाले घाँटीमा पानी खन्याउँदै मनाउने प्रयत्न गर्दै थिए । हाम्रो पाटो छटपटाउँदै मुन्टो बटारिरहेको थियो । क्षणभरमा एकपटक खुकुरीको प्रहरले प्या ! को आवाजसँगै हाम्रो पाठोको गर्धन् छिनियो । हाम्रो नाति भूइँमा ढल्यो । रगतको मूल बग्यो । हामी दुई त्यहीँनिर मुर्छा प¥यौँ ।

आँसुको भल कति बग्यो थाहा भएन । धेरैबेरपछि होस आयो । धिक्कार छ ! खुसी ठानिएको उचो महल, सभ्य र शिक्षित भनिएको मानिसको बुद्धिलाई । यस अघि पनि हाम्रा सन्तानलाई यसैगरी बेचेका रहेछन् । सायद भोलि उनको कमाइ नालायक भएपछि हामी दुई यसैगरी बेचिने पो हो कि ? छोरीको विहेको खुसियालीमा एउटै परिवारमा बसेका सन्तानको आफ्नै आँखा अगाडि यो कारुणिक दृश्य ! कति क्रुर, निर्दयी, हिंश्रक आजको मानिस । जतिसुकै तामझामको विवाह, उत्सव मनाए पनि यस्तो कुकृत्यको परिणामले के मानिसलाई सुखी र सन्तुष्ट हुन देला ?
–०००–
पूजाको कार्यक्रम सम्पन्न हुन्छ । उमेश र पुष्पाले छोरीलाई कारमा बसालेर आँसु झार्छन् । जन्माइ, हुर्काइ, शिक्षा–दीक्षा दिइ अर्कैको जिम्मा लगाउनुपर्ने । उनीहरु दुवै भावुक हुन्छन् ।
पूजा हिजोसम्म छोरी थिई, आज बुहारी बन्न पुगेकी छ । हिजोसम्म भान्साको काम सासुको जिम्मामा थियो, आज बुहारीको जिम्मेवारीमा आएको छ । उसको घरदुवार, सयनकक्ष, बोली, भाषा, सबै फेरिएको छ । नातेदारहरुसँगको भूमिका परिवर्तन भएको छ । भित्र मानिस उही हो तर बाहिरी जीवन आमूल परिवर्तन भएको छ ।

उमेशको परिवार, केही दिन भयो विवाहको भारी हलुँगो बनाइ विश्राम लिएको छ । साँझ रम र सुकुटीको मस्तीमा टेन्सनमुक्त भएको छ । हेर बूढी ! समाजको चलनभन्दा कत्ति कमसल विवाह गरेनौँ नि ! सबैले राम्रो भव्य भएको, प्रशंसा गरेको सुनियो । – हो विवाह त राम्रो भयो तर …….??
अर्को दिन उमेश अलि गम्भीर मुद्रामा देखिन्छ ।

उसको जिउडाल, गतिविधि नियाल्दा केही शिथिल, हिजोको उसको फूर्ति, गर्व कुनै चीजले गलाएको जस्तो देखिन्छ । साथीभाइ, छरछिमेकसँग पनि गफ छाँट्ने उसको मन छैन । उसको मुड बाहिरको समाज संस्थातिर नभएर आत्मकेन्द्रित भएजस्तो देखिन्छ । एउटा जिम्मेवारी पूरा त भयो तर समाजको सतही हावामा बग्दा देखावटी तामझाममा रमाउँदा केही असन्तुष्टि र समीक्षात्मक पक्ष उमेशलाई छोडेर गएको भान हुन्छ ।
–०००–

सधैँझैँ एकाबिहानै पुष्पा उठेर मनीका दुईलाई किलाबाट छोडिदिन्छिन् । केही मकै आँगनमा छितारिदिन्छन् । भाँडाभरि पानी ल्याएर राखिदिन्छन् तर आज पुष्पाको दृष्टि छुट्टैतिर जान्छ । मनिका जोडी छोरीको विवाह पहिलेझँै फूर्तिलो थिएनन् । झुङिग्रएका बिरामी भएजस्ता देखिन्थे । किन के भयो ? मेरो मनीलाई ? आज सन्चो छैन कि कसो ? खान पनि मन गरेको जस्तो देख्दिन । धेै दुब्लाएको पनि देख्छु । पुष्पाले मनीलाई अझै नियालेर हेरिन् । कि कतै चोटपटक लागेको छ ? तर मनीले एकटक पुष्पातिर हेरेर तररर आँसु खसाली । आँखा चिम्लेर अँध्यारो चेहरा बनाइ ।

पुष्पालाई लाग्यो सायद पूजाको अभावमा आफूमा खालीपन महसुस भएको जस्तो सधैँ हेरचाह गर्ने पूजालाई नदेखेर पिर मानेकी हो कि ? तर अवाक ! मनीको दर्द कसले बुझ्ने ? ऊ त आफना नातिको पाकशाला दृश्य सम्झेर रोकी हो । पुषप्रति घृणा प्रकट गरेकी हो । हाम्रो कमाइ खाँदासम्म खाएर त्यो दश्य देखायौ । अब हामी तिमीहरुको कमाइको भाँडो बन्न सक्दैनौँ भनेर रोस व्यक्त गरेको हो । एक्कासी पुष्पाको मनमा पाकशालाको दुई पाठाको दृश्य याद आउँछ । दिल चसक्क बिझ्छ तर मौन …… ।